दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’मा धनगढीकी रेनु योगी अनुबन्धित भएकी छिन्। उनले यही फिल्मबाट ‘डेब्यू’ गर्न लागेकी हुन्।
फागुन दोस्रो साताबाट ‘फ्लोर’मा जाने सिनेमामा अभिनेता प्रदीप खड्का पहिले नै फाइनल भइसकेका थिए।
निर्देशक राउत भन्छन्, ‘रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले सिनेमामा लिएका हौँ।’
अडिसनमार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई छनोट गरेका थिए।
स्नातक अध्ययन गरेकी रेनु थिएटर आर्टिस्ट हुन्। उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्। उनले हालसम्म १० वटा भन्दाबढी नाटक, सर्ट मुभी र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन्।
जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन्। सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन्।
