काठमाडौं : मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएका के कारबाही हुन्छ? पहिले त प्रहरीले सवारी नियन्त्रणमा लिन्छ। ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र तथा सवारीको ब्लु बुकसमेत राख्छ। त्यसपछि जरिवान दस्तुर तिराउँछ। र, एक घन्टे कक्षा दिलाउँछ।
त्यो कक्षा लिन मापसेले छोडेपछि सवारीधनीले ट्राफिक कार्यालयमा पुगेर लिनुपर्छ। सचेतना कक्षा र एक हजार रुपैयाँ जरिवाना बैंकमा बुझाएको रसिद दिएपछि प्रहरीले लिएको लाइसेन्स वा ब्लुबुक फिर्ता दिन्छ।
अन्यत्रको हकमा हुने यस्तै हो। तर, झापामा भने नियम फरक छ। झापा जिल्लामा यसरी मापसे गरेर सवारी साधन चलाएमा अब अभद्रको मुद्दा समेत लाग्ने भएको छ। मापसे गरेर सवारी चलाउने क्रम बढेपछि प्रहरीले मुद्दा नै लगाउने तयारी गरेको हो। माापसेका कारण सवारी दुर्घटना निम्त्याएको भन्दै प्रहरीले अबदेखि यस्तो उपाय लगाएको हो। प्रहरीले अभद्रमा मुद्दा चलाउँदा मापासे गर्ने चलाकलाई हिरासतमा समेत राख्नेछ। अनि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर २४ दिनसम्म अनुसन्धान पनि गर्न पाउँछ। प्रहरीले यो नियम सार्वजनिक सवारीको हकमा लागू गर्न थालेको हो।
'सर्वसाधारणबाट बढी गुनासो आएपछि हामीले अभद्रमा मुद्दा चलाउन लागेका हौं। सार्वजनिक सवारीमा अरुको पनि त्यत्तिकै जोखिम देखिन्छ,' जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले भने।
प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अभद्रमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ यतिखेर। झापामा सुरु भएको नयाँ मापदण्डले सफल भयो भने यो अरु जिल्लातिर पनि लागू हुनसक्छ।
