काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भइसकेको बताए।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा आफ्ना कार्यक्रम जनताका कार्यक्रम भएको र ओलीको कार्यक्रम प्रतिगमनकारी कार्यक्रम भएको बताए। 'त्यो ठूलो भए पनि के सानो भए पनि के? जब त्यो प्रतिगमन नै भइसकेपछि ठूलो र सानोको के गर्थे?,' उनले अगाडि भने, 'प्रतिक्रान्तिकारी भइ नै सके। केपी ओली कलंकको टीका लाइसके।'
उनले राजाहरुले पनि ढल्ने बेलामा र्याली गर्ने गरेको भन्दै केपी ओलीले गर्ने सभा र र्याली पनि त्यस्तै भएको टिप्पणी गरे।
राजाहरुले पनि आफू ढल्नु भन्दा अगाडि, पञ्चहरुले पनि ढल्नु अगाडि र्याली गर्थे। त्यस्ता र्यालीको केही अर्थ छैन पञ्च र्याली,' उनले अगाडि भने, 'हामी सानो भए पनि ठूलो भए पनि हामी जनताको पक्षमा राष्ट्रको पक्षमा गणतन्त्रको पक्षमा संविधानको पक्षमा भएकोले हाम्रो र्याली चाहिँ जनताको र्याली हो। हाम्रो प्रदर्शन जनताको प्रदर्शन हो।'
उनले हिजो पार्टी गठन गर्दा थोरै भए पनि सही लाइनमा रहेकाले विशाल भएको भन्दै उनले हिजो केशरजंग रायमाझीको अवस्थालाई स्मरण गराए।
प्रचण्ड-माधव नेपाल समूहले आयोजना गरेको प्रदर्शनलाई केपी शर्मा ओलीले होच्याउँदै गल्लीहरुमा मानिस निस्किएको टिप्पणी गरेका थिए।
