PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु



रासस

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आइरहेको ज ८ प ८४६४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ५२४८ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका-१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए। मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रेसर कुकर बम निष्क्रिय

पूर्व-पश्चिम राजमार्गस्थित सिरहाको मिर्चैया नगरपालिक-५ जिवाखोलाको पुलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री शेर गणबाट खटिएको प्राविधिक टोलीले उक्त बम निष्क्रिय पारेको हो। राजमार्ग क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले पुलको उत्तरपश्चिम कुनामा शङ्कास्पद अवस्थामा बम फेला पारेको थियो।

पुलमै बम भएकाले करिब तीन घण्टा सडक अवरुद्ध भएको थियो। बम कसले के प्रायोजनाका लागि राखिएको भन्ने अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell