PahiloPost

Jun 15, 2026 | १ असार २०८३

जब प्रचण्ड-नेपालको सभामा ‘असफल शीर्ष नेता विश्राम लेउ, हामीलाई सग्लो नेकपा देउ’ भन्ने कार्ड देखियो

जब प्रचण्ड-नेपालको सभामा ‘असफल शीर्ष नेता विश्राम लेउ, हामीलाई सग्लो नेकपा देउ’ भन्ने कार्ड देखियो

पहिलोपोस्ट /पहिलोपोस्ट


  • पूजा पन्थी-

बुटवल : नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बुटवलमा विरोध सभा गर्‍यो। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गरेको हो।

सभाको लागि मञ्च निर्माण गर्न पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफैँ लागिपरे। उनी निर्वाचनको प्रचारमा हिँडेकोभन्दा पनि बढी तनमन दिएर लागि परेका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले देशभर आन्दोलन गरिरहेको छ। भेलालाई नेकपा नेता तथा स्थायी कमिटी सदस्य वर्षमान पुनले सम्बोधन गर्दै गर्दा भेलामा सहभागी कार्यकर्ताले एउटा कार्ड देखाए।

जसमा लेखिएको थियो, ‘जिन्दावाद र मुर्दावादमा सारा जीवन जाने भयो। न देशले स्थायित्व पायो, न जनताले समृद्धि। सारा स्रोत नेता व्यवस्थापनमै खर्च भयो। असफल शीर्ष नेता विश्राम लेउ, हामीलाई सग्लो नेकपा देउ।’

त्यस लगत्तै कार्यक्रममा खटिएका स्वयंसेवकहरूले त्यो ब्यानर खोसेका थिए।

कार्यक्रम चलिरहँदा पार्टीमा आस्था राख्ने गायकहरुले गीत गाए। उनीहरूले आत्मसमर्पण होइन नेतृत्व देउ भन्ने भावको गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममै मन्तव्य चलिरहँदा प्रचण्डको हातले कोरिएको तस्बिर समेत कार्यकर्ताले प्रदान गरेका थिए।

सभामै ७० वर्ष उमेर समूहका व्यक्तिहरू स्टेजमै पुगेर प्रचण्ड र नेपाललाई भेट्दै गरेको देख्न सकिन्थ्यो। यही भेटलाई आधार मान्दै अध्यक्ष नेपालले मन्तव्यमा कार्यकर्ताले ओलीको पछाडि हिड्नेलाई नराम्रो नभन्न आग्रह गरेको समेत जनाएका थिए।

कार्यक्रमलाई हेर्नको लागि सडक विस्तारकै क्रममा रहेका घरको छतमा पुगेर जोखिमपूर्ण तरिकाले सभा हेरिरहेका पनि देखिन्थे। कार्यक्रम समापन पश्चात पार्टीकै युवा संघका कार्यकर्ताहरुले फोहोर व्यवस्थापन गरेको पार्टीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell