काठमाडौं : पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ घर भएका ३८ वर्षीय धीरज कुमार विश्वकर्माले लामो समय विदेशमा नै बिताए। करिब १५ वर्षसम्म उनी कुवेत, ओमान लगायत देशमा वैदेशिक रोजगारीका लागि पुगी नै रहे।
केही समयदेखि भने उनी स्वदेशमा नै छ। पोखरा महानगरपालिका वडा नम्बर ३० शिशुवामा डेरा गरी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लामो समयको अनुसन्धानपछि पक्राउ गर्यो। पक्राउ गर्नुको कारण थियो - ठगी।
'हामीले धेरै समयदेखि वाच गरिरहेका थियौं। उनीविरुद्ध उजुरी परेको थियो। भाग्ने सम्भावना भएपछि नियन्त्रणमा लिएका हौँ,' जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले भने।
धीरजले धेरै मानिसलाई युरोप, क्यानडा र अमेरिका लगायतका देशहरूमा लैजाने भन्दै रकम उठाएर ठगी गरेको उजुरी परेको थियो। उनको ठगीको जालमा कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका मानिसहरू पर्दै आएका थिए। उनीहरूबाट धीरजले एक लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म ठगी गरेको देखिएको छ। प्रहरीको अनुसन्धानमा उनले नब्बे लाख एकत्तर हजार रुपैयाँ उठाइसकेको पुष्टि भएको छ। त्यसबाहेक कति रकम उनले ठगेका छन् पछि खुल्ने नै छ।
'लामो समय विदेशमा बसेको र विदेश पठाइरहेको विश्वास दिलाएर रकम लिएको देखिन्छ। उसले ग्यारेन्टीका लागि विभिन्न बैङ्क तथा सहकारीको चेकसमेत दिने गरेको देखियो,' डीएसपी हमालले भने। उनले दिएको बैङ्कका चेक रकममा कन्भर्ट नभइ बाउन्स हुने गरेको थियो।
धीरजले अहिलेसम्म ३३ जनालाई ठगी गरेको खुलेको छ। जसमा दुई युवतीसमेत रहेका छन्। भूतपूर्व लाहुरेदेखि विभिन्न कम्पनीमा राम्रो जागिर खाइरहेका मानिस समेत उनको जालोमा फसेका थिए। भारतमा रहेका एक युवकले उनलाई ठगी धन्दामा संलग्न गराएको खुलेको छ। धीरजले ठगी गरेर उठाएको केही रकम हुन्डी मार्फत् भारत पठाउने गरेको खुलेको छ।
'ठगीमा अरू पनि संलग्न छन्। हामी उनीहरूको खोजी गरिरहेका छौँ,' डीएसपी हमालले भने।
