PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

८० वर्षपछि जब टेकुको रुखमा शुक्रराज फाँसीमा चढे …

८० वर्षपछि जब टेकुको रुखमा शुक्रराज फाँसीमा चढे …

अमित मचामसी/पहिलोपोस्ट


कालो चश्मा, कालो टोपी र शरीरमा सेतो वस्त्र र खैरो धोती। दुई प्रहरीले हातमा समाएर टेकुमा रहेको खरिको रुखमा ल्याइन्छ शुक्रराज जोशी शास्त्रीलाई। त्यहाँ तयारी अवस्थामा रुखमा झुण्डयाइएको छ डोरी, शास्त्रीलाई फाँसी दिन। शास्त्रीपनि प्रजातन्त्र अमर रहोस् भन्दै खुशी खुशी फाँसी चढ्छन्।

१९९७ सालमा प्रजातन्त्रको माग गर्दै राणा विरुद्ध आन्दोलनमा होमिएका शास्त्रीलाई टेकुस्थित यही रुखमा झुण्डयाइएको थियो। नेवार समुदायमाथि भएको दमन र प्रजातन्त्रको लागि राणाहरुको विरुद्ध उत्रेका शास्त्रीलाई खरिको रुखमा नै फाँसी दिइएको थियो।

८० वर्षपछि आज त्यही रुखमा शुक्रराज फेरि झुण्डिए ‘प्रतिगमन’को विरोधमा।

प्रतिनिभिसभा विघटनको विरोधमा नागरिक समाज आन्दोलित छन्। बृहत नागरिक आन्दोलनको आयोजनामा शुक्रवार टेकस्थित शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको स्थानमा नाटक प्रदर्शन गरियो। शहीद दिवसको अवसरमा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा भएको नाटकमा शुक्रराज शास्त्रीको भूमिकामा देखिए घिमिरे युवराज। शिल्पी थिएटरका कलाकारहरुले प्रतिगमनको विरोधमा शहीद शुक्राजलाई स्मरण गर्दै नाटक प्रदर्शन गरेका हुन्।

वक्ताहरुले शुक्रराजलाई फाँसी दिइएको नाटक हेरेपछि त्यसबेला भएका केही घटनाहरु सुनाए। शैलेश शाक्यले शुक्रराजलाई फाँसी दिइएपछि त्यहाँ रुखमा घुम्दै 'छोरा होस् त तिमी जस्तो' भन्दै उनका  बुवाले तीनपटक घुमेर सम्मान गरेको सुनाए। 

शुक्रराजको नाटक प्रदर्शनपछि उपस्थित सहभागीहरु सडकमा पल्टिए। ‘डाइ इन प्रोटेस्ट’ नाम दिइएको उक्त प्रदर्शनमा उपस्थित सहभागीहरुले प्रतिगमनका कारण संविधानको हत्या भएको देखाउन सडकमा पल्टिएर आफूहरु पनि मारिएको भन्दै सांकेतिक विरोध जनाएका हुन्।

कार्यक्रममा लेखक नारायण ढकालले शुक्रराजबारे आफूले सुनेको केही कथा साझा गरे। अहिले ओलीले संसद विघटनलाई अमान्य भन्ने सबैलाई ‘देशद्रोही’ भन्ने गरेको भन्दै उनले ओलीको प्रतिगमनविरुद्ध आन्दोलन जारी रहने बताए।

कार्यक्रममा रश्मिला प्रजापतिले पहिला राणाहरुले नेवा: जातिमाथि नै प्रहार गरेको स्मरण गर्दै अहिले ओलीले संविधानमाथि नै प्रहार गरेको बताइन्।  

पवित्र कसाले दुर्गालाल श्रेष्ठले लेखेको गीत प्रस्तुत गरेका थिए भने शैलेश शाक्यले प्रतिगमनविरुद्ध कविता प्रस्तुत गरे।



ट्रेन्डिङ पोस्ट

Ncell