PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या गर्ने भक्तपुरबाट समातिए, गाँजाको विषयमा विवाद हुँदा मारेको बयान



पहिलोपोस्ट

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या गर्ने भक्तपुरबाट समातिए, गाँजाको विषयमा विवाद हुँदा मारेको बयान

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले बाँके नेपालगंज उप-महानगरपालिका वडा नम्बर ६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिएको हो। परियारलाई आज भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा लुकेर बसेको अवस्था फेला पारेको व्यूरोका एसपी गंगा पन्तले जानकारी दिइन्।

गाँजाको विषयमा विवाद हुँदा हत्या गरेको युवकले प्रारम्भिक बयान दिएका छन्।

'गाँजाको विषयमा विवाद भएको देखिन्छ। त्यसैबाट हत्यासम्म भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,' एक प्रहरी अधिकृतले भने।

माघ २ गते  नेपालगंज उप-महानगरपालिका वडा नम्बर १८ बस्ने राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापा मगरको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। टाउको र अनुहारमा चोट लागेको अवस्थामा उनको शव फेला पारेको थियो।

उनी  राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय, बाँके नेपालगंजमा कार्यरत थिए। पक्राउ परेका युवकलाई आवश्यक कानूनी कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell