PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लुम्बिनी भर्सेस वाग्मती, मल्लले भने : हाम्रो बलिङ अनुशासित भएन, कार्की भन्छन् : मैले फिनिसिङ गर्नु पर्थ्यो

लुम्बिनी भर्सेस वाग्मती, मल्लले भने : हाम्रो बलिङ अनुशासित भएन, कार्की भन्छन् : मैले फिनिसिङ गर्नु पर्थ्यो

समर्थ रञ्जित/पहिलोपोस्ट


आज मुलपानी क्रिकेट मैदानमा वाग्मती र लुम्बिनी बीच रोमाञ्चक खेल चल्यो। खेल अवधिभर नै नतिजा कहिले वाग्मतीतिर ढल्कियो त कहिले लुम्बिनी तिर। यसै होला भन्न सक्ने अवस्था देखिएन जुन प्रधानमन्त्री कपकै अन्य कतिपय खेलहरुमा देख्न सकिन्छ।

वाग्मतीले दिएको २२१ रनको लक्ष्य पछ्याउन बिस्फोटक ओपनिङ गरेको लुम्बिनीले शुरुमा सहजै पार लगाउला जस्तो देखिएको थियो। खासगरी वाग्मतीको बलिङ जमेन। वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल खेलका क्रममै पनि आफ्नो टिमको बलिङलाई लिएर असन्तुष्ट देखिन्थे। खेलपछि पनि उनले खेलमा पछि पर्नुको मुख्य कारण बलिङलाई नै देखाए।

‘म विकेट नआएर फ्रस्टेड भएको होइन। हामी क्रिकेट खेल्दा जहिले पनि प्लानिङ र त्यसको कार्यन्वयन भन्ने हुन्छ। टिमले एउटा योजना लिइसकेपछि त्यसको कार्यन्वयन गर्न नसक्दा खेरी त्यो किन भएन भन्ने प्रश्न चिन्ह हो’, टिमको प्रदर्शनमा आफ्नो असन्तुष्टी राख्दै मल्लले भने, ‘बारम्बार दोहोर्‍याउँदा पनि त्यो नभएपछि राष्ट्रिय स्तरको खेलाडी उत्तरदायी हुनैपर्छ र अनुशासित हुनैपर्छ भन्ने हो।’

खेलको हिसाबले प्रतिस्पर्धात्मक देखिए पनि आफ्नो टिमले यो भन्दा माथिल्लो स्तरमा प्रदर्शन गर्न सक्ने मल्लको बुझाइ छ।

‘खेलको दृष्टिकोणले हेर्दा त आजको खेल रमाइलै भयो। पोइन्ट पनि आयो नै। क्वालिफाइ पनि भइयो’, मल्लले भने, ‘समग्रमा यस्तो प्रतिस्पर्धात्मक खेल भयो भने युवा खेलाडीहरुलाई चाहिँ धेरै अनुभव बटुल्ने मौका मिल्छ।’

फेरि पनि उनले बलिङमा राम्रो नभएकोमै केन्द्रित रहन चाहे। हुन पनि खेलमा लुम्बिनीले १० अतिरिक्त रन दिएको थियो भने वाग्मतीले २३ अतिरिक्त रन दिएका थियो।

‘हाम्रो बलिङ अलि अनुशासित भएन जस्तो लाग्यो। यहाँ २२१ रन डिफेन्ड गर्न सकिने हो। सजिलो लक्ष्य होइन त्यो’, उनले भने, ‘हामीले अझै तीस रन जति बनाउन सक्थ्यौँ होला। मैले पनि अलि लामो समय ब्याटिङ गर्न सकेको भए स्कोर पनि बढ्न सक्थ्यो होला। तर, शुरुमा ब्याटिङ गर्दा गाह्रो त हुन्छ नै।’

यद्यपि वाग्मतीको ब्याटिङमा भने अरु टिमको तुलनामा फरकपन रहेको मल्लको बुझाइ छ।

‘ब्याटिङमा अलि भिन्न छौँ जस्तो लाग्छ। देब्रेहाते ब्याट्समेनको फाइदा अरुले सायद उठाउन पाएका छैनन् तर हामीले उठाएका छौं’, मल्लले भने, ‘आफ्नै सबल पक्षहरुलाई नै हेरेर केन्द्रित गरेर अब अघि बढ्दा राम्रो हुन्छ होला। नकी प्रतिस्पर्धी।’

मैले फिनिसिङ गर्नु पर्थ्यो : कार्की

लुम्बिनी प्रदेशका कप्तान कृष्ण कार्कीलाई भने आफ्नो हातमा आइसकेको खेल गुम्दा बिस्मात भएको रहेछ। हुन पनि एकै ओभर टिके बाउन्ड्री नहानी पनि खेल आफ्नो पक्षमा पार्न सकिने अवस्थामा कार्कीले ठूलो सर्ट खेल्न खोजे र रामनरेश गिरीबाट समातिए। त्यसपछि आएको ब्याटिङ अर्डरले पनि धैर्य गरेर खेललाई राम्ररी अन्त्य गर्न सकेन।

‘चेज गर्दै गर्दा शुरुमा त ठीकै थियो। अन्तिममा... मैले चाहिँ फिनिस गर्नपर्थ्यो जस्तो लाग्छ अहिले’, कार्कीले भने, ‘त्यो लुज बल चाहिँ थियो। त्यतिबेला मैले कन्ट्रोल गर्नपर्ने थियो। मलाई मैले नै भ्याउनु पर्थ्यो जस्तो लागिरहेको छ।’

म्याच टाइड भएपछि वाग्मती खुशी भए पनि आफ्नो हातमा आइसकेको खेल गुमेर अर्को चरणको यात्रा समेत प्रभावित भइसक्दा लुम्बिनीलाई सबैकुरा पक्कै पचाउन गाह्रो भइरहेको थियो।

‘यो म्याच जितेर अगाडि जान हामी योग्य थियौँ जस्तो लाग्छ,’ भावुक हुँदै कार्कीले भने।

वाग्मती सेमिफाइनलमा प्रवेश गरेको छ भने लुम्बिनी र पुलिसले भोलिको खेलको नतिजाबाट को अगाडि जाने निर्धारित हु्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell