PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘एलपीएल’ फागुन १५ देखि सञ्चालन हुने



पहिलोपोस्ट

धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘एलपीएल’ फागुन १५ देखि सञ्चालन हुने

कैलाली : विगत ५ वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको आगामी संस्करण फागुन १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ। कोरोना महामारीले झन्डै एक वर्षसम्म प्रभावित बनेको शिक्षासँगै विद्यालय स्तरको खेललाई पुनः शुरु गर्न सो लिगको आयोजना गर्न लागिएको हो।

आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको ७० प्रतिशत तयारी सम्पन्न भएको जनाएको छ। इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले महामारीले थिलथिलो बनेको शिक्षासँगै विद्यालय स्तरको खेल क्षेत्र र खेलाडीहरूलाई फेरि पुरानै लयमा फर्काउन सरकारी तथा निजी क्षेत्रले अहिले अहम् भूमिका खेल्नुपर्ने देखिएकाले आर्थिक सङ्कटकै बीचबाट पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको बताए।

‘महामारीले विद्यालय तथा व्यापार व्यवसाय ठप्प बनेको छ। सँगसँगै खेल क्षेत्र पनि ठप्प भयो’, उनले भने, ‘अब हामी निजी स्तरबाट खेल क्षेत्रको उत्थानमा लागिपरेकाहरूले यो क्षेत्रसँगै खेलाडीको करियरका विषयमा समेत सोच्नुपर्ने समय हो यो। त्यसैले आर्थिक चपेटाकै बीचमा पनि जोखिम मोलेका छौँ। पुरस्कार राशी घटाएर भए पनि खेलाडीलाई खेल क्षेत्रमा फर्काउनुपर्छ भनेर हामी आगामी संस्करणलाई सफल बनाउन अघि बढेका हौँ।’

उनले आगामी फागुन १५ गतेदेखि २५ गतेसम्म धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए। प्रतियोगितामा विद्यालय स्तरका यू-१९ का खेलाडीहरूले सहभागिता जनाउने छन्। लिग कम नक आउटमा खेलाइने प्रतियोगितामा देशभरका करिब १२ विद्यालय सहभागी हुने शाहीले जानकारी दिए।

विगतमा ४ जनासम्म १९ वर्ष मुनिका विद्यालयबाहिरका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी प्रतिटिममा सहभागी गराउने जनाइएको छ।

एलपीएलको पाँचौँ संस्करणको मुख्य प्रायोजनका लागि कैलालीको टीकापुरस्थित चण्डिका ग्रुपसँग सम्झौता भएको छ। योसँगै प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग भएको छ।

चौथो संस्करणको विजेताले दुई लाख र उपविजेताले एक लाख पाएकोमा यसपाली विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार दिइने छ।

‘कोरोनाको महामारीको बीचमा प्रतियोगितालाई निरन्तरता दिन सक्नु नै ठुलो हो’,  अध्यक्ष शाहीले भने, ‘यो प्रतियोगिता भनेको क्रिकेटको जग हो। त्यसैले जग बलियो बनाउनका लागि नरोक्ने निर्णयमा पुगेका हौँ। जसरी पनि गर्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell