PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेकपाको ओली र प्रचण्डका ५/५ नेतालाई निर्वाचन आयोगले डाक्यो, चुनावी तयारीबारे छलफल हुँदै



प्रकाश भण्डारी

नेकपाको ओली र प्रचण्डका ५/५ नेतालाई निर्वाचन आयोगले डाक्यो, चुनावी तयारीबारे छलफल हुँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको विभाजन सम्बन्धीको विवाद र संसद विघटनको मुद्दा अदालतमा बिचाराधीन रहे पनि निर्वाचन आयोगले चुनाव सम्बन्धि गतिविधि भने अघि बढाएको छ। मतदाता नामावली अद्यावधिक, मतदान स्थलको अवस्था लगायतका विषयमा आयोगले अनुगमन थालेको छ। साथै, आयोगले राजनीतिक दलसँग पनि छलफल अगाडि बढाएको छ।

चुनाव सम्बन्धी छलफलका लागि आयोगले नेकपाका दुवै समूहलाई शुक्रवार आयोगमा बोलाएको छ। बिहान ११ बजेका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड वा उनीहरुले तोकेका ५/ ५ जना प्रतिनिधिलाई बोलाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

'नेकपाका दुवै अध्यक्ष वा उनीहरुले तोकेका ५/५ जनालाई दलगत छलफलका लागि बोलाएका छौं,' उनले भने।

चुनावको तयारीका विषयमा दलगत छलफलका लागि निर्वाचन आयोगले बोलाएको हो। अहिलेसम्म निर्वाचन आयोगले चुनावका लागि गरेका क्रियाकलापबारे पनि छलफल हुने श्रेष्ठले बताए। नेकपाको विवादबारे भने कुनै छलफल नहुने उनको दाबी छ।

निर्वाचन आयोगले बोलाएको छलफलमा आफ्नो समूहले सहभागिता जनाउने नेकपा प्रचण्ड-माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए। उनले छलफलमा भाग लिए पनि निर्वाचन आयोगले चुनावको लागि सुरु गरेका गतिविधिप्रति आपत्ति रहने बताए।

'हामी भाग लिन्छौं। तर, हामीलाई बाहिरै राखेर चुनाव कसरी हुन्छ? भनेर प्रश्न गर्छौ,' उनले भने।

संसद विघटनको मुद्दा अदालतमा बहसका क्रममा रहेको र पार्टी विवाद समेत निरुपण नभएकाले निर्वाचन आयोगले चुनावका गतिविधि अघि बढाउन नहुने पोखरेलले बताए।

यसअघि बोलाएको छलफलमा पनि प्रचण्ड-नेपाल समूहले चुनावका गतिविधि रोक्न आयोगलाई आग्रह गरेको थियो। तर, नेकपाकै ओली समूहले चुनावका गतिविधि द्रुत गतिमा अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिरहेको छ। प्रचण्ड-नेपाल समूहले गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गर्दै सरकारले चुनावको मिति तोकेकाले चुनावको तयारी गर्न आफ्नो दायित्व भएको जवाफ फर्काएको थियो।

आयोगको छलफलमा अन्य दललाई भने डाकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell