PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पहिला इन्ज्युरी, अनि ब्याटिङमा बाउन्ड्री : फाइदा खेललाई की खेलाडीलाई?

पहिला इन्ज्युरी, अनि ब्याटिङमा बाउन्ड्री : फाइदा खेललाई की खेलाडीलाई?

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत बुधवार सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीचको खेल सम्पन्न भयो। जसमा एपीएफले पुलिसमाथि ३० रनको जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो।

बुधवारको खेलमा दुई खेलाडी घाइते भए। पहिलो पुलिसका आरिफ शेख र दोस्रो एपीएफका भुवन कार्की। दुवै खेलाडीले खेलमा अलराउण्ड प्रदर्शन गरे बावजुत चोटको।

पुलिसका लागि उत्कृष्ट प्रदर्शन गरेका आरिफले १० ओभरमा ३१ रन दिएर ३ विकेट लिए। तर, उनी ४५.३ ओभरमा फिल्डिङ गर्दै गर्दा घाइते भएका थिए। यतिसम्म कि उनी फिल्ड छाडेर त्यो पारीमा बाहिरै रहे। उनी उभिन सकिरहेका थिएनन्। न त हिड्न नै। यता खेलको दोस्रो पारीमा पुलिस निकै पछि परिसकेको थियो। उनी नवौँ नम्बरमा आएर ब्याटिङ गरे। ब्याटिङ गर्दै गर्दा उनी खुट्टा खोच्याइरहेका थिए। दौडिएर रन लिन कठिन महसुस गरिरहेका उनले तीन बाउन्ड्री प्रहार गर्दै १६ रन जोडे।

त्यस्तै अवस्था रह्यो एपीएफका भुवन कार्कीको पनि। कमल ऐरीसँग मिलेर एपीएफको स्कोर उकासेका कार्कीले ४२ रनको योगदान दिए। फिल्डिङका क्रममा उनी असहज देखिन्थे। बीचमा एकपटक त उनी मैदानमा लड्न नै पुगे। यद्यपि खेलमा फेरि फर्कँदै उनले उत्कृष्ट बलिङ गर्दै म्यान अफ द म्याच बन्न पुगे।

‘इन्ज्युरी चाही ह्यामस्ट्रिङ हो। खुट्टा फर्किएको। आशा गरौ दुई दिन भित्र सञ्चो हुन्छ होला,’ कार्कीले भने, ‘बलर पनि हामीसँग कम थियो। महत्वपूर्ण समय थियो। त्यही भएर फेरि फर्किँए।’

अर्का इन्ज्युरी पछि आएका आरिफलाई पनि उनले बलिङ गरेका थिए। आरिफको पुनरागमन बारे उनले भने : त्यो एप्रोच देखाउनु भनेको एकदमै ठूलो कुरा हो। आफूले नसक्दा नसक्दै पनि टिमका लागि जिताउनु पर्छ भन्ने भावना मन पर्‍यो।

चोटबारे

नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो विक्रम न्यौपाने दुवै खेलाडी घाइते हुँदा मैदानमै थिए। दुवै खेलाडीलाई उनले सपोर्ट गरिरहेका थिए। न्यौपाने दुवै खेलाडीको चोट ल्याण्डिङका क्रममा भएको बताउँछन्।

‘आरिफ र भुवन दुवैको ल्याण्डिङको समस्या हो। इन्ज्युरी भन्ने कुरा अगाडि नै थाहा हुने विषय पनि होइन’, उनले भने, ‘एक्कासी मोमेन्ट फेर्दा ल्याण्डिङका क्रममा आरिफको पनि टेकिएर र लिगामेन्ट गयो। आवाजै आयो। भुवनले पनि यसो घुमेर बल क्याच गर्न खोज्दा मसल सड्किएको हो। आरिफको चाहिँ लिगामेन्ट अलि बढि तन्किएको हो। र, थोरै इन्ज्युरी भएको हो।’

 

इन्जुरीमा मैदान !

खेलाडीका लागि सबैभन्दा ठूलो चुनौती चोट हो। नेपाली क्रिकेटकै कुरा गर्ने हो भने पनि कति यस्ता खेलाडीहरु छन् जो चोटकै कारण मैदानबाट टाढिन बाध्य भए। यस्तोमा एपीएफका कप्तान शरद भेषवाकर इन्ज्युरीका बीचमा खेल्नुलाई दुईवटा दृष्टीकोणबाट हेर्नुपर्ने बताउँछन्।

‘यसलाई दुई तिरबाट हेर्न सकिन्छ। एउटा उसको एउटा अझै लामो करियर छ। त्यसलाई पनि सोच्नु पर्थ्यो। अर्को गेम पनि आउँदै छ राष्ट्रिय टिमको त्यो अझ महत्वपूर्ण हुन सक्छ’, भेषवाकरले भने, ‘अर्कोतर्फ उसले टिमका लागि एउटा एफोर्ट देखायो। त्यो तारिफ योग्य छ।’

फिजियो न्यौपाने चिसोका कारण पनि बढि चोटहरु देखा पर्ने बताउँछन्।

‘पहिलो कुरा त चिसो छ। चिसोमा बढी इन्ज्युरी हुन्छ। चिसोमा शरीरमा पानीको मात्रा पनि कम हुने हुँदा समस्या हुन्छ’, उनी भन्छन्।

त्यस्तै, आरिफको केसमा लामो खेलमा १० ओभर बलिङ गरिसकेको अवस्थामा प्रेसर र त्यसमा पनि फिल्डिङका क्रममा फास्ट मुभमेन्ट गर्नुपरेकाले चोट आएको हुनसक्ने उनी अनुमान लगाउँछन्। यद्यपि चोटपछि भने ब्याटिङमा सकभर नजान आफूले सुझाब दिएको उनले बताए।

‘मैले कुरा गरेको थिएँ। पहिलो कन्सर्न त खेलाडी नै हो। मैले चाहिँ नखेल्दा राम्रो भनेर सुझाव दिएको थिएँ’, फिजियो डा न्यौपानेले भने, ‘किनभने अझै खेल्नु छ। आज मात्र होइन। खेलाडीले आफ्नो कन्सर्नमा खेल्न त सक्छ। राष्ट्रिय प्रतियोगिता हो। नेसनल क्याम्पमा भएको भए त म खेल्न दिने थिइनँ। अब विभागबाट खेलेको हुँदा मेरो क्षेत्र भित्र परेन। खेलाडीले आफूले छान्ने कुरा हो।’



ट्रेन्डिङ पोस्ट

Ncell