काठमाडौं : प्रधानमन्त्री ज्यू, बुधवार तपाईँले पढाएको पत्रकारिताको पाठले हल्का छोयो। केहीमा सहमति केहीमा विमती रह्यो। त्यही सहमति र विमतिलाई लेख्दै छु।
तपाईँले पीत पत्रकारिताको पाठ पढाउनु भयो। तपाईँले भन्नु भएको थियो कि-
'पहिलो कुनै पनि शर्तमा कुनै पनि अर्थमा देशभक्ति किञ्चित कमी आउनु हुँदैन। देशभक्ति नभएको नेपाली त होला प्रमाणपत्रको हिसावले मन भावनात्मक हिसाबले देशभक्ति नभए त्यो के नेपाली? हामी विकाउ बस्तु होइन। काम गरेको भत्ता लिन्छौँ। तर हामी आत्मा बेच्दैनौँ। कामको ज्याला लिन्छौँ। तर आत्मा बेच्दैनौँ।'
हो देशभक्तिको परिभाषा तपाईँको र मेरो फरक होला। तपाईँको परिभाषामा तपाईँको गुनगान गाउनु होला। मेरो परिभाषा देशको गुणगान गाउनु हो। म देशको गुणगान सँधै गाउने छु। कालोलाई कालो र सेतोलाई सेतो भन्न कुनै हिच्किचाहट छैन। यसमा म तपाईँको देशभक्तको परिभाषाभित्र पर्दिन भने ठीकै छ। तर म देशभक्त नै हुँ।
'मानव जाती सदैव मानव जातीको अवसरका निम्ति तपाईँहरुले लेख्नु बोल्नुपर्छ। मान्छेले असमानता चाहन्छ। समानता चाहन्छ। मानव जातीका वीचमा असमानता होइन समानताको पक्षमा वकालत गर्नुपर्छ,' तपाईँले भन्नु भएको थियो। त्यसमा म पनि अडिग छु।
'मन परेन भनेर नभएको नलेख्नुस्,' तपाईँले भन्नु भएको थियो, हो म लेख्दिनँ। मलाई तपाईँ मन परेको छैन। तर म तपाईँलाई भित्तामा पुर्याउनुपर्छ भनेर ठोकेको छैन। तर तपाईँकै आफ्नै पूर्व सहकर्मी अहिले पीत पत्रकारिताको सिकार भएका छन्। त्यसरी सिकार गर्ने तपाईँकै साइबर सेना हुन्। र तपाईँ विना आधार त्यसैको भरमा ती पूर्व सहकर्मीलाई भित्तामा पुर्याउन खोजिरहनु भएको छ। किञ्चित म त्यस्तै मन परेन भन्दैमा तपाईँले जस्तो तपाईँका अरिंगालले जस्तो भित्तामा पुर्याउनका लागि गलत लेख्दिनँ।
तपाईँका साइबर सेनाको जस्तो बुद्धि कोल्टे परेको छैन। तपाईँले भन्नुभएको थियो, 'तपाईँहरुले सामाजिक न्याय र समानताको पक्षमा कुरा गर्नुपर्दछ। अधिकारको पक्षमा कुरा गर्नुपर्दछ।'
म त्यसैमा प्रतिवद्ध छु। रहने नै छु। तर, म तपाईँको पार्टीको पत्रकार भनेर चिनिनु छैन। तपाईँको पार्टीको पत्रकार भनेर चिनिन नचाहने म तपाईँको नजरमा पत्रकार नहुन पनि सक्छु। मलाई स्वीकार छ। तर कालोलाई कालो र सेतोलाई सेतो भनेर भन्न छाड्दिनँ। पाठकले मलाई मेरो लेखनीले चिनोस् भन्ने पक्कै चाहन्छु तर 'कालो'लाई 'सेतो' लेख्ने तपाईँको पार्टीको पत्रकार भनेर मलाई कसैले नचिनोस्।
'तपाईँहरुले सम्प्रेषण गरेको समाचारमा सत्यता छ के भनेर कसैले आशंका गर्ने स्थिति नहोस्। तपाईँहरु समाचार स्वार्थका लागि उल्टापल्टा समाचार नपठाउनुस्। आफ्नै स्वार्थका लागि पनि असत्य समाचार सम्प्रेषण नगर्नुस्,' तपाईँले भन्नु भएको थियो। यसमा सजग छु। यत्ति ढुक्कका साथ भन्न सक्छु कि तपाईँले मैले लेखेको समाचार पढेर भ्रममा जिउनु हुन्न। मैले लेखेको समाचार पढेर नभएको कुरा सार्वजनिक रुपमा तपाईँ भन्दै हिड्नु हुने छैन।
'रिस उठ्यो भने पनि नचाहिने कुराहरु नलेख्नुस्। कहिले कहिले कोही कोही मान्छे मन पर्दैन। यद्यपि मन पराउने नपराउने रिस उठ्ने आदि कुराहरु छाड्दिन पर्छ। तर पनि तपाईँहरुलाई रिस उठिहाल्यो भने पनि रिस उठ्यो भन्दैमा झुटा कुरा, नहुने कुरा कसैको बारेमा लेख्नु वाञ्छनीय हुँदैन,' तपाईँले भन्नु भएको थियो।
पक्कै पनि म त्यस्तो गर्ने छैन। तर के तपाईँले मञ्चमा भाषण गर्दै गर्दा तपाईँको बोलीमा ताली मिलाउनेहरुले त्यस्तो गर्दैनन्। मिर्गौलासम्बन्धी भीम रावलले भन्दै नभनेको कुरा समाचारमा लेख्ने पनि सायद तपाईँको भाषण सुन्दै थिए होलान्। ताली पिट्दै थिए होलान्। के उनीहरुले तपाईँले भनेको कुरा मान्लान्?
के तपाईँले भनेकै कुरा तपाईँको साथमा मञ्चमा बस्नेहरुले मानेका होलान्। समाचारको कुरा होइन्। उनीहरुको फेसबुकको स्टाटस् हेरे भने पनि ती तपाईँका पार्टीका पत्रकार हुन् भनेर सबैले थाहा पाउने छन्। पत्रकारमात्र होइन साइबर सेना नै हुन भनेर जनताले बुझ्ने छन्।
पीत पत्रकारिताबाट सावधान हुन तपाईँले सुझाव दिनु भएको थियो। म यो महात्मा गान्धीका तीन बाँदर जस्तो पक्कै छैन। म हरेक कुरा सुन्छु, हरेक कुरा हेर्छु र हरेक कुरा भन्छु- 'सहीलाई सही गलतलाई गतल।'
तपाईँले गरेका सही कामको प्रचार गरेनन् भन्नु भएको छ। यदि तपाईँ चाहनुहुन्छ तपाईँका राम्रा काममात्र समाचारमा आउन्, नराम्रा काम छोपुन् भने त्यस्तो मबाट पक्कै हुँदैन। तपाईँले अस्ति एउटा भाषणमा भन्नु भएको थियो- 'पत्रिकामा धरहराको फोटो छापियो' भनेर। त्यो फोटो छाप्ने पत्रकार त्यतिबेला सही तपाईँले गल्तीलाई देखाउँद पीत पत्रकार कसरी हुन्छ?
प्रधामन्त्रीज्यू, तपाईँ आफै भन्नुहुन्छ, 'सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने।' अनि हामीलाई चाहि यसको पाठ पढाइरहने? सहीलाई सही भन्नै पर्दैन। त्यो आफै सही हुन्छ। तर गलतलाई सही भनेर शक्तिसँग झुक्ने पक्षमा म पनि छैन है। पब्लिक पोलिसको विद्यार्थीमा विदेशी भूमिमा नेपालको नीतिगत सफलताको कुरा मजाले अन्तर्राष्ट्रिय समुदायमा, विदेशी विद्यार्थीमाझ राखेको छु गर्वका साथ। त्यसमा भएका कमिकमजोरीलाई लुकाउँदै पनि। तर यहाँ नेर कमजोरी छ भनेर तपाईँ सामु मलाई भन्न कुनै डर छैन। तपाईँ राम्रो मान्नुस् या नराम्रो।
म कुनै स्वार्थमा आत्मा बेच्न सक्दिनँ। बेच्दिन पनि। के तपाईँलाई त्यहाँबाट सुनेका सबैले आत्मा बेचेका छैनन्? तपाईँको अन्ध भक्त बनेर अरुलाई भित्तामा पुर्याउनका लागि अन्टसन्ट लेखेका छैनन्।
यदि म तपाईँको गल्तीलाई समाचारमा लेख्दा नर्क जान्छु भने नर्क नै सही। तपाईँले गरेका गल्तीलाई सही भनेर स्वर्ग जानु छैन। '.... त्यहीलाई उसले बहादुरी ठान्छ। फलानालाई आज मैले ठोक्दिएँ। फलनालाई बिगार्दिएँ। दिएँ आज मैले दनक। गजबसँग दिएँ। दंग पर्छन्,' तपाईँले भन्नु भएको थियो। म त्यस्तो गर्दिन्। मलाई कसैलाई विनाकारण गोद्नु छैन। किनकी म साइबर सेना होइन पत्रकार हुँ। तपाईँले थप्नु भएको थियो -'त्यस्ता खालका पीत पत्रकारिताहरु आफै पर लाग्छन्। किन भने पीत पत्रकारिता नगर्ने पीत पत्रकारितासँग जुध्ने साँचो पत्रकारिता गर्ने पत्रकारिताको धर्म बचाउने पत्रकारिताको धर्म फलाउने फूलाउने तपाईँहरु जस्तो समूह पनि छ। यो समूह विशाल छ। जो देशको पक्षमा जनताको पक्षमा लड्छ। लोकतन्त्रको पक्षमा लड्छ। सत्यको पक्षमा लड्छ। तपाईँहरुको कलम त्यसै गरी चलोस्।'
पक्कै पनि त्यस्ता पीत पत्रकारिताहरु आफै पर लाग्ने छन्। किनकी नेपालमा साँचो पत्रकारिता गर्नेहरु, कालोलाई कालो भन्नेहरु, सेतोलाई सेतो भन्ने पत्रकारहरुको जमात पनि छ। तपाईँको शुभकामना लागोस् - लोकतन्त्र र सत्यको पक्षमा लडिरहने।