जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव)ले कमला बचाउ अभियानलाई छिमेकी मुलुकसम्म विस्तार गर्नुपर्ने बताएका छन्। बिहिवार तेस्रो महाकमला स्नान र कमला आरतीको क्रममा मेयर बरबरियाले व्यक्ति व्यक्तिबाट प्रारम्भ गरिएको कमला बचाउ अभियान स्थानीय तह हुँदै प्रदेश सरकारसम्म गएको भन्दै अन्तर्राष्ट्रिय अभियानको रुपमा जोड्नुपर्ने धारणा राखे।
ऐतिहासिक मानिएको कमला नदी धनुषा जिल्ला सहित छिमेकी राष्ट्र भारतको बिहारसम्म पुगेको भन्दै उनले सिंगो नदीको अस्तित्व बचाउनको लागि भारतसम्मै अभियानलाई जोडनुपर्ने बताए।
मेयर बरबरियाले भने, ‘यहाँ धनुषाका ५ स्थानीय तह र सिरहाका ४ स्थानीय तह गरी कुल ९ स्थानीय तहले मात्र सहयोग गरे कमला बचाउ अभियानले नयाँ उचाई पाउने निश्चित छ। तर, शहीदनगर नगरपालिका र सिरहा नगरपालिकाले मात्र अहिलेसम्म बढी समन्वय गरेको छ। अन्य स्थानीय तहले समेत चासो लिए अभियानले तीव्रता पाउनेछ।’
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलले कमला बचाउ अभियानको लागि चालिएको कदमको सराहना गर्दै यहाँका स्थानीय सरकार र अभियन्ताहरुले देखाएको अग्रसरताको प्रशंसा गरे। उनले कमला बचाउ अभियानको लागि प्रदेश सरकारदेखि लिएर केन्द्र सरकारसम्मलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे।
उनले धार्मिक र पौराणिक इतिहास बोकेको कमला नदीको अस्तित्व संरक्षण आवश्यक रहेको बताए। कमला महाआरतीमा जनता समाजवादी पार्टीका सचेतक एवं प्रदेश सभा सदस्य परमेश्वर साह, समाजसेवी प्रभु दयाल जलान, अभियन्ताहरु वीरेन्द्र यादव, सुरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम महतो लगायत साधुसन्तहरुको सहभागिता रहेको थियो।
