PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लुम्बिनी प्रदेशमा पनि शुरु भयो कोभिड-१९ विरुद्धको खोप अभियान



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा पनि शुरु भयो कोभिड-१९ विरुद्धको खोप अभियान

  • पूजा पन्थी-

बुटवल : लुम्बिनी प्रदेशमा पनि कोभिड-१९ विरुद्धको खोप अभियान शुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरे। पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाए।

खोप लगाएपछि मेसु खनालले भने, ‘कोरोना खोप सुरक्षित छ। तत्काल पहिलो चरणमा कोरोना विशेष अस्पतालसहित सरकारी अस्पतालमा खटिएका फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शववाहन चालक, एम्बुलेन्स चालक, सरसफाइकर्मी, ७५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ।’

उनले कोरोना भाइरसविरुद्धको खोप तालिम प्राप्त व्यक्तिहरुबाट लगाइरहेको र आवश्यकता अनुसार खोपको डोज उपलब्ध हुने बताए। यो खोप स्वेच्छिक भएकाले फ्रन्टलाइनरका लागि पनि अनिवार्य नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। खोप लगाउनु भन्दा पहिला आधा घण्टा र लगाएपछि आधा घण्टा खोप केन्द्रमै बस्न आग्रह गरिएको छ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा पुष्पराज पौडेलले बताए। त्यसमध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ।
त्यस्तै, बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ। त्यसैगरी, दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मीमा ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज खोप पठाइदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell