काठमाडौं : वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले वैकल्पिक सरकारको सम्भावना रहेसम्म प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर गरेका छन्। सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमा उपस्थित भएका महतोले निर्वाचन भएन भने के हुने भन्ने प्रश्न उठिरहेको बताउँदै संविधान नै समाप्त हुने चेतावनी दिएका हुन्।
'शेरबहादुर देउवाको विघटनले २०४७ सालको संविधान खायो। यो विघटनले नखाओस्,' उनले भने, 'संविधानको सपथ खाएको इजलासले विचार गरोस्। यो विघटनले संविधानलाई मृत्यु शैय्यामा नलैजाओस्।'
महतोले प्रधानमन्त्रीलाई जन्म दिनसक्ने क्षमता रहेसम्म कसैले संविधान मार्न नसक्ने जिकिर गरे। 'न राष्ट्रपतिले न प्रमले,' उनले भने, 'विघटनको विकल्प नै छैन भन्ने प्रधानमन्त्रीको जवाफ सान्दर्भिक छैन।' महतोले धारा ७६ को आफ्नो व्याख्याबाट इजलासका न्यायाधीशको प्रश्नका जवाफ दिएका थिए।
