PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रोमाञ्चक खेलमा वाग्मती र लुम्बिनीले अंक बाँडे



पहिलोपोस्ट

रोमाञ्चक खेलमा वाग्मती र लुम्बिनीले अंक बाँडे

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको म्याच टाइड भएको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मती र लुम्बिनीले अंक बाँडेका हुन्।

टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२० रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी पनि ४८ ओभर सकिँदा २२० रनमा अलआउट भयो।

सुरुवाती ब्याटिङ गरेको वाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतक बनाए। खानले ८७ बलमा ५५ रन बनाउँदा पाण्डेले ५३ बलमा ५१ रन जोडे।

त्यसबाहेक आकाश थापाले ३९ रन बनाउँदा पृथु बास्कोटाले २९ र कप्तान ज्ञानेन्द्र मल्लले २९ रन जोडे।

बलिङतर्फ लुम्बिनीका दीपेन्द्र रावतले सर्वाधिक ३ विकेट लिँदा कृष्ण कार्की र सन्दीप सुनारले समान २/२ विकेट लिए। त्यस्तै विक्रम भुषाल र अनिल खरेलले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीका लागि प्रकाश केसी र कप्तान कृष्ण कार्कीले समान ४१/४१ रन बनाउँदा सौरभ खनालले ३४ रन बनाए। त्यस्तै देव खनालले २६ र सन्दीप रजालीले ११ रन जोडे।

वाग्मतीका लागि विपिन आचार्यले सर्वाधिक ४ विकेट लिँदा गौतम केसीले २ विकेट लिए।

अंक बाँडे पनि जारी प्रतियोगितामा अपराजित वाग्मती समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीको आगामी यात्रा भने भोलि हुने खेलसँग निर्भर हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell