PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रामचन्द्र पौडेलको देउवालाई कटाक्ष : प्रधानमन्त्रीमाथि औँलो ठड्याउने विपक्षी चाहियो



अनन्तराज न्यौपाने

रामचन्द्र पौडेलको देउवालाई कटाक्ष : प्रधानमन्त्रीमाथि औँलो ठड्याउने विपक्षी चाहियो

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई ललकार्ने र धम्क्याउने प्रधानमन्त्रीमाथि औँलो ठड्याउने विपक्षी चाहिएको बताएका छन्।

वरिष्ठ नेता पौडेलले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाउपर कटाक्ष गर्दै मुलुकलाई आगो लगाएर निरोझैँ बाँसुरी बजाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमका विरूद्ध उत्रने विपक्षी नेता चाहिएको धारणा व्यक्त गरेका हुन्। उनले सभापति देउवाको नाम नलिई अदालतको पवित्रताको दुहाइ नदिन आग्रह गरे।

दधिराज सुवेदी प्रतिष्ठानद्वारा शनिवार विराटनगरमा आयोजित पुरस्कार वितरण समारोहमा नेता पौडेलले आफूमा सत्ता, पद र प्रतिष्ठाको स्वार्थ नभएको हुँदा विधि र पद्धतिको शासनका लागि प्रतिनिधि सभाको पुनर्स्थापनाका पक्षमा उभिएको स्पष्ट पारे।

‘देवकीका जन्मनेबित्तिकैका बच्चा कंसले मारेझैँ समय नै नपुगी प्रतिनिधि सभा विघटन गर्न पाइँदैन’, उनले भने, ‘ओलीको यो कदमले मुलुकलाई विग्रहतिर लगेको छ। यसले मुलुकमा आगो लाग्न सक्छ।’

पौडेलले ओलीले कस्तो चुनाव गर्न चाहेका हुन् भन्ने प्रश्न गर्दै ५० अर्बको चुनाव गराएर गरिब मुलुकमा भ्रष्टाचार गर्न लागेका हुन् भन्दै आक्रोश व्यक्त गरे।

उन भने, ‘जनताले ५ वर्षका लागि प्रतिनिधि सभाका सांसदलाई चुनेका हुन्। नेपाली कांग्रेसले ओलीले चलाएको शासनमा सहयोग गरेकै थियो। संसदमा, विकासमा, विधेयकमा कहिल्यै कुनै कुरामा पनि हाम्रा साथीहरूले अवरोध गर्नु भएन। कम्युनिस्ट पार्टीलाई ५ वर्ष शासन गर्ने जनादेश छ। ओलीले उनीहरूका दलभित्रको रिस प्रतिनिधि सभामा बजार्न पाउँदैनन्।’

उनले यसअघि बारम्बार प्रतिनिधि सभा भङ्ग गरियो भनेर नै सरकार बन्ने विकल्प रहुन्जेल भङ्ग गर्न नपाइने प्रकारको संविधान जारी गरिएको विचार प्रकट गरे। तर, प्रधानमन्त्री ओलीले जनताको मतमा खेलबाड गरेको उनको जिकिर थियो।

पौडेलले भावुक हुँदै भने, ‘आज म यो मुलुकलाई माया गर्ने निःस्वार्थ नेता खोजिरहेको छु।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले समाज अत्यन्त गतिशील भएकाले नेपालको संविधानलाई कसैले बदल्न नसक्ने दावी गरे। केन्द्रीय सदस्य रिजालले प्रधानमन्त्रीले हरेक दिन प्रहसन गरिरहेका छन् भन्ने टिप्पणी गरे।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुलुकमा एउटा निरङ्कुशताको अन्त्य गरेर अर्को निरङ्कुशता हाबी हुन खोजेको बताए।

केस घिमिरेले प्रधानमन्त्री ओली एउटा व्यक्तिले सम्पूर्ण विधि, पद्धति, प्रहरी, अदालत, संयन्त्र र संविधान नै कब्जा गर्न खोजेको आरोप लगाए।

‘हाम्रा लागि चुनाव र पद ठूलो कुरा होइन, विधि र प्रणाली महत्त्वपूर्ण हो’, उनले भने, ‘त्यसैले प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि हाम्रो लडाइँ जारी रहनेछ। यस मुद्दाका विरूद्ध कुनै शर्तमा पनि सम्झौता हुने छैन।’

कार्यक्रममा नेता पौडेलले साहित्यकारद्वय विष्णुविभु घिमिरे र एसपी कोइराला तथा पत्रकारद्वय हरिहर विरही र मोहन भण्डारीलाई दधिराज पुरस्कार प्रदान गरे। साहित्यकार घिमिरे र कोइरालालाई ५१ हजार र पत्रकार विरही र भण्डारीलाई २५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell