PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रधानमन्त्री ओलीको संकल्प : नेपाललाई २०७८ भित्र सडकआश्रित मानवरहित राष्ट्र बनाइने



फूलमाया पुरी

प्रधानमन्त्री ओलीको संकल्प : नेपाललाई २०७८ भित्र सडकआश्रित मानवरहित राष्ट्र बनाइने
फाइल फोटो।

काठमाडौं : नेपाललाई २०७८ भित्र सहयोगापेक्षी सडकमानवरहित देश बनाउने संकल्प गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। सडकआश्रित असहाय, अशक्त, अभिभावकविहीन बालबालिकामुक्त राष्ट्रका लागि सरकारले अभिभावकत्व गर्ने पनि उनले बताए।

शुक्रवार मानवसेवा आश्रमले आयोजना गरेको राष्ट्रिय उद्धार कार्यक्रम मेची-महाकाली यात्रा समापन समारोहमा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन्। समृद्द नेपाल सुखी नेपालीका लागि मानवता महाप्रवर्द्धनका अभियानहरु महत्वपूर्ण रहेको भन्दै उनले आश्रमको अभियानलाई मुक्त कण्ठले प्रशंसा गरे।

‘मानवसेवा आश्रमले मात्रै सहयोगापेक्षी भेट्छ, स्थानीय तह र सरकारका निकायले किन भट्दैनन्?’ यस अभियानसँग सम्बन्धित महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालय त्यस मातहतका संघसंस्थालाई ओलीले प्रश्न गरे।

जवाफमा ओलीले भने, ‘जहाँ मानवअधिकारवादी संस्थाहरुलाई राजनीतिक भाषण गर्दाको फुर्सद छैन, उनीहरु कसैको समर्थन वा कसैको विरोधमा उफ्रिँदैमा व्यस्त छन्।’

मानवअधिकारका लागि माइतीघरमा ब्यानर देखाएर नहुने भन्दै त्यस्ता सम्पूर्ण अधिकारवादिलाई मानवसेवा आश्रमको भ्रमण गर्न र फूल राखी प्रणाम गर्न पनि उनले आग्रह गरे।

‘बिनाअपवाद मानवको अन्तिम इच्छा र उसको चेस्टा भनेकै सुखी हुनु हो। र, सुखका निम्ति कसैले घरवार त कसैले दरवार छोडे,’ गौतम बुद्धको उदाहरण पेश गर्दै उनले भने।

सुखी नेपालीका लागि मेची-महाकाली यात्राको समापन नभई सबैको साथ र सहयोगमा यसलाई निरन्तरता दिनुपर्ने प्रधानमन्त्री पत्नी तथा आश्रमकी संरक्षक राधिका शाक्यले बताइन्। उनले राष्ट्रिय उद्धार कार्यक्रमका मेची-महाकाली यात्राका अभियन्ताहरुलाई सम्मान पत्र प्रदान गरिन्।

गत पुष ७ गते बालुवाटारबाट बिदाइ भएको टोली पूर्व मेचीको झापा हुँदै महाकाली पुगेर फर्किएको थियो।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोका अनुसार ५२ हजार गैरसरकारी संस्था समाज कल्याण परिषद्मा दर्ता छन्। करिब ७० हजार सामाजिक संघसंस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता छन्। जसमध्येको एक संस्थाले सरकारको लक्ष्य पूरा गर्न मानवसेवा आश्रमले सहकार्य गरेको उनले बताइन्।

‘जबसम्म देशका नागरिक सुरक्षित हुँदैनन् तबसम्म देश विकासले गति लिन सक्दैन’, महतोले भनिन्, ‘र, सरकार सडकमानवमुक्त राष्ट्र निर्माणमा सहकार्य गर्न प्रतिबद्ध छौँ।’

वर्ल्डलिंकको सहयोग

वर्ल्डलिंकले रौतहटको चन्द्रनिगाहपुरमा दुई बिघा जमिनमा मानवसेवा आश्रमको भवन निर्माण गरिने घोषणा गरेको वर्ल्डलिंकका विजय जलालले बताए।

जलालका अनुसार विगत एक वर्षदेखि आश्रमसँग जोडिएको वर्ल्डलिंकले भक्तपुरस्थित कौशलटारमा रहेको शाखा कार्यालय स्थापितका लागि सम्पूर्ण खर्च व्यवस्थापन गरेको थियो। त्यस्तै, आश्रमका १५ वटा जिल्लामा रहेका २२ वटै शाखामा आवश्यकता अनुसार सहयोग र इन्टरनेट उपलब्ध गराउँदै आएको छ।

वर्ल्डलिंकले नै निर्माण गरिदिने उक्त भवनमा आश्रित एक सय जनाको पालनपोषणमा नियमित सहयोग गर्ने प्रतिबद्दता पनि भएको आश्रमका सुमन बर्तौलाले बताए।

सहयोगापेक्षी सडक आश्रितहरुको ८६ जना बालबालिकासहित ६ सय ९८ जना सहयोगापेक्षी सडकआश्रितको उद्धार गरेको आश्रमले जनाएको छ। उद्धार गरिएका बालबालिकाहरुलाई बालबालिका खोजतलास केन्द्र १०४ को समन्वयमा विभिन्न बालगृहमा पठाइएको छ भने अन्यलाई आश्रमका विभिन्न शाखा कार्यालयमा खाना, नाना र छानाको व्यवस्थापन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell