PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रातो टोपी ब्युँतिएको चाँगुनारायणको कलश यात्रा, छाया दर्शन गर्दै राष्ट्रपतिले भनिन्, 'परम्परा धान्न गाह्रो छ है?'



सहयोग रञ्जित

रातो टोपी ब्युँतिएको चाँगुनारायणको कलश यात्रा, छाया दर्शन गर्दै राष्ट्रपतिले भनिन्, 'परम्परा धान्न गाह्रो छ है?'

काठमाडौं : दुई घोडाहरु अघिपछि लाग्दै थिए। सेतो कपडा पहरिएका व्यक्तिहरु हातमा कलश बोक्दै आए। नक्साल भगवतीबाट नाग पोखरी पुग्न लाग्दै केही स्थानीय भेला भए। गाडीहरु रोके र बाटोको बीचमा माटोका भाँडाहरु फुटाउन लागे। हातमा कलश बोकेकाहरु त्यही भाँडा फुटाएको ठाउँबाट हिँड्दै रानीपोखरी पुगे। त्याँ गुरुजुको पल्टनले उनीहरुलाई बढाँई गर्‍यो। अनि चाँगुनारायणको कलश असन हुँदै काठमाडौंको पुरानो बस्ती प्रवेश गर्‍यो।

हरेक वर्ष दुईपटक (साउन शुक्ल द्वादशी र पौष शुक्ल पुर्णिमामा) भक्तपुरको चाँगुनारायणलाई लक्ष्मी र सरस्वती सहित कलशमा प्रतिस्थापन गरेर बोकेरै पैदल हिँड्दै काठमाडौं ल्याइने गरिन्छ। यसरी ल्याउनेहरु दिनभर निराहार हुन्छन्। चाँगुनारायणमा बिहानको पूजा सकेपछि मन्दिरका पुजारीले मूल कलश र चाँगुकै भँडेल समुदायका दुई व्यक्तिले दायाँ बायाँ लक्ष्मी र सरस्वतीलाई बोकेर लिच्छविकालिन बाटो हुँदै चाँगुनारायणलाई काठमाडौं ल्याउने गर्छन्। बिहीबार पनि चाँगुनारायणदेखि डाँछी, जोरपाटी, चाबहिल, नक्साल, रानीपोखरी, असन हुँदै चाँगुनारायणलाई हनुमानढोकास्थित तलेजु मन्दिर परिसर पुर्‍याइएको हो।

पौष शुक्ल पूर्णिमाका दिन यसरी काठमाडौं आउँदा बाटोमा माटोको भाँडा फुटाउने चलन रहेको छ। पहिला चाँगुनारायणबाट कलशलाई काठमाडौं ल्याइँदा विभिन्न स्थानमा यसरी माटोको भाडो फुटाउने गरिन्थ्यो। अहिले यो परम्परा केही स्थानमा मात्रै सीमित भएको छ। यसपटक नक्साल र हनुमानढोकामा मात्रै माटोको भाडो फुटाइएको थियो। यसरी माटोको भाडो फुटाउनुको कारणबारे एक किम्बदन्ती सुनाउँछन् चाँगुनारायणका पुजारी आभास धरानन्द राजोपाध्याय।

‘कलियुग सुरु हुने बेला भएको थियो। चाँगुनारायणलाई अब कलियुगमा आफ्नो सम्मान हुँदैन भन्ने लाग्यो। त्यसपछि उनले बैकुण्ठ फर्कने मन बनाए। यो कुरा थाहा पाएकाहरुले राजालाई खबर गरे। चाँगुनारायणलाई बैकुण्ठ फर्कनबाट रोक्न आग्रह गरे। राजाले पनि चाँगुनारायणलाई जसरी भएपनि रोक्न निर्देशन दिए। त्यसपछि चाँगुनारायण बैकुण्ठ जान निस्के सँगै विभिन्न स्थानमा खाली माटोको भाडोलाई फुटाएर बाटोमा छरियो। खाली भाडो फुटेपछि अशुभ साइत भयो र यात्रा गर्न हुँदैन भनेपछि नारायणले तलेजु दर्शन गरेको र राजाले बोलाएर पुजा गरेर राखेको कथन छ।’

त्यसैले हरेक वर्ष त्यही परम्पराको निरन्तरता स्वरुप चाँगुनारायणलाई ‘गुणपो’ ल्याउने गरिएको हो। ‘गुणपो’ भनेको हुनुमानढोका दरबारको पुरानो नाम। अझै चाँगुका वृद्धवृद्धाहरुले हनुमानढोकालाई ‘गुणपो’ भन्ने गरेको राजोपाध्याय बताउँछन्।

‘हनुमानढोका प्रताप मल्लकालिन भयो। प्रताप मल्लले हनुमानको मूर्ति स्थापना गरेपछि मात्रै त्यो ठाउँलाई हनुमानढोका भनिएको हो। तर, यो लिच्छवीकालिन जात्रा हो। चाँगुकाहरुले अझै त्यस ठाउँलाई ‘गुण पो’ भन्ने गर्छन्।  पहिला त्यस स्थानमा भएको दरबारलाई गणपो दरबार भने चिनिन्थ्यो। यो नाम विभिन्न अभिलेखमा पाइन्छ’ उनले भने।

गोपाल राज वंशावलीमा उल्लेख भएअनुसार साउनको कलश जात्रा राजा पुष्पदेव बर्माको समयदेखि नै संचालनमा रहेको देखिन्छ। पौष शुक्ल पुर्णिमाको बारेमा भने केही उल्लेख गरिएको छैन।

बिहिवार बिहिन करिब ११ बजे चाँगुनारायणबाट हिँडेको कलश यात्रा हनुमानढोका दरबार पुग्दा दिउँसो करिब ४ बजेको थियो। कलश त्यहाँ पुगेपछि जीवित देवी कुमारीलाई तलेजुर मन्दिर परिसर अघि विराजमान गराइएको थियो। त्यही कुमारीको पूजा गरेपछि कलशको स्वागत गरि तलेजुको मूल ढोकाबाट भित्राइयो।

तलेजु भित्रको त्रिशुल चोकको सँगै रहेको चोकमा कलश राख्ने छुट्टै सिंहासन छ। त्यहाँ कलश राखेर विधिवत् पूजा गरियो। कथनका अनुसार पहिला कलश ल्याउँदा उक्त चोकमा ठूलो होम गर्ने चलन थियो।। त्यो होम गरेको आगो चाँगुबाट पनि देखिन्थ्यो भन्ने जनश्रुति रहेको छ। आजको दिनबाट गर्मीयाम सुरु हुने विश्वास रहेको छ।

परम्परा धान्न गाह्रो छ है ?

चाँगुनारायणको कलशमा बाँधिएको कपडा हनुमानढोकासम्म पुग्दा खोलिएको हुँदैन। त्यही भित्रमात्रै पानी देवतालाई चढाउन भनेर कलश खोलिन्छ। त्यहाँ विधिवत् पूजा गरेपछि चाँगुनारायणको कलशलाई राष्ट्रपति शितल निवास लग्एको थियो। हनुमानढोकाबाट भने गाडीबाट कलशसहितको टोलीलाई शीतल निवास लग्ने गरिन्छ। हनुमानढोकापछि राष्ट्र प्रमुखको अघिमात्रै कलश खोलिन्छ। राष्ट्रपतिले मात्रै छाया दर्शन गर्ने परम्परा रहेको छ।

‘यसरी राष्ट्रप्रमुखले छायाँ हेर्नुलाई नारायणको शक्ति आफू भित्र समाहित गर्ने भन्ने जनविश्वास रहेको छ’ राजोपाध्याय भन्छन्।

बिहिवार पनि हनुमानढोका भित्र विधिवत् पूजापछि चाँगु नाराणको कलशलाई राष्ट्रपति निवास शीतल निवास लगिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीलाई परम्परा अनुसार चाँगुनारायणको कलश खोलेर छाया दर्शन गराइएको थियो। कथन अनुसार उनले नाराायणको शक्ति आफूलाई समाहित गरिन्। पूजारी राजोपाध्यायले राष्ट्रपति भण्डारीलाई छाया हेरेपछि टीका, नरिवल र फूल दिए। त्यसपछि स्वस्ती वाचन गर्नै राष्ट्रपतिलाई अभिषेक दिइएको थियो।

राष्ट्रपति भण्डारीले त्यसक्रममा चाँगुनारायणबाट आएकाहरुसँग पैदल यात्राको बारेमा जिज्ञासा राखिन्।

राष्ट्रपति भण्डारीसँग भएको छलफलका बारेमा राजोपाध्यायले भने, ‘राष्ट्रपतिले परम्पराको निरन्तरता दिन गाह्रो छ है भनेर प्रश्न गर्नुभयो। यस्तो परम्पराको निरन्तरताको लागि गुठीको व्यवस्थापनमा पनि जोड दिनुभयो।’

राष्ट्रपतिले त्यहाँ उपस्थिति संस्कृति मन्त्रालयका अधिकारीहरुलाई सांस्कृतिक परम्पराको संरक्षणमा लाग्न निर्देशन समेत दिएकी थिइन्। राष्ट्रपति भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नामको अगाडी संस्कृति लेखिएको तर पर्यटन र नागरिक उड्डयनले मात्रै धेरै महत्व पाएको र संस्कृतिको काम खासै नभएको बताइन्। त्यहाँ उपस्थित अधिकारीहरुलाई सबै गुठी परम्परालाई मिलाएर अघि बढाउन अझै समय लाग्ने भएपनि आजैबाट काम सुरु गर्ने र संस्कृति संरक्षणको काममा पनि ध्यान दिन निर्देशन दिएको राजोपाध्यायले बताए।

राष्ट्रप्रमुख कहाँबाट फेरि कलशलाई हनुमानढोका फर्काइएको थियो। हनुमानढोकामा कलशको बिसर्जन गरेपछि साँझै कलश फेरि चाँगुनारायण फर्काइएको छ। बिसर्जन गरेको फूल भचाखुसीमा सेलाउने चलन छ।

पहिला हनुमानढोका भित्र नै राष्ट्र प्रमुख आउने र त्यही नै अभिषेक गराएर बिर्सजन गर्ने गरिन्थ्यो। समयक्रमसँगै त्यो परम्परा परिवर्तन भयो।

गणतन्त्रअघि राजाहरुले कलशमा छाया दर्शन गर्ने परम्परा रहेको थियो। मल्लकालसम्म राजाहरुले हनुमानढोका दरबार क्षेत्रमा नै कलशमा छाया हेर्ने गरिन्थ्यो। शाहकालमा वसन्तुपरहुँदै छाया दर्शन गर्ने स्थान नारायणहितिमा सर्‍यो। गणतन्त्रपछि राष्ट्र प्रमुखका रुपमा राष्ट्रपतिलाई शीतल निवासमा नै कलश दर्शन गराउने प्रचलन स्थापित भयो।

पहिला गाडीको व्यवस्था थिएन। काठमाडौं पुगेर कलश बिर्सजन गर्ने बेलासम्म रात पर्थ्यो। त्यसैले जैशीदेवलस्थित राजोपाध्यायको घरमा नै कलश राखेर भोलिपल्टमात्रै फर्काउने चलन थियो। अहिले भने कलश ल्याएकै दिन गाडीले कलश र आएका मानिसहरुलाई चाँगुसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।  

कथा रातो टोपीको

चाँगुनारायणलाई काठमाडौंसम्म ल्याउने क्रममा मूल कलश बोक्ने राजोपाध्याय र भँडेलहरुले फरकफरक खालको टोपी लगाउने गर्छन्। पहिरन सेतो रंगको भएपनि बनावटमा हल्का फरक हुन्छ। भँडेलहरुले शीरमा ढाका टोपी लगाउने गर्छन् भने राजोपाध्यायहरुले रातो रंगको टोपी। यो टोपीको बनावट अन्य टोपीहरु भन्दा फरक रहेको छ। करिब २०३० साल तिर लिइएको एक तस्विरमा समेत राजोपाध्यायले यस्तै खालको रातो टोपी लगाएको देख्न सकिन्छ।

 तस्विर : ओम धरान्नद राजोपाध्यायको संकलनबाट

गुरुजुको पल्टनले लगाउने टोपी, भक्तपुरको बिस्का जात्रामा समेत यस्तै प्रकारको टोपी प्रयोग भएको देख्न सकिन्छ। गौतमबज्र बज्राचार्यका अनुसार यो टोपीको बनावट ‘कुसान कला’ सँग सम्बन्धित रहेको हुन सक्छ। जय वर्शमाको मूर्तिमा प्रयोग भएको टोपी पगडी आकारको भएको मानिन्छ। मराहथहरुले लगाउने टोपीहरुसँग पनि त्यसको मेल खान्छ। तर चाँगुनारायणको कलश बोक्नेले लगाउने टोपीमा भने माथि अलि डल्लफो र कपडा फर्किएको हुन्छ। त्यसैले ‘कुसान कला’ सम्म टोपी सम्बन्धित हुन सक्ने अनुमान गरिएको हो।

‘कम्तीमा पनि यो टोपीको प्रयोग मल्लकालिन हो। विभिन्न अध्ययनहरुले यसलाई पुष्टि गर्छ पनि। लिच्छविकालबारे भने अध्ययन अझै गर्न बांकी छ’ राजोपाध्याय बताउँछन्।

२०७२ साल को भूकम्पअघिसम्म यस्तै प्रकारको टोपी कलश यात्राको क्रममा प्रयोग हुन्थ्यो। तर भूकम्पमा चाँगुमा रहेको चक्र धरान्द राजोपाध्यायको घर भत्कियो। सँगै हरायो टोपी पनि।

कलश यात्रामा टोपी नलगाइ जानु हुन्न भन्ने चलन छ। त्यसैले भूकम्पपछि ढाका टोपी लगाएर भएपनि कलश यात्रा संचालन भइरह्‍यो।

यसपटक जमलबाट चाँगुनारायणको कलश बोकेका आभास राजोपाध्यायले ढाको टोपीको सट्टा पुरानै खालको रातो टोपी लगाए।

उनी भन्छन्,  ‘यसबीचमा पुरानै प्रकारको मौलिका खालको टोपी बनाउने बारेमा चर्चा भएको थियो। तर सम्भव भएको थिएन। यसपटक एकजना दिदीलाई पहिलाको टोपीको तस्विर देखाएँ। उनले बनाउन सक्छु भन्नु भयो। त्यसैले ५ वर्षपछि फेरि पुरानै खालको टोपी लगाएर कलश यात्रा गर्ने सम्भव भयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell