PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश १ मा साढे ३५ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने



पहिलोपोस्ट

प्रदेश १ मा साढे ३५ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने

काठमाडौं : प्रदेश १ मा ३५ हजार ५७६ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ। बुधवारदेखि लगाउन शुरु गरिएको खोप पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ जनालाई लगाइने भएको हो।

आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिडविरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताए। लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाइने उनले बताए। जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको उनले दावी गरे।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास र बरिष्ठ फिजिसियन डा दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा कार्यक्रमको शुरुवात गरिएको थियो। आज ८ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

मन्त्री कार्कीका अनुसार पहिलो चरणमा झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ। मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३/३ र अन्य जिल्लामा १/१ खोप केन्द्र निर्धारण गरिएको छ। खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमा आज कार्यक्रम शुरु भएको हो। बिहिवार ४ र शुक्रवार २ जिल्लामा खोप कार्यक्रम सञ्चालन हुने बस्नेतले बताए।

कोभिडविरुद्धको खोप सुरक्षित रहेकाले डराउनु नपर्ने कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा दीपक सिग्देलको भनाइ छ। उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताए। पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहन सकिने पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell