PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्डको नजरमा ओली सामन्ती एजेन्ट, भने : चुट्कीकै भरमै समाप्त हुनेछन्



पहिलोपोस्ट

प्रचण्डको नजरमा ओली सामन्ती एजेन्ट, भने : चुट्कीकै भरमै समाप्त हुनेछन्
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई सामन्ती तथा निरंकुशताको एजेन्ट भएको आरोप लगाएका छन्।

बुटवलमा आयोजित नेकपाको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री समेत रहेका ओली अबको केही महिनामै धराशायी हुने दावी गरे। आफ्नो आन्दोलन ओलीबिरुद्ध मात्रै नभइ गलत विचारको बिरुद्ध भएको उनको तर्क थियो।

'तपाईँलाई के नलागोस् भने केपी ओली भन्ने एक जनाको बिरुद्ध विरोध गर्न कार्यक्रम आयोजना गरिएको भन्ने। गलत विचार र मान्यताका विरुद्ध, न्याय र सत्यको पक्षमा लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका छौं,' उनले भने।

ओली श्री ३ महाराज हुन खोजेको प्रचण्डको आरोप थियो।

संविधानसभाबाट संविधान बनिसकेपछि स्थायित्वका लागि वाम गठबन्धन र पार्टी एकीकरण गरिएको भए पनि ओलीले कुठाराघात गरेको प्रचण्डको आरोप थियो। ओलीले स्थायित्वको उक्त सहमति तोडेको उनले आरोप लगाए।

'पार्टी एकताका बेला भएका सहमति ओलीले तोड्ने काम गरे। पार्टीको घोषणापत्रमा महँगी नियन्त्रण गर्ने, समानता र सम्मान दिने भनेका थियौं। महिलालाई समानुपातिक र समावेशी मान्यता अनुसार अवसर र सम्मान दिने छौं भनेका थियौं,' प्रचण्डले भने।

समाजवाद निर्माणका लागि जीवन अर्पण गरेको प्रचण्डको दाबी छ। त्यसका लागि आफ्नो परिवारले नै त्याग गरेको उनले बताए।

'जनयुद्धको नेतृत्व गर्दा होस् चाहे शान्ति प्रक्रियाको या अरु बेला। बाँकी जीवन समाजवादका निम्ति समर्पण गरिने छ, मैले भनेको थिएँ। मेरो आफ्नै परिवारभित्र छोरा छोरीको बलिदानी पनि त्यहीँ अनुसारले भयो,' उनले भने।

आफैँले बनाएको प्रधानमन्त्री सामान्ती र निरंकुश एजेन्टका रुपमा देखा परेको प्रचण्डको गुनासो थियो।

'आफैँले बनाएको प्रधानमन्त्री समान्ती, निरंकुशताको एजेन्टका रुपमा देखा परे,' ओलीले आफ्नो भावनामा खेलेर पार्टी फुटाएको आरोप लगाउँदै भने,'हिजोमात्रै वामदेवले भन्नुभएछ। प्रचण्डको भावुकताले गर्दा ओलीले पार्टी फुटाए भन्नु भएछ। उहाँलाई धन्यवाद।'

ओलीले श्री ३ महाराजधिराज बन्ने सपना देखेको आरोप लगाएका प्रचण्डले चुटकीको भरमा ओलीको निरंकुशता समाप्त हुने दाबी गरे।

'केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ। केही महिनाभित्र केपी ओलीको स्वेच्छाचारिता सकिने छ,' प्रचण्डले भने।

अदालतले संसद पुनस्थापना गर्नेमा ढुक्क रहेको प्रचण्डको भनाई थियो। तर, जनताको अदालत सबभन्दा ठूलो अदालत भएको तर्क गर्दै केही महिनाभित्रै नयाँ सरकार लिएर आउने र दुई वर्ष भित्र नयाँ नेपालको जग बसाल्ने प्रचण्डले बताए। 

'केही महिनाभित्रै नयाँ सरकार लिएर आउनेछौं। दुई वर्षभित्र नयाँ नेपालको जग बसाल्ने छौं। तपाइहरु ढुक्क हुनुहोला,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell