PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रतिनिधिसभा विघटनको विरोधमा भोलि बुटवलमा प्रचण्ड-नेपाल पक्षले जनसभा गर्ने, तयारी पूरा



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटनको विरोधमा भोलि बुटवलमा प्रचण्ड-नेपाल पक्षले जनसभा गर्ने, तयारी पूरा
सभा हुने स्थानको अवलोकन गर्दै पूर्व मन्त्री एवं नेकपा नेता घनश्याम भुसाल।

  • पूजा पन्थी-

बुटवल : प्रतिनिधिसभा विघटनको विरोध तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बुटवलमा माघ १५ गते विशाल सभाको आयोजना गर्दैछ। सो कार्यक्रमको तयारी पूरा भएको पार्टीले जनाएको छ। 

लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा गर्ने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। प्रादेशिक अस्पतालले हालै खाली गराएको जग्गामा कार्यक्रम गरिने जनाइएको छ। सभा अगाडि चारैतिरबाट जुलुस निकाल्ने कार्यक्रम तय भएको छ।

सभालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा आन्दोलन परिचालन समिति बनाइएको छ। कार्यक्रमलाई सफल बनाउन स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, वर्षमान पुनलगायतका नेताहरू रूपन्देहीमै बसेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठोरले कुनै किसिमको द्वन्द्व हुन नदिनको लागि आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताए। उनले कार्यक्रमलाई नै केन्द्रित गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपीको नेतृत्वमा कार्यक्रम स्थल नजिकै करिब २ सय प्रहरी परिचालन गरिने बताए।

बुटवलको पुष्पलाल पार्कमा हुने जनसभालाई सफल पार्न बुटवलको गोलपार्क, जितगढी र  राजमार्ग चौराहाबाट बिहान ११:४५ बजेदेखि विरोध र्‍याली शुरु हुने जनाइएको छ। पाल्पा र बुटवलबाट सहभागी हुनेहरु बुटवलको गोलपार्कमा जम्मा हुने र जुलुसको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने भएका छन्।

त्यसैगरी, पश्चिम परासी, देवदह, ओमसतिया, रोहिणी, तिलोत्तमा र भैरहवा क्षेत्रका व्यक्तिहरु राजमार्ग चौराहामा जम्मा हुने र जुलुसको नेतृत्व पार्टी स्थायी कमिटीका सदस्य घनश्याम भुसाल, घनश्याम यादव, नारायण जिसीले गर्ने भएका छन्।

बुटवल पश्चिम कपिलवस्तु, अर्घाखाँची, दाङ र तिनाउ पश्चिमका सहभागीहरु बुटवलको जितगढीमा जम्मा भई सोको नेतृत्व स्थायी कमिटीका सदस्य बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने भएका छन्।

जनसभालाई सफल पार्न आम जनसमुदाय, पत्रकार, बुद्धिजीवी, वकिल, समाजसेवीलाई उपस्थित हुन संघर्ष समितिका संयोजक ठाकुर गैरेले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell