PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कटकुवा गौहत्या प्रकरण : नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद सजाय



पहिलोपोस्ट

कटकुवा गौहत्या प्रकरण : नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद सजाय
फाइल फोटो।

सुर्खेत : गौहत्या प्रकरणमा संलग्न १० जनालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गर्दै कैद सजाय तोकेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित अन्य १० जनालाई कैद सजाय तोकेको हो।

न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले गौहत्याका आरोपी १० जनालाई न्यूनतम तीन महिनादेखि १६ महिनासम्मको कैद सजाय तोकेको छ। मुलुकी अपराध संहिताको २८९ बमोजिम घटनामा संलग्नलाई कैद सजाय तोकिएको हो।

२०७६ भदौ १३ गते नेपालगञ्ज उपमहानगरमार्फत आठ वटा ट्रकमा दैलेख पठाउने भनिएका दुई सय ९१ गाईमध्ये ३९ वटा गाई/गोरु, बाच्छा/बाच्छी सुर्खेतमा मृत भेटिएका थिए। बाँकी गाई/गोरु र बाच्छा/बाच्छी सडक छेउछाउमा अलपत्र अवस्थामा छोडिएको थियो।

घटनामा संलग्न नगर प्रहरी बोगटीलाई एक वर्ष ६ महिना, नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई एक वर्ष, नगर प्रहरी जवान चन्द्रबहादुर राना, सुशान्त शाही, सुवर्ण तारामी मगर र कमल बयकलाई ६/६ महिना, उपमहानगरपालिका मार्फत सञ्चालन गरेको काञ्जीहाउसका कर्मचारी पवनकुमार कनोजियालाई पाँच महिना र अन्य कर्मचारी राकेश भारती र धर्मेन्द्र नेपालीलाई ३/३ महिनाको कैद सजाय तोकिएको छ।

गौहत्यामा प्रतिवादी बनाइएका ढुवानीकर्ता सहित सात जनालाई अदालतले सफाई दिइसकेको छ। ढुवानी गर्ने ट्रान्सपोर्टका सञ्चालक चितवन क्यारियरका मालिक सन्तृप्त श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसीले सफाइ पाएका हुन्।

पशु ढुवानी मापदण्ड निर्देशिका विपरीत लोड हुँदा गाई, बाच्छा, बाच्छी मरेको अनुसन्धानमा देखिएको थियो। नेपालगञ्जबाट यसरी ल्याइएका पशुलाई सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत कटकुवा क्षेत्रमा छोडिएको थियो भने पशुलाई ट्रकबाट भिर र खोलाखोल्सीमा खसाल्दा मरेका थिए। अधिकांश चोटपटक लागेको अवस्थामा थिए। त्यति बेला केही पशुको उपचार पछि र सद्दे पशुलाई नेपालगञ्जनै पठाइएको थियो।

श्रेष्तेदार यमप्रसाद बास्कोटाका अनुसार पशु ढुवानीका लागि प्रयोग भएका ट्रकहरु छोड्न आदेश दिइएको छ।

सोही घटनामा बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापालाई बयान लिएपछि जिल्ला सरकारी वकील कार्यालय सुर्खेतले मुद्धा नचलाउने निर्णय यसअघिनै गरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell