विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको विघटनविरूद्ध विराटनगरका प्रबुद्ध नागरिक एकजुट भएका छन्।
वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलका नेतृत्वमा प्रबुद्ध नागरिक अभियान समितिका नाममा विराटनगरको बौद्धिक नागरिक समाज सङ्गठित भएको हो। समितिमा विभिन्न पेशाका १ सय ९ सदस्य छन्।
बुधवार स्थानीय जनआन्दोलन चौकमा खुला पत्रकार सम्मेलन गर्दै समितिका संयोजक प्राध्यापक पोखरेलले समितिले प्रतिनिधिसभाको विघटनका विरूद्ध विचार गोष्ठी, विरोध जुलुस, धर्ना लगायतका कार्यक्रम गर्ने जानकारी दिए।
उनले अहिलेको समयमा सत्य र असत्य, न्याय र अन्याय तथा इमान र बेइमानका बिचमा लडाइँ भइरहेको स्पष्ट पार्दै यस्ता बेलामा पेशाकर्मी बौद्धिक नागरिकहरू चूप लागेर बस्न नसक्ने धारणा प्रकट गरे।
प्राध्यापक पोखरेलले व्यक्ति केपी ओलीले कोठाभित्र बोल्दा जेसुकै बोले पनि प्रधानमन्त्रीका हैसियतबाट बोल्दा होस् पुर्याउनुपर्ने बताए।
उनले प्रधानमन्त्रीले जे बोले पनि चाटुकारले वाह वाह... गरिदिएका कारण प्रधानमन्त्री सस्ता र अभद्र अभिव्यक्ति दिन पल्किएको टिप्पणी गरे।
‘आफ्नै दम्भ र निरङ्कुश प्रवृत्तिका कारण आफ्नै दलभित्रको आन्तरिक मतभेद व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले असंवैधानिक ढङ्गले हठात् प्रतिनिधि सभाको विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका छन्,’ उनले भने, ‘यो कृत्यले मुलुकमा राजनीतिक अन्यौलता, अस्थिरता उत्पन्न भएको छ। जनअभिमतमाथि खेलबाड भएको छ। ओलीले दुई तिहाइका लागि चुनाव भनेका छन्। उनले दुई तिहाइ आउने नदेखेसम्म चुनाव गराउने छैनन्।’
अर्का वक्ता एवम् अर्थशास्त्री प्राध्यापक डाक्टर पीके झाले कामचलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्न नपाउने जिकिर गर्दै ओलीले स्वेच्छाचारी ढङ्गले शासन चलाएको हुँदा मन्त्रिपरिषदको विस्तार गरिरहेको चर्चा गरे।
झाले छिमेकी चिन र भारत विश्वमै ठूला आर्थिक साम्राज्य भइरहेका बेला ओलीले नेपालमा निम्त्याएको अस्थिरताले यहाँ ठूलो आर्थिक उथलपुथल हुने जिकिर गरे।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले जोकर बोल्दैछन् कि प्रधानमन्त्री भनेर संवाददाताहरूलाई छुट्याउन गाह्रो पर्न थालेको उल्लेख गरे।
अध्यक्ष पोखरेलले प्रधानमन्त्री ओलीले पत्रकार, वकिल, न्यायाधीश लगायत आफूसित विमति राख्ने हरेक पेशाकर्मीउपर दुर्वाच्य बोलिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीले आफ्नो भूल स्वीकार गरेर क्षमा याचना गर्नुपर्ने बताए।
