PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विदेशी खेलाडी भित्र्याएको वालिङ र बलियो विभागीय टोली पुलिस बराबरीमा रोकिए

विदेशी खेलाडी भित्र्याएको वालिङ र बलियो विभागीय टोली पुलिस बराबरीमा रोकिए

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङ र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा वालिङले खेलमा अग्रता बनाएको थियो। वालिङका लागि क्यामरुनी खेलाडी मेथो इलुडी रुथले खेलको ५२ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाइन्। तर, खेलको ६५ औं मिनेटमा पुलिसकी रेखा पौडेलले गोल गर्दै खेल बराबरीमा ल्याइन्। त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा रोकियो। ४ जना क्यामरुनी खेलाडी भित्र्याएको वालिङले खेल अवधिभर नै घरेलु फुटबलमा बलियो मानिने पुलिसमाथि बलियो चुनौती प्रस्तुत गरेको थियो।

त्यस्तै, आजै हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र शसस्त्र प्रहरीको एपीएफ भिड्नेछन्। दुवै टोली उपाधि दाबेदार मानिएका बलिया टोली हुन्।

खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्सकै मैदानमा शुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell