PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सम्पत्ति दिनुपर्ने भएपछि छोराको योजनाबद्ध हत्या, कान्छो बुबासहित ६ जना पक्राउ



पहिलोपोस्ट

सम्पत्ति दिनुपर्ने भएपछि छोराको योजनाबद्ध हत्या, कान्छो बुबासहित ६ जना पक्राउ

  • पूजा पन्थी-

बुटवल : सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ। रुपन्देहीको सिमारी गाँउपालिका-२ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ।

यादवको शव २०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाउँपालिका-७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला परेको थियो। घटनाबारे जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले यादवको आफ्नै परिवारका सदस्यले योजनाबद्ध तरिकाले हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलका अनुसार ३४ वर्षीय यादवलाई सम्पत्ति दिनु पर्ने भएपछि २५ लाख रुपैयाँ दिने सर्तमा आफ्नै कान्छो बुबा लगायतका परिवारका सदस्यहरुको सहमतिमा हत्या गरेको खुल्न आएका हो।

यादवलाई मदिरा खुवाउने निउमा मदिरामा स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस गराएको र हत्या गरी आगो लगाएको प्रहरी प्रमुख पोखरेलको भनाइ छ।

मृतक यादवका बुवा रामशुभग यादवको ३२ वर्ष अगाडि सर्पले टोकेर मृत्यु भएको तथा मृत्युपछि आफ्नी आमाले कान्छो बुवा (काका) रामवेलास यादवसँग विवाह गरी बसेकी थिइन्। उनी १५/१६ वर्षको उमेरमा भारतको मुम्बई गएको र झण्डै १५ वर्ष त्यही बसेको प्रहरी जनाएको छ।

नेपाल आएपछि अंश माग्न लागेपछि उनीमाथि हत्याको योजना बनेको र उक्त कुरा थाहा पाएपछि मृतक यादव घरपरिवारबाट छुटेर डेरामा बस्दै आएका थिए। परिवारसंग अंश माग्दा सहजै अंश नपाएपछि उनले जिल्ला अदालत रुपन्देहीमा २०७६ मा अंश मुद्दा हालेका थिए। उनले हालेका मुद्दामा जिल्ला अदालतले तीन कित्ता वापत २९ कठ्ठा जग्गा पाउने गरी मिलापत्र गराएको थियो। उनले पाउने जग्गालाई कसै गरी नदिने योजना अनुसार परिवारकै सहमतिमा उनको योजनाबद्ध हत्या भएको प्रहरीको निष्कर्ष छ।

प्रहरीले घटनामा संलग्न भएका मृतक यादवका कान्छो बुबा रामवेलास यादव, मुख्य योजनाकार बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, कवुल लिने सन्तकुमार यादव, सहयोगी राकेश यादव, अफताव मुसलवानलाई पक्राउ गरेको छ। घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भन्ने इन्द्रजित यादव र मुख्य व्यक्ति सोनु मुराउ फरार रहेको प्रहरीको भनाइ छ।

उनका कान्छो बुबाले उनलाई मार्नका लागि २५ लाख रकम वा १ कठ्ठा जग्गा दिने कबुल गरेको बुझिएको छ। यादवको हत्याका लागि बुद्धिराम कोहारले एकपटक बीस हजार र अर्को पटक ५० हजार राम बेलाससँग लिएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell