PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

स्वस्थानी व्रत आजदेखि शुरु : स्नान तथा पूजापाठको लागि रातिदेखि नै शालीनदीमा व्रतालुहरुको चहलपहल

स्वस्थानी व्रत आजदेखि शुरु : स्नान तथा पूजापाठको लागि रातिदेखि नै शालीनदीमा व्रतालुहरुको चहलपहल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : एक महिनासम्म चल्ने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्ने गरिन्छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

स्वस्थानी व्रतको अवसरमा यसवर्ष पनि शालीनदीमा स्नान गर्न भक्तजनहरु उपस्थित भएका छन्। पहिला वर्षहरुमा १०० भन्दा बढी व्रतालुहरु हुने गर्थे भने यसपाली कोरोना संक्रमणका कारण व्रतालुको संख्या घटाइएको छ। यसपटक ५१ जना व्रतालु र १ जान धलंमचा रहेका छन्। सबै जनालाई बस्न साँखुमा छुट्टै घरको व्यवस्था गरिएको छ।

उनीहरूको सुरक्षाको लागि स्वयंसेवकहरु पनि परिचालन गरिनेछ। पहिला व्रतालुहरुको घर बाटै सहयोगी आउने गरेकोमा यसपटक स्वयंसेवकहरुले नै सहयोग गर्ने छन्। आवश्यक परेको अवस्थामा मेला व्यवस्थापन समितिले परिवारलाई सम्पर्क गर्नेछन्।

व्रत बस्ने सबैको तथा स्वयंसेवकको १२ गते कोरोना र निमोनिया परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको छ। कोरोनाका कारण सकेसम्म सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको छ। स्नानको लागि आउने सबैलाई स्वागत गर्ने र सकेसम्म भिड नगर्न आग्रह गरिएको छ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई अनि मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।

सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।



ट्रेन्डिङ पोस्ट

Ncell