- फूलमान तामाङ-
नवलपुर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली गुटका नेतासमेत रहेका खेलकुदमन्त्री दावा लामा तामाङ गृहजिल्ला पुग्दा नेकपाकै प्रचण्ड-माधव पक्षले अवरोध गरेको छ। मन्त्री तामाङलाई नेपाली कांग्रेसले भने स्वागत गर्यो।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको ऐसेलुखर्कमा आयोजना गरिएको पालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पुगेका मन्त्री तामाङलाई कालो झण्डा देखाइएको छ। रुख ढालेर इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाको सीमामा दिउँसो साढे बाह्र बजेतिर माधव-प्रचण्ड समूहले बाटो अवरुद्ध समेत गरेको थियो।
कडा सुरक्षा व्यवस्थासहित आइपुगेका उनलाई झण्डै आधा घण्टा अवरोध झेल्नुपर्यो। इन्द्रावतीकै वडा नम्बर ४ स्थित जिरो किलोमा उनलाई कांग्रेसले भने खादा लगाएर सम्मान गर्यो। उनलाई वडाध्याक्ष श्री लामालगायतले स्वागत गरेका हुन्। श्री कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
सम्मान के हो? कांग्रेसबाट सिक्नु : मन्त्री तामाङ
भेलालाई सम्बोधन गर्दै मन्त्री तामाङले कालो झण्डाले आफूलाई केही असर नपार्ने बताए। उनले चरित्रहीन कम्युनिस्टलाई इन्द्रावतीको भेलले बगाइरहोस् भनी कामनासमेत गरे।
'नेकपा इन्द्रावतीको भदौको भेलझैं बगिरहोस्। गैरकम्युनिस्ट चरित्रलाई भदौको भेलले बगाइरहोस्,' मन्त्री तामाङले भने, 'कालो झण्डा र रातो झण्डा रोज्ने आजैबाट रोज्नुस्। अहिलेसम्म कुन रंगको झण्डा फहराएर आउनु भयो यो कुरा पनि ख्याल गर्नुस्।'
बमको धमाका र गोलीले रोक्न नसकेको आफूलाई कालो झण्डा फिक्का भएको उनले बताए। 'गोलीले रोक्न नसक्ने दावा तामाङ अहिले बोलिरहेको छु। परिवारको मायाले रोक्न नसकेको म दावा तामाङ तपाईँहरुको अगाडि बोलिरहेको छु। बमको धमाकाले रोक्न नसकेको दावा तामाङ तपाईँहरुको अगाडि बोलिरहेको छु,' उनले भने, 'तपाईँहरुको कालो झण्डा रातो झण्डाको अगाडि फिक्का छ। दुलोमा लुक्ने कमरेडहरु यो २०७७ साल हो। यहाँ धाकधम्कीको कुरा सुनेँ। बमले रोक्न नसक्दा बन्दुकले रोक्न नसक्दा तपाईँको कालो झण्डाले के गर्न सक्छ। बाघले नचिनेको वन हैन। वनले नचिनेको बाघ हैन। च्यालेन्ज गर्न चाहन्छु गोविन्द घले बन्न तयार छु। तर भाईहरुको अगाडि झुक्न चाहन्न।'
मान्छेलाई सम्मान गर्न सिक्नुपर्ने पाठसमेत पढाए उनले। 'मान्छेलाई सम्मान गर्न सिक्नुपर्छ। सद्भाव गर्न सक्नुपर्छ। मलाई जिउँदै श्रद्धाञ्जली दिएछन् साथीहरुले। नेपाली संस्कार अनुसार यस्तो हुन्छ? पार्टीलाई बपौती ठान्ने? तपाईँहरु जुगल हिमालतिर लाग्ने कि बंगालको खाडीतिर? कांग्रेसले समेत स्वागत गरेको हेर्नुहोला। स्वागत सत्कार के हो भन्ने कुरा,' उनले थपे।
सुनाए मुसा र भ्यागुताका कथा
मन्त्री तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै सम्बोधनका क्रममा कथा उखान सुनाउन भ्याए। उनले भने, 'भोटेकोशीको राजनीति हामीलाई पनि थाहा छ। खुराफाती संस्कारमा हामी जान्दैनौँ। हामी जे सक्छ विकास पार्टी निर्माण र विकास निर्माणमा लाग्नेछौँ। धानको बिउ राम्रो चाहिन्छ। कालो झण्डा देखाएर पार्टी बन्दैन।'
उनले माछा र पानीको कथा झिक्दै माओत्सेतुङ र सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको उदाहरणसमेत दिए।
भने, 'अन्तिम शक्ति जनता हो। माछाको बल पानीमा भएझैं नेताको बल जनता हो। जनता भनेको माटो हो कम्युनिस्ट भनेको बिउ हो माओत्सेतुङले भन्नुभएको थियो।'
पवन चाम्लिङको कथा सुनाउँदा भने मुसाको प्रसंग निकाले। भने, '३२ सिटको विधानसभामा ३२ सिट पवन चाम्लिङले जितेको। मुसाको कथा छ, ऋषिदेवकहाँ मुसाले वरदान माग्यो। मुसाले के माग्ला भनेर के चाहियो भनी ऋषिले सोधिहाले। वाचा गर्न आग्रह गरेपछि वाचा गरे। बाघ बनाइदिनु भनेछन्। वाचा गरेको पूरा त गर्नैपर्यो। पछि बाघ बनाइदिएछ। तथास्तु भन्दै। तर बाघ बनेपछि तलाईँ नै खाइदिन्छु भनेछ। अनि ऋषिले मुसा नै बनाइदिएछ। कालो झण्डा देखाएर केही हुन्न।'
यस्तै भइरहे प्रचण्ड-नेकपाको हालत घमण्डी भ्यागुतोझैं हुने उनको दाबी गरे। भ्यागुताको कथा सुनाउँदै उनले भने,'तपाईँहरु यसरी जानुभयो भने घमण्डी भ्यागुताको जसरी छाती फुटेर मर्नुहुनेछ।'
प्रचण्ड-माधव पक्षका संयोजकलाई कारबाही
पालिकास्तरीय भेलाले इन्द्रावती गाउँपालिका संयोजकमा शशीनाथ आचार्य र सह-संयोजकमा लक्ष्मण तामाङ र १५१ पालिकास्तरीय समिती गठन गरेको छ। भेलाले यसअघिका संयोजक नुनबहादुर सापकोटा (मनोज) लाई कारबाही गर्दै संयोजकबाट हटाएको छ। कार्यक्रममा केन्द्रीय सदस्य हस्त पण्डितलगायतका नेताहरुको उपस्थिति थियो।
भिडियो स्रोतः प्रदीप पराजुलीको फेसबुकबाट