PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पीएम कप फाइनल आज: एपीएफको चिन्ता खेलाडीको चोटमा, टिम सन्तुलन बनाउन आर्मीलाई गाह्रो



पहिलोपोस्ट

पीएम कप फाइनल आज: एपीएफको चिन्ता खेलाडीको चोटमा, टिम सन्तुलन बनाउन आर्मीलाई गाह्रो

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ मैदानमा उत्रँदैछन्।

दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह बी को विजेता वाग्मती प्रदेशलाई हराएको थियो। त्यस्तै एपीएफले नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियो।

आर्मी अहिलेसम्मका तीन सिजनमा सबैमा फाइनलमा प्रवेश गरेको छ। जसमा एकपटक पुलिससँग संयुक्त विजेता भएको थियो भने दुई पटक उपविजेतमै चित्त बुझाउनु परेको थियो। त्यस्तै आर्मीका लागि एपीएफ जस्तो बलियो टोलीसँग खेल्दा ठूलो चुनौती टिमको सन्तुलन बनाउनेमा हुनेछ। टीमका मुख्य खेलाडीहरु करण केसी, सोमपाल कामी र कुशल मल्ल अहिले टी१० लिग खेल्न युएईमा छन्। जसको प्रत्यक्ष असर टिम सन्तुलनमा पर्ने कप्तान विनोद भण्डारीले प्रतियोगिताको सुरुवातबाटै बताउँदै आएका थिए। आर्मीका कप्तान भण्डारी इतिहास हेर्ने भन्दा पनि अगाडिको खेलमा आफूहरु केन्द्रीत हुने बताउँछन्।

‘अगाडिको खेललाई सोच्ने हो। हिस्ट्री हेरेर केही हुँदैन। तीन जना महत्वपूर्ण खेलाडी नहुँदा टिमलाई असर गरेको छ।’ भण्डारीले भने।

त्यस्तै सन्तुलित देखिएको एपीएफको पनि आफ्नै समस्या छ त्यो हो चोट। सेमिफाइनल खेलमा एपीएफको जितका लागि कोशेढुंगा सावित भएका भुवन कार्की खेलकै क्रममा घाइते भएका थिए। त्यस्तै अर्का अनुभवी स्पीनर बसन्त रेग्मी त चोटका कारण प्लेइङ सेटमै थिएनन्।

एपीएफका कप्तान शरद भेषवाकर भुवन कार्की अभ्यासमा फर्किइसके पनि बसन्त रेग्मीको भने अझै टुंगो लागि नसकेको बताउँछन्।

‘बसन्तको इन्ज्युरीमा सुधार भएको छ। अब खेलअघि फिटनेस के हुन्छ। उनको यत्रो वर्षको अनुवभ फाइनलमा हाम्रो लागी महत्वपूर्ण हुन्छ,’ एपीएफका कप्तान भेषवाकरले भने, ‘भुवन चाहीँ ठीक भइसक्यो। हिजो अभ्यासमा पनि आएको थियो।’

त्यस्तै दुबै टोलीका कप्तानहरु फाइनल खेलका लागि उत्साहीत भएको बताउँछन्।

'व्यक्तिगत प्रदर्शन भन्दा पनि एउटा टिमको रुपमा राम्रो प्रदर्शन भइरहेको छ,' एपीएफका कप्तान भेषवाकरले भने, ' प्रतियोगिताको फाइनलमा पुग्नु ठूलो कुरा हो सबै उत्साहित हुनुहुन्छ।'

त्यस्तै, आर्मी कप्तान विनोद भण्डारी यसअघिको इतिहास केलाउने भन्दा पनि अगाडिको खेलमा केन्द्रित रहेको बताए।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell