PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक



फूलमाया पुरी

कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक

काठमाडौं : भारतले अनुदान सहयोग दिएको कोरोना भाइरसविरुद्ध निर्माण भएको 'कोभिशिल्ड भ्याक्सिन' आजबाट लगाउन सुरु गरिएको छ। बुधवार बिहानैबाट देशभर एकसाथ खोप कार्यक्रम सुरु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले पहिलो खोप लगाए।

सरकारले अनुदानमा खोप त पायो। तर त्यसको उपयोग र सुरक्षालाई लिएर पहिलोचरणमा भ्याक्सिन लगाउन छुटयाएको समूह नै अलमलमा थिए। खोप लगाउने कि नलगाउने वा त्यसको साइड इफेक्टका कारण स्वास्थ्यकर्मी नै सशंकित थिए।

संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी पक्कै पनि कोरोनाको उच्च जोखिममा रहेका छन्। त्यसैले सरकारले पहिलोचरणमा स्वास्थ्यकर्मी सहित अग्रपंक्तिमा खटेकाहरुलाई भ्याक्सिन लगाउने निर्णय गर्‍यो। आज स्वास्थ्यकर्मीहरुले नै अघि सरेर भ्याक्सिन सुरक्षित रहेको सन्देश दिएका छन्।

'हामी फ्रन्टलाईनमा खटिने भएकाले हाम्रो माध्यमबाट अन्य कुनैपनि व्यक्ति वा परिवारमा संक्रमण नफैलियोस् भन्ने उद्देश्य हो। त्यसैले पहिलो चरणमा हामीले खोप लगायौं' राजभण्डारीले भने 'यसले खोप सम्बन्धी रहेको द्विविधा हटाएको छ। जनतामा सकारात्मक सन्देश गएको छ'।

कोभिड १९ बाट संक्रमितहरुको उपचारमा प्रत्यक्ष रुपमा खटिँदै आएका उनी 'कोभिशिल्ड' सुरक्षित र प्रभावकारी भएको दाबी गर्छन्। उनी नेपालको सन्दर्भमा 'कोभिशिल्ड' नै उत्तम खोप रहेको बताउँछन्।

 'हालसम्म भएका खोपमध्ये 'यो वान अफ दि वेस्ट' लाग्छ' उनले भने।

राजभण्डारीका अनुसार कोभिशिल्ड औषधि मात्रै होइन, कोरोनाविरुद्ध लड्ने 'सुरक्षा कवच' हो। त्यसैले उनले स्वास्थ्यकर्मीदेखि आम नागरिकले समेत यो भ्याक्सिन सुरक्षित मानेर लगाउन आग्रह गरे। भ्याक्सिनले कोरोनासँग लड्ने क्षमता बढाउने र संक्रमित भइसकेको अवस्था भए साधारण लक्षण मात्र देखा पर्ने र गम्भिर अवस्थामा पुग्नबाट रोक्ने उनी बताउँछन्।  

डा राजभण्डारीको दाबीसँग सहमत छन् सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन।

नयाँ खोपप्रति जनमानसमा आशंका उत्पन्न हुनु स्वभाविक भएको बताउने पुन 'कोभिशिल्ड' नयाँ र अनुमानभन्दा चाँडो प्रयोगमा आएको खोप भएको बताउँछन्। खोपले तीन चरणको परिक्षण चरण पार गरेर आइसकेको हुँदा सुरक्षित र प्रभावकारी भएको मानिँदै आएको उनले बताए।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट जतिपनि मृत्यु भएका छन् आगामी दिनमा अपवाद बाहेक थप मृत्यु हुनबाट यस खोपले रोक्ने उनको विश्वास छ।

'कोरोना संक्रमणका कारण मृत्यु हुनबाट रोक्ने सम्भावनालाई यस खोपले प्रमाणित गरेको छ' उनले भने 'त्यसैले यो खोप कोरोना विरुद्धको महा लडाइँको पहिलो पाइला हो'।

पुनले आजै कोभिशिल्ड लगाएका छन्। यो खोपले संक्रमणको सम्भावना ७० प्रतिशत रोक्ने र यदि संक्रमित भए जटिल अवस्थामा पुग्न रोक्नेमा सहमति जनाउँछन्।

आजबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइएको छ।

सूचीकृत अनुसार पहिलोचरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले रहेका छन्।

सोही अनुसार पहिलो चरणमा खोप लगाउन पुगेका स्वास्थ्यकर्मीहरु कोरोना भाइरसविरुद्द लड्नका लागि 'कोभिशिल्ड' सुरक्षित र प्रभावकारी भएको बताएका हुन्।

खोप लगाइसकेपछि कहिलेसम्म ढुक्क हुने ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाका अनुसार  खोप लगाइसकेपछि कहिलेसम्म ढुक्क हुने भन्ने पक्षबारे थप अनुसन्धानले मात्रै पुष्टि हुनेछ। कहिलेसम्म खोपले सुरक्षित राख्न सक्छ भन्ने यकिन अहिलेसम्म भएको छैन। तर अहिलेको परिस्थितिमा कोरोनाविरुद्धको लडाइँमा यो खोप नै उत्तम उपाय भएको उनको तर्क छ।

बुधवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालस्थित खोप केन्द्रमा खोप लगाएकी उनी खोपलाई लिएर जनमानसमा एक किसिमको डर रहेको स्वीकार्छिन्। तर, खोप सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि स्वास्थ्यकर्मीले पहिलो चरणमा खोप लगाएको उनको दाबी छ।

'कोभिडको खोप पो नयाँ हो, यस अघि पनि हामीले अन्य रोगसम्बन्धी खोप लगाएका छौं। ती खोपबाट ज्वरो आउने, शरीर सुनिने जस्ता केहि सामान्य असर देखा पर्ने नै हो। त्यो सामान्य प्रक्रिया नै हो। डराउनुपर्दैन' उनले भनिन्।

नेपाल एपीएफ अस्पतालका चिकित्सक डा.प्रविन नेपाल कोभिशिल्डको गाइडलाइनले तोकेअनुसार खोप लगाउने काम सुरु भएको बताउँछन्। आज खोप लगाएका उनी खोपका कारण कसैकसैमा ज्वरो आउने, खोप लगाएको भागमा सुनिने सक्ने सम्भावना रहने बताउँछन्। तर यसलाई उनी सामान्य प्रक्रिया नै भन्छन्।

खोपलाई लिएर रहेको द्विविधालाई चिर्न नै पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरुलाई प्रयोग गरेको उनी बताउँछन्। 'सरकारले कति जनमानसमा यस भ्याक्सिनको पहुँच पुर्‍याउन सकिन्छ भन्ने फरक पाटो हो तर, यस खोपप्रति ७० प्रतिशत सुरक्षित महसुस गर्न सकिन्छ' उनले भने।

आजबाट प्रयोगमा ल्याइएको खोपको प्रयोगबाट केहि व्यक्तिको शरिरमा उच्च रक्तचाप भएको महसुस हुने, असहजता पैदा गर्न सक्ने डा राजभण्डारी बताउँछन्। कसैमा गम्भिर असर देखिए तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्ने उनको सुझाव छ।

आज खोप लगाएकाहरुले चार हप्तापछि अनिवार्य रुपमा कोभिशिल्डको दोस्रो डोज लगाउनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell