PahiloPost

May 15, 2024 | २ जेठ २०८१

धर्नामा बसेका नेविसंघ नेतालाई कांग्रेस शीर्ष नेताबाटै गुटको घोचपेचः 'दिनभरि करायो, निर्णयमा मागै हरायो'



नेत्र तामाङ

धर्नामा बसेका नेविसंघ नेतालाई कांग्रेस शीर्ष नेताबाटै गुटको घोचपेचः 'दिनभरि करायो, निर्णयमा मागै हरायो'

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति सुरु हुनुअघि नै केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ता प्ले कार्डसहित धर्नामा उभिएका थिए। मंगलबार १ बजे केन्द्रीय समिति तोकिएको थियो।

सभापति शेरबहादुर देउवा आइनपुगेकाले केन्द्रीय समिति अनिश्चित बनेको थियो। तैपनि नेताहरु भने फट्टफुट्ट आउने क्रम जारी रह्यो।

आफ्नै संगठन निर्माण गर्न आफ्नै पार्टी कार्यालय कति धाउनु? विधानसम्मत चलायमान नेविसंघ निर्माण हुँदा नेपाली कांग्रेसलाई फाइदा हैन र? ३२ वर्षे प्रावधान कता पुग्यो? महाधिवेशन कहिले? एक वर्षे कार्यकाल नेता गणको दैलोमा? जस्ता प्रश्नसहितको प्लेकार्ड बोकेर पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थी धर्नामा थिए।

उनीहरु कांग्रेस केन्द्रीय सदस्यदेखि शीर्ष नेताहरुलाई प्रश्न पढेर मात्र कार्यालय पस्न आग्रह गर्दै थिए।

यही क्रममा पार्टी नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललगायत नेताहरु आउने क्रम सुरु भयो। विद्यार्थीको आग्रह स्वीकार गर्दै उनीहरु विस्तारै पढ्दै पार्टी कार्यालयभित्र पस्न थाले।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने विद्यार्थीको भनाई पनि ध्यानपूर्वक सुने। नेविसंघका नेता कार्याकर्ताले सक्दो चाँडो नेवसंघको कमिटी पूर्ण बनाउन माग उनीसमक्ष गरे। नसकेमा खारेजै गर्नसमेत उनीहरुको माग रह्यो। यही क्रममा एक नेताले 'देउवालाई पनि ओलीजस्तै हो' भन्न नपरोस् भनी चेतावनी दिए।

'आफ्नो सभापतिलाई पनि त्यसो भन्ने हो त?' केसीले ती विद्यार्थीलाई प्रतिप्रश्न गरे। ती नेता पनि के कम, जवाफ फर्काइ हाले, 'सिंगो केन्द्रीय समितिलाई भन्न नपरोस्।'

त्यसपछि आइपुगे केन्द्रीय सदस्य बलबहादुर केसी। उनले नेविसंघका नेताहरुलाई नेविसंघ छाडेर कांग्रेसमा राजनीति गर्न आए आफूले छाड्ने बताए। त्यसपछि विद्यार्थी नेताहरु एक भएर भने, 'हामी तयार छौँ दाई।'

बलबहादुरले के मान्थे। 'यहाँ भन्छौ। बेलका बेलका वहाँ उ गर्छौं,' धर्नामा बसेका विद्यार्थी नेताहरुमाथि आशंका जनाइहाले। धर्नामा गलल हाँसो गुञ्जियो। केसी भित्र पसे।

केही बेरमै सहमहामन्त्री डा. प्रकाशशरण महत आइपुगे। उनलाई प्लेकार्ड पढ्न आग्रह गरे। तर उनी नपढी देब्रेतिरबाटै लुसुक्क कार्यालय छिरे।

त्यसपछि आइपुगे संगठन विभागका प्रमुखसमेत रहेका गोपालमान श्रेष्ठ। उनले अनुरोध स्वीकार्दै हात जोड्दै भने, 'हामी यहीँ छम भनेर भनम।'

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको आन्दोलनमा चर्चित 'हामी यहाँ छौँ'लाई श्रेष्ठले व्यङ्ग्यात्मक प्रस्तुति दिएका थिए त्यहाँ।

त्यसपछि फेरि गलल हाँसो फैलियो धर्नामा। उनी कार्यालयभित्र हिँडे। त्यहीबेला प्रश्न सोधियो, 'तपाईँ संगठन विभाग प्रमुख, नेविसंघ तरुण दलको कमिटी छिटो गठन गर्नुस्।'

माथिल्लो सिँढी पुगेका श्रेष्ठ फरक्क फर्के, अनि भने, 'नाम देऊ भन न रामचन्द्रजीलाई।' वरिष्ठ नेता रामचन्द्र पौडेलले नाम नदिएकोले संगठनले पूर्णता नपाएकोतिर इंगित थियो उनको भनाइमा।

त्यसपछि विद्यार्थी नेताहरु जोसिए, 'रामचन्द्र दाईले दिनुभएन भने शेरबहादुर दाईले फाउन्डेसन गर्दिनु ल। हामी जिम्मा लिन्छौँ।' यति कुरा नसुन्दै गोपालमान भित्र पसे।

दिउँसो २ बजे बल्ल आइपुगे पार्टी सभापति देउवा। देउवालाई नेविसंघको कमिटी पूर्णताको प्रश्न गर्दै प्लेकार्ड प्रदर्शन गरे। 'बाटो छोड्देउन' सहयोगीको सहयतामा धर्नाको बीचबाटै कार्यालय छिरे देउवा। त्यसपछि 'नेविसंघ विस्तार गर' भन्दै सानेपामा नारा घन्कियो।

दिनभरि करायो, निर्णयमा माग नै हरायो

नेविसंघ दिनभरि कराए पनि कांग्रेसले करिब ४ बजेतिर निर्णय सार्वजनिक भयो। जसमा भनिएको थियो -कांग्रेसका हरेक भ्रातृ संगठनको म्याद ६ महिना थपिने। मागै नसुनी निर्णय आएको गुनासो पोखे नेताहरुले। यसो त कांग्रेसभित्र देउवामात्र हैन उनीइतरका नेताहरुको सहमतिमै यो निर्णय केन्द्रीय समितिले गरेको हो।

नैनसिंह महरको नेतृत्वले महाधिवेशन गर्न नसकेपछि गिजोलिएको नेविसंघको संगठन बेहालको स्थितिमा छ। महरले राजीनामा दिएपछि ६ महिनामा महाधिवेशन सक्न निर्देशन दिँदै कांग्रेसले गत वर्षको माघ १६ गते राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।

यो कार्यसमितिले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि अर्को ६ महिना म्याद थपियो। यो समयमा पनि केही गर्न नसकेको अवस्थामा कांग्रेसले नेविसंघको म्याद आजै थपेको हो। यो ढुंगाना नेतृत्वको तेस्रो कार्यकाल हो। नेविसंघको मात्र हैन सबै भ्रातृ संगठनको अवस्था बेहाल रहेको नेताहरु बताउँछन्। त्यसैले पनि कांग्रेसले आज सबै भ्रातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय गरेको छ।

यसबीचमा नेविसंघमा १० जना पदाधिकारीबाहेक अन्य सदस्यको टुंगो छैन। यसले भविष्यमा पार्टीभित्रको घाउ बढ्दै जाने र क्यान्सरसम्म हुन सक्ने नेता नवराज त्रिपाठी बताउँछन्।

उनी भन्छन्, 'माउ पार्टीले लिडरसिप जाम गरेर राखेको छ। बेलैमा कमिटी बनाए यस्तो हुन्नथ्यो। अब यो घाउ बन्दै जान्छ अनि क्यान्सर हुन बेर छैन।'

थपिएको ६ महिनामा महाधिवेशन हुने टुंगो नभएको उनको भनाई थियो। यसबारेमा अध्यक्ष ढुंगानासँग बुझ्ने प्रयास गर्दा उनी भने सम्पर्कमा आउन चाहेनन्।

तीन चरणको आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले तीन दिने सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। पुस १३ बाट कार्यक्रम सुरु हुनेछ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। तीन दिनको सडक आन्दोलन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

'माघ १९ गते भ्रातृ संगठन, २४ गते शुभेच्छुक संस्था र ३० गते जिल्ला कार्यसमितिको अगुवाइमा ७७ जिल्लामा आन्दोलन हुन्छ,' प्रवक्ता शर्माले भने।

कांग्रेसले पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै कदमविरुद्ध पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रहरुमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा, माघ ३ गते ७५३ पालिकाहरुमा र माघ ८ गते ६,७४३ वडाहरुमा विरोध प्रदर्शन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell