तीन वर्षीय सुमन तामाङ जहाँ खेलिरहेका थिए त्यो ठाउँ थियो शवदाह गृह। सानो उमेरका उनी त्यहाँ दङ्ग पर्दै उफ्रिँदै थिए। उनकी सानीआमाले बाबासँग भेटाउने आश्वासन दिएर यहाँसम्म ल्याएकी हुन्।
उनका बुबा सूर्यबहादुर तामाङ मलेसियामा थिए। सुमन जन्मिएको केही महिनापछि विदेशिएका थिए सूर्य। त्यसैले छोरासँग लामो समय बिताउन पाएका थिएनन्। देश फर्कँने र छोराछोरीसँग भेट्ने हतारो थियो उनमा पनि। कोरोना भाइरसको महामारी फैलियो, लकडाउन भयो त्यसपछि सोचेका कुराहरु किन पुग्थे। जे होस् यसै वर्षको अन्त्यतिर नेपाल आउने योजना चाहिँ जोगाएरै राखेका थिए।
शनिवार सूर्यबहादुर काठमाडौं अवतरण त गरे तर, काठको बाकसमा।
बुबा एयरपोर्टबाट आफू खेलिरहेको ठाउँमा आइपुगेको थाहा पाउँदा सुमनको उत्साह चुलिएको हुनुपर्छ। तर, बाबा बसेको बाकसमा न आफ्ना लागि किनेको पापा थियो न नाना र चाचाको झोला नै। उनीसँगै थिइन् ९ वर्षीया दिदी सुस्मिता। उनका आँखा टल्पलाइरहेका थिए। भाइको हात समातेर सुक्कसुक्क गरिरहेकी दिदीलाई सुमन सोध्दै थिए – 'तिमीलाई पनि केही ल्याइदिएको छैन?'
अवोध बालकको बोली सुनिरहेका आफन्तले आफैलाई थाम्न सकेनन्। भक्कानिए।
२९ वर्षीय सूर्यबहादुर छोराछोरीलाई सुन्दर भविष्य दिनकै लागि विदेशिएका हुन्। एउटा देशमा नभए अर्कोमा कमाइ अलि बढी हुन्छ कि? भन्ने आशाले कहिले बहराइन पुगे, कहिले मलेसिया। तर, खुशी कमाउन गएका उनको जीवनमा दु:खको श्रृङ्खला श्रीमतीले अर्कै विवाह गरेपछि सुरु भयो।
एक्लिएका छोराछोरीकै लागि भए पनि नेपाल फर्कनु थियो। तर, गत मंसिर २८ गते निदाएका उनी बिउँझिएनन्। सुमन र सुस्मिता टुहुरो भए। आमापछि बुबा पनि कहिल्यै नफर्कँने गरी गए।
'कहाँ?'
सुमन वृद्ध हजुरबुबालाई सोध्छन्। उनका हजुरबुबा छोराको मृत्युको शोकले गलेका छन्। टाउकोमा हात राखेर रोइरहेका उनले भने, 'खेती किसानी गरेरै खान पुगिहाल्थ्यो। विदेश नगएको भए आज यो सबै भोग्नु पर्दैन थियो।'
शनिवार यस्तै कारुणिक अवस्था भोग्नुपर्यो १८ नेपालीको परिवार र आफन्तले। नेपाल वायुसेवा निगमको वाइड बडी जहाज ए ३३० मार्फत् उनी १८ जना नेपालीको शव ल्याइएको हो। शवसँगै एकजनाको अस्तु पनि नेपाल ल्याइएको थियो।