PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

शुरुको १० ओभर सम्हालिन नसक्दा पराजय भयो : कप्तान मल्ल

शुरुको १० ओभर सम्हालिन नसक्दा पराजय भयो : कप्तान मल्ल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनलमा वाग्मतीलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गर्‍यो। खराव सुरुवात गरेको आर्मीले सम्हालिँदै वाग्मतीमाथि ९४ रनको जित निकाल्यो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको वाग्मती १३५ रनमा समेटियो।

सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको आर्मीले सुखद सुरुवात गर्न सकेको थिएन। धर्मराएको आर्मीको पारी लोकेस बम र भीम सार्कीले सम्हालेका थिए। सार्कीले ४० र बमले २३ रन बनाउँदा कप्तान बिनोद भण्डारी १० रनमा आउट भए। त्यसपछि आएका राजेश पुलामीले विक्रम सोबसँग लामो साझेदारी गर्दै आर्मीको स्कोरमाथि उठाए। पुलामीले सर्वाधिक ६५ रन बनाउँदा विक्रम सोबले ३५ रन जोडे।

बलिङतर्फ गौतम केसीले सर्वाधिक ५ विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी राम नरेश गिरी र विपिन आचार्यले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मती प्रदेशको ब्याटिङ शुरुबाटै धर्मरायो। सुरुवाती ब्याट्सम्यानहरु आकाश थापा, विभत्सु थापा र पृथु बास्कोटा दोहोरो अंकको रन नजोड्दै बाहिरिँदा ओपनर आदिल १० रनमा आउट भएका थिए। त्यस्तै इशान पाण्डे डकआउट हुँदा वाग्मतीको पारीलाई कप्तान ज्ञानेन्द्र मल्लले बिपिन आचार्यसँग साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए। त्यस्तै, नन्दन यादव २२ रनमा अभिजित रहे।

मल्लले सर्वाधिक ४७ रन बनाउँदा बिपिन आचार्यले २३ रन जोडे।

बलिङतर्फ आर्मीका सुसन भारी, विक्रम सोब र जितेन्द्र मुखियाले समान ३/३ विकेट लिए।

जितसँगै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। फाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ। बुधवार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

खेलपछि प्रतिकृया दिँदै वाग्मती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङमा गल्ती भएको स्वीकार्दै ब्याटिङमा सुरुवाती १० ओभरमा सम्हालिन नसक्न हारको कारण भएको बताए।

‘फिल्डिङमा भएको केही गल्तिहरुका कारण उनीहरुले साझेदारी बनाउने मौका पाए। विक्रम र राजेशको साझेदारी चलिरहँदाको क्याच ड्रप चाहिँ ठूलो लागेको छ’, मल्लले भने, ‘तर, पनि २३०को लक्ष्य पछि पछ्याउन सकिने नै लक्ष्य थियो। सुरुको १० ओभर हामी सम्हालिन नसक्दा अझ अलि राम्ररी गर्न सकेको भए नतिजा अर्कै हुन्थ्यो होला।’

त्यस्तै, आर्मीका कप्तान बिनोद भण्डारीले सुरुवाती ब्याटिङमा प्रतियोगिताभर सबै टिमले सुरुवाती १० ओभरमा संघर्ष गरेको बताउँदै आफ्नो टिमलाई पनि टिक्न कठिन भएको बताए। उनले सुरुमा ब्याटिङका क्रममा सरासर ३ विकेट जाँदा दवाब भएको बताए।

उनले राजेश पुलामी र विक्रम सोबले लामो साझेदारी खेलेपछि आफ्नो पारी राम्रो भएको बताए। ‘लक्ष्य राम्रै छ तर बलिङमा मेहेनत गर्न पर्छ भन्ने थियो।हामीलाई दुईवटा लेफ्ट आर्मर थियो उनीहरुसँग चारजना लेफ्टी ब्याट्सम्यान थियो। त्यसले गर्दा प्रेसर थियो’, आर्मीका कप्तान भण्डारीले भने, ‘त्यस्तोमा उनीहरुको सुरुमै ४/५ विकेट आएपछि सजिलो भयो।’

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले पाँच लाख प्राप्त गर्ने छन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell