PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

गाउँकै पर्व झिल्टुङ क्रसकन्ट्री रेस : जहाँ आमा दौडिन्छन्, बच्चा दौडिन्छन् अनि राष्ट्रिय खेलाडी दौडन्छन्

गाउँकै पर्व झिल्टुङ क्रसकन्ट्री रेस : जहाँ आमा दौडिन्छन्, बच्चा दौडिन्छन् अनि राष्ट्रिय खेलाडी दौडन्छन्

मुकुन्द घिमिरे/पहिलोपोस्ट


नुवाकोट : पाँच वर्ष भयो नुवाकोटको बेल्कोटगढी ५ मा रहेको झिल्टुङमा क्रस कन्ट्री दौड सुरु भएको। जति वर्षहरु बढ्दै गए त्यतित्यति नै त्यहाँका दौडका विधाहरु थपिँदै गए। काठमाडौं बसेर झिल्टुङ क्रस कन्ट्रीका विधाहरुबारे  ‘केन्द्रको मानसिकता'बाट हेर्दा लाग्छ झिल्टुङमा कुनै सामान्य वडा स्तरको दौड भइरहेको छ। केही क्षेत्रीय खेलाडीहरु सहभागी होलान्।

तर यहाँ त्यस्तो छैन।

झिल्टुङ पुग्दा ससाना बच्चाहरुदेखि आमाहरु दौडनका लागि नाम दर्ता गर्न भिड गरिरहेका थिए। अनि हामीसँगै काठमाडौंबाट पुगेका थिए नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उपाधि नै दिलाइसकेका उत्कृष्ट खेलाडी। त्यहाँ एउटा कम्बिनेसन थियो, स्थानीय खेलाडीहरु आफ्नै सोखमा रमेका थिए भने बाहिरबाट गएका खेलाडीहरु आफ्नै कीर्तिमान उपलब्धिबारे सोचिरहेका थिए, सायद।

कसरी सम्भव भयो स्थानीय र राष्ट्रिय खेलाडीहरुको समिश्रण?

सुरुमा यो दौड स्थानीयको प्रतिभा प्रस्फुटन गराउने प्लेटफर्मको रुपमा सुरु गरेको बताउँछन् बेलकोटगढी ५ का वडाध्यक्ष अनन्तराम नेपाल।

‘गर्दै जाँदा समयले सिकाउँदै जाने रहेछ। पहिलो वर्ष बाहिरबाट धावकहरु आउनुभयो। जित्नुभयो। पुरस्कार लिएर काठमाडौं नै जानु भयो। यहाँ केही भएन भन्ने अनुभव भयो,’ उनले प्रतियोगिताको पृस्ठभूमिबारे भने।

दोस्रो वर्ष पनि उही अवस्था दोहोरियो। र, प्रतियोगिता आयोजना गर्ने तर गाउँमा उपलब्धि नभएपछि केही खिन्नता स्थानीयहरुमा देखियो। र जहाँ इच्छा त्यही उपाय भनेजस्तो समाधान पनि निस्कियो।

स्थानीयले पनि उपलब्धि हात पार्ने गरी र ठाउँको पनि प्रचारप्रसार हुने गरी दौडमा विधा थपियो तेस्रो संस्करणबाट जसमा स्थानीय छात्राहरुका लागि छुट्टै विधा थपे। स्थानीयलाई पनि प्रतियोगितामा विकर्षण हुन नदिने गरी हाल ८ वटा विधा भइसकेका छन्। जसमा आमा समूहलगायत विभिन्न विधा राखिएको छ। झिल्टुङ दौडका लागि पुग्दा खुट्टामा जुत्ता नभए पनि दौडका लागि हौसिएका स्थानीय बच्चाहरु र आमाहरुको उत्साह एकदमै झल्किन्थ्यो। त्यस्तै दौड हेर्न आउने दर्शकहरुको उपस्थिति पनि त्यतिकै।

वडाध्यक्ष नेपाल स्थानीय स्तरमा हुने रोपाइ जात्राबाहेक गाउँमा मनाइने सबैभन्दा ठूलो पर्वको रुपमा यही दौड रहेको बताए।

+++

स्थानीय सन्तुमाया श्रेष्ठले आमा समूह तर्फबाट लगातार दोस्रो पटक रेस जितिन्।

‘घाँस काट्न नि दौडिरहन्छ। उसले जित्छ भनेर सबैले भन्थे। अनि म दौडिएँ। अनि जितेँ,’ उनले आफ्नो अनुभव सुनाइन्। श्रीमानबाट घरेलु हिंसामा परेकोले पछिल्लो समय अस्पताल नै भर्ना भएको बताउने उनलाई दौडमा मिलेको जितले खुशी मिलेको छ। चारवटा बच्चाकी आमा रहेकी उनी आफ्नो खुशी साट्दै गर्दा सबै पीडा भुलेर मख्ख देखिन्थिन्।

‘मेरो घर यहीँ दुई पीपल। घाँस काट्न दाउरा काट्न हिँडेको हो। अरु त केही अभ्यास गरेको छैन।’ सन्तुमाया श्रेष्ठले भनिन्।

त्यस्तै ४.५ किमी छात्र तर्फ प्रथम भएका विश्वराम कुँवर जितपछि मख्ख थिए। आफ्ना वुबा आर्मी बताउने उनी तेक्वान्दो पनि खेल्दा रहेछन्। ८ कक्षामा पढ्ने उनले दौडन थालेको एक वर्ष भएको रहेछ।

‘बाबा आर्मी हुनुहुन्छ। वहाँले नै दौडन सल्लाह दिनुभएको हो। यहाँ आएर जितेँ पनि। धेरै खुशी लागेको छ’ उनको अनुहारमा खुसी दौडियो।

राष्ट्रिय खेलाडीतर्फका कुरा

राष्ट्रिय खेलाडी सहभागी १३.४ किमी दौडमा अल्ट्रा धावकहरुको बोलबोला रह्यो। पुरुषतर्फ सुमन कुलुङ राईले नयाँ रेकर्ड राख्दै ५५ मिनेट ५५.०९ मा दौड पुरागर्दै कीर्तिमान बनाए। त्यस्तै महिलातर्फ सागमा दुवाथोलनतर्फ रजत पदक जितेकी हुमी बुढामगरले १ घन्टा १३ मिनेट २३ सेकेन्डमा दौड पुरा गर्दै प्रथम बनिन्।

‘यो ठाउँ खासगरी हामी अल्ट्रा रनरहरुलाई यो ठाउँ राम्रो छ,’ प्रथम भएपछि हुमीले भनिन्, ‘हामीलाई उकालो ओरालो अनि यस्तै बाटोहरु हुन्छ अल्ट्रामा पनि। पिचरोडहरुमा हामी सक्दैनौ। हाम्रो लागि यो ट्रेल एकदमै राम्रो छ।’

त्यस्तै पुरुषतर्फ प्रथम भएका पनि सोलुखुम्बुका सुमन कुलुङ पनि अल्ट्रारनर हुन्।

‘मलाई पहिला यहाँको गेमबारे थाहा थिएन। हाम्रो ध्रुब गुरुले भनेपछि आएको हो,’ उनले भने, ‘नेपालको लागि र आफ्नो नामको लागि पनि यस्तो दौड ठीक छ,’ उनले भने।

कसरी सुरु भयो झिल्टुङ क्रसकन्ट्री?

उपत्यकाभन्दा बाहिर गएरा झिल्टुङमा क्रसकन्ट्री गराउने कन्सेप हो पुर्व एटथेट समेत रहेका मोहन नेपालको।

‘यो मेरो पुर्ख्यौली ठाउँ पनि हो। एकपटक घुम्दै आउँदा यति राम्रो रुट देखेँ कि जुन किसिमको ट्र्याक छ त्यस्लाई देख्दा दौडको लागि एकदमै उपयुक्त लाग्यो,’ पहिलो एभरेस्ट म्याराथन दौडिएको बताउने नेपालले त्यसपछि प्राविधिक अध्ययनका लागि काठमाडौबाट एथलेटिक्सका विज्ञहरुलाई बोलाए। अझ कान्छीमाया कोजु, भूमिराज लगायतका खेलाडीहरु यो ट्र्याकमा दौडिएर पनि हेर्दा क्रस कन्ट्रीको लागि एकदमै उपयुक्त स्थान हुनसक्ने भनेर प्राविधिक टोलीसहितले निस्कर्ष निकाले। र, त्यतिबेला स्थानीयहरुलाई दौडबारे खासै चासो नभएकोले काठमाडौबाटै खेलाडीहरु बोलाएर दौड सुरु गराएका थिए। बिस्तारै स्थानीयहरुले पनि यसमा चासो दिन थालेपछि विधा थपिए। चासो थपियो। र, वर्षमा एकपटक हुने यो दौड गाउँकै एक पर्वका रुपमा विकसित भयो।

तर नेपालको सपना अझै पुरा भएको छैन। उनी क्रस कन्ट्रीका लागि यो रुट एकदमै राम्रो भएकाले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता बनाउने होडमा देखिन्छन्।

‘आजैको भोलि त भन्दिनँ। तर हामीले यसरी नै निरन्तरता दिन सके अबको ५ वर्षमा अन्तर्राष्ट्रिय बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘यसलाई अन्तर्राष्ट्रिय ट्रेल बनाउने र खेलाडी उत्पादन गर्ने लक्ष्य हो।’



ट्रेन्डिङ पोस्ट

Ncell