PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक अफगानिस्तान हुनेछ : रामचन्द्र पौडेल



अनन्तराज न्यौपाने

प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक अफगानिस्तान हुनेछ : रामचन्द्र पौडेल

विराटनगर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले सदर गर्ने हो भने मुलुक अफगानिस्तान हुने चेतावनी दिएका छन्।

सात सालका क्रान्तियोद्धा मुक्तिप्रसाद चापागाईं र स्वतन्त्रता सेनानि यदुनाथ चापागाईंको स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा आइतवार विराटनगरमा वरिष्ठ नेता पौडेलले सर्वोच्चले विघटनलाई सदर गर्ने हो भने मुलुकमा दुर्भाग्य निम्तने धारणा प्रकट गरेका हुन्।

‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना भएन भने मुलुकमा ठूलो द्वन्द्व मच्चिनेछ र त्यो द्वन्द्वले अन्ततः नेपाललाई विग्रहको बाटोमा लैजानेछ,’ नेता पौडेलले भने, ‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको विघटनलाई सदर गर्ने काम भयो भने प्रतिनिधिसभा सँगसँगै वर्तमान संविधानको पनि अन्त्य हुन्छ।’

उनले आफ्नो पार्टी नेपाली काङ्ग्रेस सबैभन्दा पहिला नेपालको संविधानलाई बचाउन लाग्ने घोषणा गरे ।

‘तर संविधान बचाउन पहिले प्रतिनिधिसभाको पुनःस्थापना आवश्यक छ,’ उनको भनाइ थियो, ‘यो संविधानमा नेपाली काङ्ग्रेसले खोजेका र चाहेका सबै कुरा छन्। बहुलवादमा आधारित संसदीय प्रजातन्त्र यही संविधानमा छ। त्यसैले नेपाली काङ्ग्रेस संविधानको रक्षा चाहन्छ र यसका लागि प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दछ।’

उनले अदालतमा विचाराधीन रहेको मुद्दाका बारेमा बोल्न नेपाली काङ्ग्रेसलाई अधिकार भएको जिकिर गरे।

पौडेलको तर्क थियो, ‘हामी वादी पक्ष हौँ। प्रतिनिधिसभाको पुनःस्थापनाको हाम्रो मागका बारेमा अदालतमा छलफल र बहस हुँदैछ। त्यसैले हामीले हाम्रो माग जहाँ पनि राख्न पाउँछौँ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यो राजनीतिक निर्णय हो भनेर अदालतलाई किन धम्की दिइरहेछन् भन्ने प्रश्न गरे।

उनले नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक कदम भनेर निर्णय गरिसकेको जानकारी दिँदै पार्टीभित्र अर्को लाइन नभएको जिकिर गरे।

‘यो विघटन असंवैधानिक छ भन्ने लाइन रामचन्द्र वा शेरबहादुर कसैको होइन,’ उनको आग्रह थियो, ‘यो विघटनलाई सच्याउने बाटो भनेको प्रतिनिधिसभाको पुनःस्थापना नै हो। पार्टीले अब यो निर्णय गरेर जानुपर्छ।’

पौडेलले कम्युनिस्ट बिग्रेलान् र हामी सप्रौँला भन्ने नादान विचार त्यागौँ भन्ने अपिल गरे।

उनले पार्टीका केही साथीहरूले कम्युनिस्ट फुटेका बेला काङ्ग्रेसले निर्वाचनमा जानु नै उपयुक्त हुन्छ भन्ने सोच्नु गलत हो भन्ने ठोकुवा गर्दै संविधानमा टेकेरमात्र चुनावमा जानुपर्ने अभिमत राखे।

‘यो नेपाली काङ्ग्रेसको नेतृत्वका लागि परीक्षाको घडी हो,’ उनको कथन थियो, ‘हामीले हाम्रा एजेन्डामा उभिएर राजनीति गर्ने हो, कम्युनिस्टका एजेन्डामा होइन। केपी ओली वा प्रचण्ड कसैका पनि एजेन्डामा हामी जान सक्तैनौँ। हामीले हाम्रो चरित्र, सिद्धान्त र अडानबाट नेपाली जनताको मन जित्ने हो। कम्युनिस्ट फुटेका छन् भनेर होइन।’

वरिष्ठ नेता पौडेलले आफ्नो पार्टी राणा, राजा र पञ्चायतलाई फ्याँँक्ने शक्तिका रूपमा स्थापित भएको उल्लेख गर्दै अन्य कुनै दलसित सहकार्यको आवश्यकता नभएको स्पष्ट पारे। उनले हनुमानले झैँ काङ्ग्रेसले आफ्नो शक्ति थाहा पाउनु पर्ने धारणा राखे। 

पार्टीका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री शेरधन राईको चकाचौँध देखेर नलोभिन र नझ्याम्मिन आग्रह गरे।

रिजालले सत्तासित झ्याम्मिएर प्रतिपक्षको लडाइँ हुन नसक्ने अडान दोहोर्‍याए ।

‘प्रतिपक्षमध्ये जसले अविश्वासको प्रस्ताव ल्याए पनि अर्को प्रतिपक्षले अविश्वासकै पक्षमा मतदान गर्ने हो,’ उनको निर्देशन थियो, ‘त्यसैले प्रदेश नम्बर १ को प्रदेश सभामा हाम्रा साथीहरूले अविश्वासका पक्षमा मतदान गर्नुहुनेछ।’

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुख्यमन्त्री शेरधन राई भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको छायाँ भएको टिप्पणी गर्दै नेपाली काङ्ग्रेसले शेरधनका पक्षमा मतदान गर्न नसक्ने जिकिर गरे।

अर्का केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले केपी ओलीले प्रतिनिधि सभाको विघटनको सिफारिस गर्नु भनेको कुनै डाक्टरले जिउँदो मानिसलाई मृत्युको प्रमाणपत्र दिनुजस्तै हो भन्ने तर्क गरिन्।

सङ्ग्रौलाले नेपाली काङ्ग्रेसले ३–३ वर्षसम्म सशक्त ढङ्गले विरोध गरेको केपी शर्मा ओली र शेरधन राईको सरकारमा किन जाने भन्दै आक्रोश व्यक्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell