PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कर्णालीका ९ जिल्लामा शुरु भयो खोप अभियान, डोल्पामा केही दिन लाग्ने



पी बी खड्का

कर्णालीका ९ जिल्लामा शुरु भयो खोप अभियान, डोल्पामा केही दिन लाग्ने

सुर्खेत : कोरोना भाइरसविरुद्धको खोप अभियान कर्णालीको डोल्पा बाहेक ९ जिल्लामा शुरु भएको छ। प्रदेश अस्पतालस्थित कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्कालाई पहिलो खोप दिएर यो कार्यक्रम शुरु गरिएको हो। प्रदेशका नौ जिल्लामा बुधवारबाट शुरु भएकोमा डोल्पा जिल्लामा भने अझै केही दिन लाग्ने बताइएको छ।

पहिलो चरण अन्तर्गत कर्णालीमा ११ हजार पाँच सय ८० जनामा खोप लगाइने निर्देशक डा खड्काले जानकारी दिए। पहिलो चरणमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत सरसफाईकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप लगाइने छ।

कर्णालीमा १२ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने छ। जसमा प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिम र मेहलकुना सामुदायिक अस्पताल सुर्खेत र आठ वटा जिल्ला अस्पताल दैलेख, सल्यान, रुकुमपश्चिम, मुगु, कालीकोट, हुम्ला, जाजरकोटगरी १२ वटा अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइने निर्देशक डा खड्का भनाइ छ।

कर्णालीमा पहिलो चरणका लागि २६ हजार डोज आइपुगेको छ। सुर्खेतमा दुई हजार सात सय ८१, दैलेखमा दुई हजार, सल्यानमा एक हजार एक सय २३, रुकुमपश्चिममा पाँच सय, जाजरकोटमा एक हजार एक सय ४५, डोल्पामा पाँच सय ११, जुम्लामा एक हजार सात सय दुई, कालिकोटमा एक हजार २० र हुम्लामा चार सय ५० डोज पहिलो चरणको खोप लगाइने छ।

खोप लगाइसकेपछि स्वास्थ्यमा सामान्य ‘साइड इफेक्ट’ देखापर्ने बताइएको छ। चिकित्सकका अनुसार सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने, वाकवाक लाग्ने जस्ता असर देखिन सक्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell