कैलाली : बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहारबाट सिंहको ज्यान गएको हो।
खुँडा प्रहार गर्ने एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। खुँडा प्रहार गर्ने सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने अर्का युवक प्रकाश ऐडी फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा प्रयोग गरिएको खुँडा समेत बरामद गरिएको जनाएको छ। घटनामा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको भन्ने सुन्नमा आएकाले त्यस विषयमा समेत अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।