PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काजोलमा ‘रियल एक्सप्रेसन’ ल्याउन शाहरुखको मेहनत



पहिलोपोस्ट

काजोलमा ‘रियल एक्सप्रेसन’ ल्याउन शाहरुखको मेहनत

शाहरुख खान र काजोल बलिउडका सबैभन्दा उत्कृष्ट रिल जोडीको रुपमा चर्चित छन्। उनीहरुको जोडी सन् १९९३ मा रिलिज भएको अब्बास–मस्तानको फिल्म ‘बाजीगर’बाट चर्चामा आएको थियो।

यो फिल्मसँग जोडिएको एक रोचक किस्सा शाहरुखले करण जोहरको टक शो ‘कफी विथ करण’मा केही वर्ष अघि सुनाएका थिए। जसको भिडियो आजकाल चर्चामा आएको छ। भिडियोमा शाहरुखले एक रोमान्टिक सिनको सुटिङका बेला के-के भएको थियो भनेर बताएका छन्।

शाहरुखले भिडियोमा भनेका छन्, ‘फिल्मको टाइटल गीत बाजीगर ओ बाजीगरको ‘मेरा दिल था अकेला तुने खेल ऐसा खेला’ भन्ने लाइनमा काजोलले केही सेन्सुअल एक्सप्रेसन दिनु पर्ने थियो तर उनले यसो गर्न सकिरहेकी थिइनन्। हामी दुवै नयाँ थियौँ। काजोलले कोसिस गरिरहेकी थिइन् तर त्यो नक्कली लागिरहेको थियो। किनभने साधारण अवस्थामा त्यस्तो भाव कसैले पनि दिँदैनथे।’

त्यसपछि काजोलले भनिन्, ‘मैले धेरै कोसिस गरेँ तर ठ्याक्कै त्यस्तै एक्सप्रेसन निकाल्न सकिरहेकी थिइन् कहिले टाइमिङ गडबड हुन्थ्यो त कहिले के।’

शाहरुखले थपे, ‘त्यसपछि कोरियोग्राफर सरोग खानले मलाई कजोललाई चिमोटिदिन भने। त्यसपछि मैले त्यस्तै गरेँ र शट ओके भयो।’

यो फिल्ममा शाहरुख र काजोलको जोडी अत्यधिक रुचाइयो। यो फिल्ममा नकारात्मक भूमिका निभाएर शाहरुख रातारात स्टार बनेका थिए र उनको फिल्मी करियर माथि उक्लिएको थियो।

बाजीगरपछि शाहरुख-काजोलले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘करण अर्जुन’, ‘कुछ कुछ होता हे’, ‘कभी खुसी कभी गम’ र ‘माइ नेम इज खान’ जस्ता सफल फिल्म दिए। अन स्क्रिनका साथै अफ स्क्रिन पनि यी दुईबीचको सम्बन्ध निकै राम्रो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell