काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकामा माथि सानदार जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङले १०-० को रवाफिलो जित निकालेको हो।

वालिङको जितमा क्यामरुनी खेलाडी मेथो इलुडी रुथले दोहोरो ह्याट्रिक गरिन्। उनले १२ मिनेटको अवधिमै ह्याट्रिक पुरा गरेकी थिइन्। त्यस्तै दोस्रो हाफमा पनि उनले ह्याट्रिक गर्दा वालिङले प्रतियोगितामा पहिलो जित निकाल्यो। त्यस्तै वालिङका लागि सम्झना शर्माले दुई गोल गर्दा मनामाया दमाइ र हर्की क्यामरुनी खेलाडी टोउटा ओरलेल्ला इभानिकले समान १/१ गोल गरे।
खेलको सातौ, नवौं र उन्नाइसौँ मिनेटमा गोल गर्दै रुथले ह्याट्रिक पुरा गरेकी थिइन्। त्यस्तै ३३ औं मिनेटमा मनमायाले गोल गर्दा पहिलो हाफमा वालिङ ४ गोलले अगाडि रह्यो। दोस्रो हाफमा इभानिकले गोल थपिन्। उनले ४९ औं मिनेटमा गोल गर्दा रुथले ६३ औं र ७१ औं मिनेटमा गोल गरिन्। त्यस्तै ८० मिनेटमा गोल थपेकी शर्माले त्यसको दुई मिनेट भित्रै अर्को गोल गरिन्। त्यस्तै अतिरिक्त समयमा रुथले गोल गर्दै दोस्रो ह्याट्रिक पुरा गरिन्।

जितसँगै वालिङ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डगढी भने प्रतियोगितामा जितबिहिन छ।
