PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कसले भड्कायो दिल्लीमा दंगा ? खोज्दै प्रहरी



कसले भड्कायो दिल्लीमा दंगा ? खोज्दै प्रहरी
Photo : ANI

भारतको गणतन्त्र दिवसको दिन राजधानी दिल्ली 'रणभूमि' मा परिणत भयो। कृषि कानुनको विरोध गर्दै दिल्ली केन्द्रित आन्दोलन गरिरहेका किसानले लाल किल्ला कब्जा गरे। ट्रयाक्टर लिएर दिल्लीका सडकमा पुगेका किसान र प्रहरीबीच मुठभेड भयो। कयौं किसान र प्रहरी घाइते भए।

नरेन्द्र मोदी सरकारले ल्याएको कानुनको विरोधमा किसान महिनौंदेखि विरोधमा छन्। सिंघु बोर्डरबाट आएका किसानहरुको प्रदर्शन मार्ग निश्चित गरिएको थियो। तर हजारौंको संख्यामा रहेका किसान लाल किल्ला भित्र प्रवेश गरे। गेट तोडेर, पर्खाल नाघेर लाल किल्ला पुगेका केही किसानले धार्मिक झण्डा समेत फहराए।

विश्वभरबाट उक्त घटनाको विरोध भइरहेको छ। लाल किल्लामाथि आक्रमणको कारण खोज्न अहिले प्रहरीले तस्विर र सिसिटिभी फुटेजको सहारा लिइरहेको छ। रेकर्ड भएको भिडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसबीच केही प्रदर्शनकारी पक्राउ समेत परेका छन्। मंगलबार भएको घटनामा संलग्नहरुविरुद्ध हालसम्म २० वटा भन्दा बढी एफआइआर दर्ता भइसकेको छ।  

किसान अगुवाहरुले प्रदर्शनमा घुसपैठ भएको दाबी गरिरहेको छ। पंजाबी अभिनेता दिप सिधुले भिडलाई भड्काएको आरोप उनीहरुले लगाएका छन्। उनी भारतका सत्तारुढ भारतीय जनता पार्टी निकट रहेको दाबी गरिएको छ। भारतीय कांग्रेसले पनि उनको सक्रियतामा प्रश्न उठाएको छ। यस्तै, प्रदर्शनमा सिख फर जस्टिसको समेत घुसपैठ हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीले अहिले दिल्लीबाट किसानहरुलाई सिंघु बोर्डर बाहिर पठाएको छ। दिल्लीको लाल किल्ला लगायतका क्षेत्रमा सुरक्षा बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell