काठमाडौं : संसद विघटनको विरोध गर्नेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले देश विरोधीको संज्ञा दिएकोप्रति नेपाली काँग्रेसले आपत्ती प्रकट गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आझ एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति रहेको जनाएका हुन्।
'संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ,' विज्ञप्तिमा भनिएको छ, 'फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हर कोहीको नैसर्गिक अधिकार हो।'
विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक रहेको जनाउँदै त्यसले ओलीमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको उल्लेख छ।
'कुनै पनि रङ र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली काँग्रेस प्रष्ट छ,' विज्ञप्तिमा भनिएको छ।
सर्वोच्च अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको काँग्रेसको आरोप छ।
'सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो। आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो,' विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको काँग्रेसको टिप्पणी छ। आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत ओलीद्ये तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहेको विज्ञप्तिमा भनिएको छ।
'उहाँको यो प्रवृत्ति दुःखद् मात्रै होइन, लज्जास्पद पनि छ। संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली काँग्रेस कडा चेतावनी दिन चाहन्छ,' विज्ञप्तिमा भनिएको छ।
