PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

द्वन्द्वकालमा लुम्बिनी प्रदेशमा ७ सय ३० व्यक्ति बेपत्ता, बर्दियामा मात्रै २८८ उजुरी



पहिलोपोस्ट

द्वन्द्वकालमा लुम्बिनी प्रदेशमा ७ सय ३० व्यक्ति बेपत्ता, बर्दियामा मात्रै २८८ उजुरी

  • पूजा पन्थी-

बुटवल : लुम्बिनी प्रदेशमा बेपत्ता पारिएका व्यक्तिको संख्या ७ सय ३० रहेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग सदस्य एवम् प्रवक्ता डा गंगाधर अधिकारीले जानकारी दिएका छन्। बुटवलमा भएको एक कार्यक्रममा बोल्दै डा अधिकारीले बेपत्ता पारिएकामध्येबाट ६ सय ६६ पुरुष र ६४ महिला रहेको बताए।

आयोगमा प्रदेशका १२ जिल्लाबाट ८ सय ७७ बेपत्ता पारिएका व्यक्तिहरुको उजुरी परेको उनले जानकारी दिएका दिए। आयोगमा सबैभन्दा धेरै बर्दियाका २ सय ८८ उजुरी परेका छन्। यस्तै, दाङमा १ सय ४१, रोल्पामा १ सय ४०, बाँकेमा १ सय २५ बेपत्ता भएका उजुरी परेका छन्।

यस्तै, रुपन्देहीमा २९, गुल्मीमा २६, कपिलबस्तुमा २४, पाल्पामा २४, अर्घाखाँचीमा २३, प्युठानमा २३, नवलपरासी पश्चिममा १७ र रुकुम पूर्वमा १७ जना उजुरी परेका छन्।

आयोगमा परेका उजुरीमध्ये सत्यनिरुपण पठाइएका ८४, तामेलीमा ४८ पठाइएको प्रवक्ता डा अधिकारीले जानकारी दिए। आयोजमा परेकामध्ये ७ सय २१ उजुरीमा छानबिनको निर्णय भएको उनले जानकारी दिए।

आयोगका सदस्य एवं प्रवक्ता डा अधिकारीले आयोगमा परेका उजुरीमा काम गर्नको लागि धेरै समस्या भएको बताउँछन्।

उनले भने, ‘बेपत्ता पारिएको व्यक्तिको बारेमा प्रमाण जुटाउन निकै गह्रो छ। यो खोजी अभ्यास पनि निकै नयाँ हो नेपालको लागि र हामीसँग प्रविधि पनि खासै छैन। दक्ष जनशक्तिको पनि अभाव छ।’

घाँस काट्ने समयमा कसैले लगेको, शहर जानको लागि हिँडेको तर सम्पर्कमा नभएको, शहरमा डेरा गरेर बसेको तर ३/४ दिनसम्म पनि सम्पर्कमा नभएको लगायतका उजुरीहरु परेको आयोगले जनाएको छ।

बेपत्ता आयोगले सत्य तथ्य छानबिन गरी तयार पारेको परिचयपत्र वितरण कार्यको शुभारम्भ बर्दिया जिल्लाबाट गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell