PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड र माधव नेपालको शब्द वाण : आन्दोलनमा आउने होइन लतारिने बानी भएका नेता

प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड र माधव नेपालको शब्द वाण : आन्दोलनमा आउने होइन लतारिने बानी भएका नेता

पहिलोपोस्ट /पहिलोपोस्ट


  • पूजा पन्थी -

बुटवल : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुटवलमा भव्य प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताको सम्बोधनमा सहभागी हुन लागि उल्लेख्य संख्यामा मानिसहरु उपस्थित थिए।  विभाजित अवस्थामा पुगेको नेकपाका दुई अध्यक्षले अन्य सभामा जस्तै आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्तिको वर्षा नै गरे।

कुनै पनि आन्दोलनमा सहभागी नभइ पद हत्याउने नेताका रुपमा माधवकुमार नेपालले ओलीको चित्रण गरेका थिए आजको सभामा। कुनै पनि आन्दोलनमा अगाडि नसरी पछिपछि बसेर पदमा पुग्ने नेता भनेका थिए नेपालले ओलीलाई। 

प्रतिनिधिसभा विघटनको विरोध तथा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै चरणबद्ध आन्दोलनको क्रममा बुटवलमा बिहीवार आयोजित विशाल सभालाई सम्बोधन गर्दे उनले गणतन्त्रको पक्षको आन्दोलन, राजतन्त्र विरोधी आन्दोलन, प्रतिगमन विरुद्धको आन्दोलनमा ओली सहभागी नभएको प्रसंग उठाए। 'ओलीले राजतन्त्र फालिँदैन भन्दै भविष्यवाणी गरे पनि त्यो फालिएको र अहिलेको निर्वाचनको विषयमा पनि ओली गलत सावित हुने' नेपालको दावी थियो।  

उनले केपी ओलीसँग जनताको भावलाई बुझ्ने खालको विवेक नै नभएको आक्षेप पनि लगाए।  ‘जनताको चाहना बुझ्नु भएन, समयको गति बुझ्नसक्नु भएन। उहाँ समयको पछिपछि लतारिने मान्छे हो। समयलाई अगुवाई गर्ने क्षमता ओलीमा छैन्। यो हामीले अनुभवबाट थाहा पाएका छौं,’ नेता नेपालले भने।

ओलीको प्रवृत्ति जहिले पनि पछाडि बसेर अरुको बद्ख्वाई गर्ने रहेको बताउँदै अध्यक्ष नेपालले आफूहरुले ओलीलाई हात छोपेर सँगै लैजान खोजे पनि खुट्टा तानेको आरोप लगाए। 

‘ओलीजीले मेरो खुट्टा तन्यो भन्नुहन्छ। हामी उहाँको हात छोपेर अगाडि बढाउन चाहान्छौँ, उहाँ थचक्क बस्नुहुन्छ । उहाँ अगाडि बढ्न चाहनुहुन्न,’ नेपालले भने।

श्री ३ हुन खोजे : प्रचण्ड 
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले श्री ३ हुन चाहेका बताए। बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले बुद्धले जन्म र मुक्ति पाएको क्षेत्रले श्री ३ महाराजधिराज बन्न खोज्ने जो कोहीलाई पनि धराशायी बनाउने दाबी गरे। उनले जनताको मतले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने उद्घोष समेत गरेका थिए। 

ओलीलाई आफैँले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको बताए। प्रचण्डले ओलीको निरंकुशता केही महिनामात्र टिक्ने दावी समेत गरेका थिए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताए।

‘ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुने छ, केही महिनाभित्र,’ प्रचण्डले भने, ‘संसद पुनर्स्थापना हुन्छ। अदालतप्रति विश्वास छ। तर सबभन्दा ठूलो अदालत जनता हो।’

ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डको आरोप थियो। दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने उनले बताएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell