PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

पुलिसलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा



पहिलोपोस्ट

पुलिसलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोडेको थियो। २०४ रनको लक्ष्य पछ्याएको पुलिस १७३ रनमा समेटिएको हो।

ब्याटिङमा एपीएफको सुरुवात खासै सुखद रहन सकेन। ओपनर आशिफ शेख १ रन बनाएर आउट हुँदा अर्का ओपनर १९ र कप्तान सरद भेषवाकर १८ रनमा पभेलियन फर्किए। त्यस्तै सुमित महर्जन १ रन जोड्दै आउट हुँदा धर्मराएको एपीएफको ब्याटिङलाई शंकर राना र सन्दीप जोराले सम्हालेका थिए। उनीहरुले ६४ रनको साझेदारी गर्दै एपीएफको स्कोर उकासेका थिए। जोरा ३४ रन बनाउँदै आउट हुँदा शंकर रानाले ४४ रन जोडे। त्यसपछि भुवन कार्की र कमल ऐरीले एपीएफको स्कोर माथि उठाएका थिए। कार्कीले ४२ र ऐरीले १९ रन जोडे।

बलिङतर्फ १० ओभरमा ३१ रन दिएर ३ विकेट लिएका आरिफ शेख ४५.३ ओभरमा फिल्डिङ गर्दै गर्दा घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको थियो। त्यस्तै दीपेन्द्र सिंह ऐरी र ललीत राजबंशीले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लब १७३ रनमा समेटियो।

पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाउँदा राशिद खानले ३४ र दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे। त्यस्तै अनिल साहले २१ रन जोडे। त्यस्तै चोटका कारण खुट्टा खोच्याउँदै ब्याटिङमा पुगेका ३ बाउन्ड्रीबाट १६ रन जोडे।

पुलिसलाई लक्ष्यसम्म पुग्न नदिन भुवन कार्कीले सर्वाधिक ४ विकेट लिँदा कमल ऐरी, अभिनास बोहोरा र शरद भेषवाकरले समान २/२ विकेट लिए।

जारी प्रतियोगितामा ५ खेल खेलेको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो। उता पुलिस भने प्रतियोगितामा आफ्नो पहिलो खेलमै वाग्मती प्रदेशसँग पराजित भएको थियो। त्यसपछि पुनरागमन गरेको पुलिसले त्यसपछिका तीन खेलमा जित निकाल्दै समूहको उपविजेता बनेको थियो। सेमीफाइनल सम्मको यात्रा गरेको पुलिसले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

एपीएफले फाइनलमा भोलि दोस्रो सेमिफाइनलमा खेल्ने आर्मी र वाग्मती प्रदेशबीचको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell