काठमाडौं : बहसको समयलाई लिएर सुरुमै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा र पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठबीच चर्काचर्की चलेको थियो। बहसको ७० मिनेट पुगेपछि फेरि दुई जनाबीच भनाभन नै चल्यो।
एक घन्टा १० मिनेट प्रतिनिधिसभा विघटनको जानकारी राजपत्रमा प्रकाशन गरेको विषयलाई लिएर त्यसको बैधानिकतामा श्रेष्ठले बहस गरेका थिए। बैधानिकतामै यति लामो बहस गरेपछि प्रधान न्यायाधीश राणाले भने, 'बरिष्ठज्यू २ बजेसम्म सक्नुस्।'
त्यसपछि रमणले जवाफ फर्काए, 'म विषयवस्तुमै छु। सिद्धिदैन।'
उनको जवाफले प्रधान न्यायाधीश राणा सन्तुष्ट भएनन्। फेरि भने, 'त्यसो भए नसिध्याएर बस्नुस्। कृपया २ बजेपछि बसिदिनुस्।'
प्रतिनिधिसभा विघटनको विरुद्धमा बहसमा उत्रिएका रमन रोकिएनन्। भने, 'समय नदिने भए म अहिल्यै बसिदिन्छु।'
त्यसपछि प्रधान न्यायाधीश राणाले फेरि भने, 'तपाईँको समय २ बजेसम्म हो। त्यसपछि बस्नुस्।
एक जनाले ५ घण्टा लिनुभयो भने हामीले कसरी मिलाउने?'
प्रधान न्यायाधीशले मुद्दामा वकिलहरु धेरै भएको संकेत गर्दै समयको पावन्दी रहेको जनाउ दिए।
एक घण्टामा रमनले राजपत्र अवैधानिक भएको, सरकारले अदालत र जनतालाई ढाँटेको जिकिर गरे। 'जुन डेटमा छापियो त्यही हो भन्नुपर्यो। सरकारले किन ढाँट्ने?,' उनले भने।
