PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वामदेवलाई माधवको घुर्की, प्रचण्डको ललिपप : ओलीसँग वारपारको लडाईपछि किन अड्किए बीचमा?



प्रकाश भण्डारी

वामदेवलाई माधवको घुर्की, प्रचण्डको ललिपप : ओलीसँग वारपारको लडाईपछि किन अड्किए बीचमा?

काठमाडौं : वैशाख १७ को नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै पेचिलो बन्यो। महाधिवेशनमा आफूलाई काँध हालेका उपध्यक्ष वामदेव गौतमले साथ छोडेपछि ओली अल्पमतमा थिए। कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा बहुमत सदस्य उभिएपछि ओली झस्कनु स्वभाविक थियो। त्यसअघि पनि नेकपामा विवाद भएकै थियो तर ओलीको कुर्सी भने जोगियो नै। तर, वैशाख १७ ले ओलीको पद सुरक्षित हुने छाँट देखाएन। ओलीमाथि बहुमतको डर देखाउने सबैभन्दा पहिलो नेता त्यो दिन गौतम देखिए।

उनले ओलीको कटु आलोचना गरे। ओली कम्युनिस्ट नेता नै नभएको टिप्पणी थियो उनको। गौतमसँगै ओलीइतरका नेताहरुले ओलीले पार्टी विभाजनका लागि अध्यादेश ल्याएको भन्दै राजीनामा दिनुपर्ने माग राखे। र उनीहरु एक मत भए। ओली इतरका अरु सचिवालय सदस्यले भने संसद विघटन र पार्टी विभाजनको अवस्थासम्म पनि अडान कायमै राखे। गौतमले भने क्याम्प फेरिरहे।

कहिले ओलीलाई त कहिले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई उनको साथ रह्यो। हाल भने उनी दुवै समूहमा छैनन्। बरु उनी तेस्रो शक्ति निर्माणमा जुटेका छन्। माघ १४ मा गौतमले नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्। गौतम एकता अभियान घोषणामा केन्द्रित भए पनि ओली र प्रचण्ड-नेपाल दुबै समूहले आफूलाई साथ दिन अफर गरिरहेका छन्। तर उनी राजी भइसकेका छैनन्।

नरम प्रचण्ड र आक्रामक नेपाल

संसद विघटन पछिका धेरैजसो आमसभामा प्रचण्ड र माधवले एक अर्काको तारिफ गर्छन्। आफूहरुको सहकार्य नौलो नभएको देखाउन अनेक घटनाबारे जानकारी दिन्छन्, प्रचण्ड-नेपाल। ओलीको खरो आलोचनामा उत्रिरहेका प्रचण्ड नेपालले बेलाबेला वामदेवको प्रसंगसमेत निकाल्ने गरेका छन्। तर, यी दुई नेताको वामदेवलाई हेर्ने नजर भने भिन्न देखिन्छ। प्रचण्डले वामदेव आफ्नै साथमा रहेको दाबी गर्दा नेपाल भने गौतमसँग बिच्चिकिएका छन्। उनी गौतमलाई सार्वजनिक मञ्चमै ओलीको आलोचना गर्दै राजीनामा मागेको विषयलाई नबिर्सिन वामदेवलाई चेतावनी दिइरहेका छन्। प्रेस संगठन नेपालको माघ ६ मा भएको भेलामा नेपालले वामदेव बालुवाटार निकट हुन थालेको आरोप लगाएका थिए। गौतमकै सहमतिमा ओली विरुद्ध पार्टीमा संघर्ष भएको भए पनि अन्तिममा गौतमले आफ्नो साथ छोडेको नेपालको भनाई थियो। गौतमले सचिवालय बैठकमा ओली कम्युनिस्ट नेता नै नभएको भन्दै गरेको आलोचनाको आफूसँग अडियो नै भएको दाबी गरे। 'वामदेवजी अहिले के भन्नुहुन्छ। उहाँले भनेको त मसँग रेकर्ड नै छ। मैले त सोधेको छैन। सोध्नेवाला छुँ। मेरो मोबाइलमा छ रेकर्ड,' उनले भने। पुस ५ मा ओलीले संसद विघटन गरेपछि वामदेवले प्रचण्ड-नेपाल क्याम्प छोडेका थिए। त्यसयता प्रचण्डसँग उनको लगातार संवाद भइरहेको भए पनि नेपालसँग भने राम्ररी कुराकानी भएको छैन। नेपालले गौतम अलमलमा परेको टिप्पणी गरेका छन्। 'वामदेव बीचमा अलमल गर्नुहुन्छ, यता लाग्नेलाई पनि उता लाग भन्नुहुन्छ। आफू पनि उता लागेको संकेत देखिएको छ। थाहा छैन, सत्य के हो?,'वामदेवलाई ओली क्यम्पमा पुगेको आरोप लगाउँदै नेपालले भनेका थिए।

नेपालको वामदेव प्रति आक्रामक अभिव्यक्ति आइरहँदा उनकै अर्का सहयात्री प्रचण्ड भने वामदेवलाई अझै फकाइरहेका छन्। यसका लागि उनले पटक पटक वामदेवलाई भेटेका पनि छन् भने उनको अभियानलाई पनि शुभेच्छा प्रकट गरेका छन्। पुस १७ मा वामदेवलाई भेटेर आफ्नो समूहमा लाग्न प्रचण्डले आग्रह गरेका थिए। तर उनले एकता अभियान चलाउने बताएपछि प्रचण्डले सम्भव भए चलाउन उनलाई सुझाव दिए। प्रचण्डले पुस १४ को काठमाडौंमा भएको विरोधसभामा गौतमलाई आफूले एकता सम्भव भए गर्न भनेको जानकारी दिएका थिए। 'उहाँलाई यतै आउनुस भने। तर उहाँ आउनुभएन। बालुवाटार पनि जानु भएको छैन। एकता अभियान चलाउँछु भन्नुभएको छ। सम्भव भए गर्नुस भनेको छु,' प्रचण्डले भनेका थिए। प्रचण्डका एक जना सचिवालय सदस्यका अनुसार प्रचण्डलाई गौतमले पार्टी विभाजन भएको अवस्थामा पनि निर्वाचन भएको अवस्थामा कम्युनिस्ट पार्टीहरुबीच कम्तीमा पनि चुनावी गठबन्धनको प्रयास गर्ने प्रचण्डलाई बताएका थिए। तर प्रचण्डले तत्काल चुनाव हुने अवस्था नभएको र त्यो बेलासम्मको राजनीतिक गठबन्धनबारे नसोच्न गौतमलाई सुझाव दिएको सचिवालय ती सदस्यले बताए।

प्रतिनिधि सभा विघटन भएपछिका धेरैजसो विरोध सभामा प्रचण्डले गौतमबारे टिप्पणी गरेका छैनन् भने नेपालले भने उनको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटनपछि ओलीको बानी व्यवहारबारे आलोचनामा उत्रिएका नेपाल वामदेव ओलीको लोभलालचमा आफू नपरे पनि वामदेव भने त्यता तिर लागेको संकेत गर्छन्। 'बिहान वामदेवजीलाई बोलाउनुहुन्छ अबको प्रधानमन्त्री तपाइँ हो भन्नुहुन्छ। अनि दिउँसो मलाई बोलाउनुहुन्छ। अब पार्टी अध्यक्ष तपाइ हुनुपर्‍यो भन्नुहुन्छ। अनि प्रचण्ड कमरेडलाई बोलाएर भन्नुहुन्छ एमालेमा त मैले काविल नेता नै देखिन तपाइँ नै हो अध्यक्ष। वामदेवजी त्यसपछि कता कता जानुहुन्छ के-के गर्नुहुन्छ,' ओलीको आलोचना गर्दै नेपालले पुस १४ गतेको विरोधसभामा भनेका थिए।

वामदेवसँग छैनन् नेता

नेपाल निकट नेताहरु वामदेव ओलीतिरै जाने दाबी गर्छन्। उनीसँग एकदमै निकट नेताहरुले समेत ओलीलाई नै साथ दिएपछि नेपाल निकटका नेताहरुले वामदेव ओलीतिरै जाने बताइरहेका छन्। नेपाल निकट मानिने नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले वामदेवले भनेको मान्ने नेताहरु नै ओलीतिर गएको बताए। उनले आफू निकटलाई ओलीसमूहमा लाग्न भनेको पाण्डेको आरोप छ। 'उहाँको भनेकै मान्ने एकदमै निकटहरु पनि ओलीतिरै लागेका छन्। सम्झाउन नसकेर पनि होला हुन त। तर उनले भनेरै उनीहरु ओलीतिर लागे भन्ने छ अहिले,' उनले भने। गौतमसँग हाल नेकपा धेरै नेता बाँकी नभएको पाण्डेको दाबी छ। उनले अब भएका नेताहरु समेत चाँडै कुनै समूहमा लाग्ने बताए। 'उहाँसँग धेरै नेता पनि छैन। उहाँले अहिले हाम्रो समूहमा आउने त्यस्तो कुरा पनि गर्नुभएको छैन,' उनले भने।

वामदेवका शर्त

नेपाल निकट नेता पाण्डेको मात्र होइन अरु नेताहरुको धारणा पनि उनीभन्दा भिन्न छैन। तर, प्रचण्ड भने वामदेवसँग अझै आशावादी देखिन्छन्। नेपालले गौतम बालुवाटार पुगेको कुरा पार्टीमा राख्दा पनि वामदेवलाई आफ्नै समूहमा ल्याउन प्रचण्डले पहल गरिरहेका छन्। तर वामदेवको शर्तको कारण उनी कुनै पनि समूहमा तत्काल जाने अवस्था नरहेको गौतम निकट नेताहरुको मत छ। वामदेव निकट मानिने नेकपाका नेता हरि पराजुलीले वामदेवको ध्यान एकतामै भएको दाबी गरे। 'गाउँसम्म पनि कमिटी बिस्तार गर्ने र दुबै समूहका नेतालाई बोलाएर सम्झाउने र एकतामै लाग्न अनुरोधका लागि अभियान चलाएका छौं,' उनले भने। वामदेवलाई नेकपाका विभाजित ओली र प्रचण्ड-नेपाल दुवै समूहबाट आफ्नो समूहमा आउन विभिन्न आश्वासन आएको पराजुलीको भनाई छ। तर, वामदेवले भने आफ्ना शर्तहरु राखेको र ती दुवै शर्त पुरा गर्न कोही तयार नभएकाले अभियानमै केन्द्रित भएको पराजुलीले बताए। 'केही उहाँका शर्तहरु छन्। अहिले भन्न त्यति उपयुक्त हुदैन। त्यसो भएकाले पनि यो समूह वा त्यो समूह भन्ने अवस्था छैन,' उनले भने।

'कित्ता क्लियर गर्नेबेला बार्गेनिङ ठीक होइन'

व्यवहारत: अलग भइसकेको नेकपाले कानुनी मान्यता भने पाएको छैन। मान्यता नपाउदै नेकपाका नेताहरुले आफ्नो कित्ता क्लिएर गरेका छन्। पूर्व केही नेताहरुले समेत ओलीलाई साथ दिएका छन्। गाउँ तहसम्मै कित्ता क्लिएर भइसकेको स्थितिमा अलमलमा भने वामदेव मात्रै रहेको नेपाल निकट नेताहरुको आरोप छ। नेपाल निकट मानिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य गौतमको अभियानको औचित्य नभएको टिप्पणी गर्छन्। 'उहाँको विचारमा ठिकै होला। तर अहिले त प्रतिगामीको पक्षमा कि विपक्षमा उभिने भन्नेबेला भएकाले यसको खासै अर्थ देख्दिन म त,' उनले भनिन्।

उनले गौतमको अभियानलाई बार्गेनिङका रुपमा बुझेकी छन्। अहिले वामदेवले अभियान चलाउनुले कतिपय नेताहरु अझै बार्गेनिङमा रहेको देखिने उनको भनाई छ। 'पार्टीमा विभिन्न खालका मान्छेहरु हुन्छन्। कोही पार्टी नीति सिद्धान्त र त्यागका लागि हुन्छन् भने कोही आफ्नो फाइदाका लागि पनि लागेका हुन्छन्। त्यसले पार्टीलाई त्यति ठुलो असर गर्दैन,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell