काठमाडौं : बलात्कारको अभियोगमा प्रहरी नै समातिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले प्रहरी जवान विशाल शर्मालाई नियन्त्रणमा लिएको हो। जिल्ला ट्राफिक कार्यालय भैरहवा दरबन्दी भएर लुम्बिनीमा कार्यरत शर्मालाई पीडितले उजुरी दिएपछि नियन्त्रणमा लिइएको हो।
'शुक्रवार हामीकहाँ उजुरी परेको थियो। त्यही क्रममा अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले भने। प्रहरीले शर्मासँगै सोही घटनामा संलग्न रहेका गुरुचरण चौधरी भन्ने एक अर्का युवकलाई समेत नियन्त्रणमा लिएको छ।
कार्तिक २३ गते रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा राति साढे ८ बजे हिँडिरहेका दुई महिलामध्ये एक जनालाई उनीहरुले सामुहिक बलात्कार गरेको आरोप लागेको छ। ट्राफिक प्रहरी जवान शर्माले उनीहरुलाई केरकार गर्न भन्दै रोकेका थिए। त्यसपछि कहाँ जान लागेको भन्दै सोधेको र त्यसैक्रममा उनीहरु बिच विवाद समेत भएको अनुसन्धानमा देखिएको छ।
'उनीहरुले सुरुमा एउटा ठाँउ त्यसपछि अर्को ठाउँ बताएका थिए। त्यसैमा विवाद भयो,' एसपी पोखरेलले भने।
त्यसपछि ट्राफिक जवान शर्मा नजिकैको गाउँबाट अन्य तीन जना युवकलाई बोलाएर बलात्कार गरेको आरोप लागेको छ। बलात्कृत हुने महिला दिदी बहिनी हुन्। सुरुमा उनीहरुले बहिनीलाइ नग्न बनाएर मोबाइलमा फोटो खिचेको र त्यसपछि दिदीलाई बलत्कार गरेको एसपी पोखरेलले बताए।
कसैलाई घटनाको बारेमा जानकारी दिए फोटो सार्वजनिक गर्ने धम्की दिएको पनि अनुसन्धानका क्रममा खुलेको छ। धम्कीकै कारण लामो समयसम्म बलात्कारको घटना लुकेको थियो। तर, एकाएक फोटो सार्वजनिक भएपछि पीडित पक्ष प्रहरीकहाँ पुगेका थिए।
