PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ, बझाङ सदरमुकाममा प्रदर्शन



एम बम

युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ, बझाङ सदरमुकाममा प्रदर्शन

कैलाली : बझाङमा मंगलवार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ परेका छन्। विद्यालय व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा छबिसपाथिभेरा गाउँपालिका-३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको थियो।

प्रहरीले हत्यामा संलग्‍न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको हो। छबिसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडी, प्रकाश ऐडी र केदार ऐडीलाई पक्राउ गरिएको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा-२ का ज्ञानबहादुर कडायतलाई यसअघि नै पक्राउ गरिएको थियो।

छबिसपाथिभेरा गाउँपालिका-३ को बन्‍नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेस निकट उम्मेदवार लोकेन्द्र बोहराले नेपाल कम्युनिस्ट पार्टी निकट उम्मेद्वार गजेन्द्र धामीलाई २८ मतले पराजित गरेका थिए। हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन्।

यस्तै, सिंहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ। घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ र स्थानीयले सदरमुकाम बन्द गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले नेकपाका नेता तथा कार्यकर्ताले सिंहको हत्या गरेको आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell