PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना १ – ० बास्‍ना



पहिलोपोस्ट

कोरोना १ – ० बास्‍ना

  • अरुण पौड्याल -

करिब तीन घण्टा बढी ओभनमा ‘ग्रिल’ भएर बाहिर निकाल्दा त्यो टर्की निकै रहरलाग्दो देखिएको थियो। पाँच किलो हाराहारीको यो चरा करिब १८० डिग्री तापमा पिल्सिँदा सुकेर दुई किलोजस्तो देखिएको थियो। मैले यसलाई टर्की नभनेर ‘चरा’ भन्दै छु, किनकि सेलिब्रिटी सेफ गोर्डन राम्सेले मीठो सुनिनेगरी त्यसै भन्थे – “लुक् एट् दिस् ब्युटिफुल बर्ड, अमेजिङ्!”

जर्मनीमै भएर पनि क्रिसमस इभ प्रकृया पुर्‍याएर कसरी मनाउने हामीलाई मेलोमेसो थिएन। हामीले सबै उत्सवमा सुहाउँदो प्रख्यात नेपाली पारा रोज्यौँ – सितन अनि मदिरा। सायद अब विधि पुगेको थियो।

चराको मासु जर्मन ‘ग्लुह्वाइन’ सँग (मरमसला भएको तताएर खाइने हिउँदे वाइन) बिछट्टै स्वादिलो लागेको थियो। टेबुलमा बसेर गिलास ठोक्काउँदै अनि मासु लुँड्याउँदै गर्दा, मासु अनि मदिराको मिश्रित बास्ना मलाई निकै मोहक लागेको थियो। सोचेँ – “यस्तो पो बास्ना, यस्तो पो स्वाद!”

+++

क्रिसमसको केही दिन पश्चात् सँगै ‘डिनर’ गरेका मध्य एकजनालाई कोरोना पोजिटिभ देखियो। उसको सुँघ्ने क्षमता गुमेको थियो। “रुघाले होला” भन्दै शान्त हुन खोजिरहेका हामी एकाएक अशान्त भएका थियौँ। क्रिसमस डिनरमा म उसकै छेउमा थिएँ। मुस्किलले एक हात जतिको अन्तरमा। त्यसदिनको घटना सम्झेर म बारम्बार आत्तिइरहेँ। लक्षण भने केही देखिएको थिएन। ‘कन्ट्याक्ट ट्रेसिङ’मा परिसकेकाले कोरोना परीक्षण गर्नु बाहेकको विकल्प म/हामीसँग थिएन।

भोलिपल्ट ज्याद्रो चिसो थियो। नाक र मुख मास्कले, अनि टाउको ऊनीको टोपीले छोपेर म परीक्षण केन्द्र पुगेको थिएँ। सायद म अत्तालिएको कुरा छेकबारमा नपरेका मेरा आँखामा प्रष्ट झल्किन्थ्यो। ‘स्वाब’को तयारी गर्दै गरेकी नर्सले थाहा पाइन क्यार। सोधिन् – “जिन्ड् जी न्यरभ्युस् आऽरुऽऽन् पाउ्ऽऽडेयाऽऽल्”। उनले बडो कष्टसँग जर्मन लवजमा मेरो नाम उच्चारण गरिन्। अर्थात् – “तपाईँ अत्तालिनुभएको छ अरुण पौड्याल?”। जवाफमा मैले अलिअलि भनेँ। “तर म त छैन”, उनले हाँसेरै सान्त्वना दिन खोजिन्। मास्कका कारण हाँस्दा उनको दाँत त देखिनँ, तर फेश-शिल्ड भित्र हलुका बाफ्फिएका चश्मामा हाँसेका उनका आँखा भने स्पष्ट देखेँ।

उनले माथि बलिरहेको बत्ती हेर्न सुझाइन्। स्वाब नाकको नजिक आउँदा उनले लगाएको सर्जिकल पञ्जाबाट रबरको बास्ना आइरहेको थियो। स्वाब नाकभित्र झोँसेर केहीबेर उनले नाकको भित्री अन्तरकुन्तर हुँडलिन्। स्वाब झिकेपछि आउलाआउला गरेको हाच्छ्युँ त टर्‍यो तर आँशु भने टरेन। परिस्थिति ठ्याक्कै बच्चु कैलाशको गीतसँग मिल्दो –

“मैले पनि होइन मेरा आँखाहरुले,

तिम्रा लागि रोइसकेछन्।”

नतिजा २४ घण्टापछि कोरोना एपमा स्क्यान गरेर थाहा पाउन सकिने भन्दै उनले ‘क्यु-आर् कोड’ भएको मेरो नामको पर्चा दिइन्। स्वाब अगाडि उनका केही प्रश्नावलीमा मेरो टुटेफुटेको जर्मनले आत्मसमर्पण गरिसकेको थियो। अङ्ग्रेजी मलाई सहज थियो तर उनलाई सकस। सायद त्यसैले जानेबेला अक्मकिँदै अङ्ग्रेजीमा मलाई भनिन्, “आई विस यु गुड् रिजल्टस् एण्ड गुड् हेल्थ”। मैले आभार प्रकट गरेँ। निस्कँदै गर्दा मैले स्यानिटाइजिङ् स्प्रे हातमा छर्केँ, मिचेँ, अनि सुँघे। स्यानिटाइजरको कागतीको बास्नामा उस्तै तागजी थियो।

न्यु ईयर्स इभ, सन् २०२०।

छिटै उठेर अबेर बिहानसम्म म बिस्तारामा फोन चलाइराखेको थिएँ। घरका दुईजना साथी मध्य एकले पोजिटिभ र एकले नेगेटिभ भन्दै व्हाट्सएपमा मेसेज पठाएका थिए। त्यसपछि अल्छी मानेर सिरकको न्यानोमा बियाँलो गर्न मन मानेन। सम्भावित नतिजा के होला भन्ने डर र कौतुहुलता चुलिँदो थियो। नतिजा थाहा पाउन मैले कोरोना एपभित्रको स्क्यानर मेरो पर्चाको क्यु-आर कोडमा सोझ्याएँ।

धड्कन र सास कीर्तिमानी धावक उसैन बोल्ट जस्तै बतासिएका थिए। स्क्रिनमा नतिजा हरियो अक्षरमा नेगेटिभ लेखेको देखियो। मैले बल्ल राहत महसुस गरेँ अनि चैनको सास फेरेँ। लाग्यो मैले यो अङ्ग्रेजी नयाँ वर्ष यो जतिको गज्जब “न्यु इयर्स गिफ्ट” सायदै पाउँदिन। मनमनै बुरुक्क उचालिएँ। यो जिन्दगीको त्यस्तो पल थियो जहाँ म नतिजा ‘नेगेटिभ’ आउँदा ‘पोजेटिभ’ महसुस गर्दै थिएँ। आखिर चेलीबेटीले तीज ताका ठीकै गाएका रहेछन् – “सोचेझैँ जिन्दगी रैनछ”

+++

घरमा नतिजाको आधारमा हामी बराबर भएका थियौँ – दुई पोजेटिभ, दुई नेगेटिभ। साविक परिस्थिति हुँदो हो त हामी नयाँ वर्षको तयारीमा जुटेका हुन्थ्यौँ। खानामा के र कति, अनि मदिरामा कस्तो र कति। तर यो पटकको तयारी कसरी सङ्क्रमित दुई तङ्ग्रिने अनि असङ्क्रमित दुई जोगिने भन्नेमा पुगेको थियो।

घरमा हामी सबै क्वारेन्टाइनमा थियौँ। विज्ञहरुले भनिराखेका कुरा समेटेर हामीले नियमावली बनायौँ – संक्रमित दुई आफ्नो कोठामा मात्र बस्ने, उनीहरुले छुट्टै शौचालय प्रयोग गर्ने, खाना आलोपालो गरेर उनीहरुलाई सुरक्षित तरिकाले दिने, शौचालय र अरु बेला कोठाबाट निस्कनु परेमा व्हाट्सएपमा जानकारी दिने, एकपटकमा एक जना मात्र निस्कने, चीजबीजहरु ‘डिस्इन्फेक्ट’ गरिरहने, आदि। अरु स्वास्थ्य निर्देशिकासँगै क्वारेन्टाइन अवधिभर हामीले सामाजिक सञ्जालमा भनिएजस्तो मापसे अधिक गर्ने कुरामा सहमति जनायौँ। मापसे, अर्थात् “मास्क, पञ्जा, सेनिटाइजर”!

सङ्क्रमित दुई साथी नेपाली थिए। उनीहरुलाई खाना र अन्य कुरा दिने जिम्मेवारीमा अक्सर म संलग्न हुन्थेँ। मेरो थेसिसको मैझारो यथावत थियो। केही थकान यसले पनि थपेको थियो। थकानलाई हावी हुन नदिएर मैले स्फुर्ति जगाइराखेको थिएँ। आखिर सङ्क्रमित साथीहरु तङ्ग्रिनु नै प्रमुख आवश्यकता थियो।

खानापिनको मेसो, सरसफाई, र घरभित्रको दौडधुपले नजानिदो गरी धपेडी बढाएको थियो। थेसिस अन्ततिर त आएको थियो तर सकिने तनाव पनि घटेको थिएन। लेख्दालेख्दै समय अबेर रात कटेर बिहानको १/२/३ बजे सम्मै पुग्थ्यो। म अक्सर सबेर विहान सुतेर अबेर विहान उठ्थेँ। यो सिलसिला नतिजा नेगेटिभ आएको ३/४ दिनसम्म चल्यो।

मेरो कार्यतालिका यान्त्रिक मार्कामा सिलसिलाबद्ध भएको थियो। केही नपुग्दो थियो त बस् यथेष्ट आराम। आरामको लागि समय निकाल्न नसक्नु मेरै कमजोरी थियो। तर परिस्थितिले चटारो यति थपेका थिए कि मैले सास फेर्न पनि फुर्सद निकाल्नु पर्ने थियो। मैले घट्दै गएको शारीरिक ताकतको मुढे बलमा थपेडी र थकानलाई पाखा लगाइराखेँ।

केही दिन अगाडि नुहाउँदा चिसो गढेको थियो सायद। मन्द रुघा र घाँटीमा हलुका दुखाई देखिएको थियो। साँझ भान्साको काम सक्दा मेरो थकान उच्चतम् विन्दुमा थियो। शरीरमा हलुका दुखा‍ई पनि थियो। थर्मोमिटरले त नापिनँ तर झिनो ज्वरो पनि थपिएको थियो। मैले यो थकानको कहरबाट मुक्ति पाउन आफै उपर इबुप्रोफेनको एक गोली दागेँ। भोलिपल्ट उठ्दा केही राहत मिलेको थियो। ताजगी अरु विहान भन्दा केही धेरै थियो।

मुख धुँदा झुस्स बढेको दाह्री भिजाएँ। सक्किन लागेको फेशवास कनिकुथी निचोरेर अलि ठूलै पित्को लेप अनुहारमा रगडेँ। फिँज बाक्लै आयो तर साविकको मीठो बास्ना भने आएन। म थोरै झस्किएँ। हातमा लागेको फिँज बेस्मारी सुँघ्दा मात्र मन्द बास्ना आयो। पछि भान्साको कफी मेसिनको फिल्टरमा पनि नाक गाढेँ। फोक्सो नै फुट्लाजस्तो गरी सास तान्दा मात्र मन्द बास्ना आयो। थोरै अत्यास बढेको थियो।

सङ्क्रमित साथीको जस्तै मैले पनि नियन्त्रणमा आइनसकेको रुघामाथि दोष थोपरेँ। घरका अन्यलाई पनि जानकारी गराएँ। उनीहरुले पनि रुघाले होला भन्नेमा ईशारा गरे। सायद अब पोजिटिभिटी मलाई चाहिएको थियो। मलाई हरहालमा रुघालाई जिताएर कोभिडलाई हराउनु थियो।

कामको भार साझा गर्न मैले नेगेटिभ देखिएको यमनी साथीलाई भन्ने सोचेको थिएँ। उसले केहीबेर अघि ग्रुपच्याटमा आफूलाई हिजो राति सास फेर्न निकै गाह्रो भएको कुरा सुनाएको थियो। ऊ निकै त्रसित सुनिन्थ्यो। सायद कोरोनासँगको लडाईमा उसको शरीर अत्तालिएको भान उसलाई परेको थियो। लाग्यो, मेरो तुलनामा उसलाई धेरै आराम चाहिएको छ। मैले उसलाई भान्साको काममा सामेल गर्नु उचित ठानिनँ। मलाई अन्दाज नै थिएन मेरो यो निर्णयले मलाई दिनभरमा फतक्कै गलाउँछ भनेर।

अकस्मात् भोजपुरी डायलग सम्झेँ - “ससुरा, हमका रोकी कौन?”। मैले पुरानै एकल कार्यतालिकालाई निरन्तरता दिएँ। अबेर दिउँसो मेसेन्जरमा बहिनी र ममीसँग गफिँदै थिए। मैले आफ्ना चिन्ताको पोयो फुकाउँदै गएँ। निकै पहिले बहिनी कोभिड-१९ जितेर तङ्ग्रिसकेकी थिई। यकिन हुन मैले उसको कोरोना अनुभव फेरी सोधेँ। उसलाई सामान्य लक्षणमात्र थियो। “तँलाई के के देख्याछ र सिम्टम्पस्?”, ऊ जिज्ञासु सुनिई।

थकान र चिन्ताबीच गलेको शरीरमा पनि मैले आफ्नो ठट्यौली अवतार डगमगाउन दिइनँ। रत्नपार्क आसपास साइकलमा हाते माइक बजाएर चूर्ण बेच्ने व्यापारीको लवजमा भनेँ – “थकाई लागिऽऽऽरन्च, जिउ गलिऽऽऽरन्च, घाँटी दुखिऽऽऽरन्च, रुघा लागिऽऽऽरन्च, बास्ना घटिऽऽऽरन्च”। प्रत्युतरमा दुवैको जवाफ एकाकार सुनियो – “तँलाई गधा! जान्याछस् खुब!”।

मैले झल्याँस्स साथी स्वेच्छा राउतको कोरोना संस्मरण सम्झिएँ। उनको जस्तो भयावह र मिहिन कोरोना अनुभव मैले अरु पढेको थिइँन। मलाई उनलाई जस्तो अत्यासलाग्दो भने भएको थिएन। ठट्यौली सम्बोधन गरेँ – “मेम्”। एकछिनमा जवाफ आयो। मैले आफ्नो अवस्था बेलिबिस्तार लगाएँ। “सर, तपाईँ जँचाउन गइहाल्नुस् न प्लिज्, मलाई नि ठ्याक्कै यस्तै भएको थियो के!”, उनले मेरो र आफ्नो लक्षण भिडाएर फैसला सुनाइन्। “हस् मेम्, जानकारीको लागि धेरै धन्यवाद। म भोलि नै जान्छु”। यति लेख्दै गर्दा म निकै अत्तालिएको थिएँ। लाग्थ्यो कोरोनासँगको युद्धमा मेरा खुट्टा पहिलोपटक लुलो भएका छन्।

साँझ खानामा पकाउँदै गर्दा मैले तरकारीको बास्ना नै चाल पाइनँ। लगाइराखेको बाक्लो ‘के एन् ९५’ मास्कले पो हो कि झैँ लाग्यो। मैले मास्क उघारेर भाँडाबाट बेस्मारी सास तानेँ। तरकारीको तातो बाफमा कत्ति पनि बास्ना थिएन। बिहानसम्म अलिअलि थाहा पाएको बास्ना साँझसम्म पूरै हराएको थियो। जादुगरले सामान गायब गरेजस्तै। यस्तो लाग्यो भाँडामा चिकेन पाक्दै थियो अनि दिमागमा भने बेचैन।

कुकरमा रहरको दाल सायद तेस्रो सिट्ठी लाग्ने तरखरमा थियो। फिँज नओकली लामै सिट्ठी लाग्यो। मैले नाक कुकर नजिक पनि राखेर त्यो बाफ लिएँ। तातो बाफ मात्र मेसो पाएँ, तर पाकेको रहरको दालको बास्ना कत्ति पनि भेउ पाइनँ। साविकमा कुकरले फिँज ओकलेन, कुकर सफा देखियो भनेर खुशी लाग्थ्यो। आज खुशी हुनुको परिस्थिति बदलिएको थियो।

त्यस साँझको खाना मलाई निकै खल्लो लाग्यो। खाना खाँदा पनि थालको तरकारी मासु हो या अरु केही भन्ने कुरामा संशयमात्र भइरह्यो। यस्तो अलिनो मासु मैले आजसम्म खाएको थिइन। यस्तो लाग्थ्यो मैले केही नुनिलो र हलुका पीरो कुरा मात्र चपाइराखेको छु। मासुका नाममा कसैले मलाई हात्तीछाप चप्पल काटकुट र भुटभाट पारेर दिए पनि सायद मैले “कस्तो चाम्रो मासु रहेछ” मात्र भन्थेँ होला। खानेकुराहरु आँखाले मात्र चिने। नाक, मुख र दिमागले भेउ सम्म नि पाएनन्।

त्यस रात मलाई पसिनासहित ज्वरो आयो। पसिनाले लगाएको भित्री वस्त्र समेत निथ्रुक्क भिजेको थियो। यस्तो घटना पहिलोपटक हुँदै थियो। मलाई ताजुप र डर एकैपटक लागेको थियो। लुगा फेरेर दिमागमा कुरा खेलाउँदा खेलाउँदै निदाएँ। बिहान ज्वरो त थिएन तर जँचाउन जाने जोश पनि कत्ति थिएन। लक्षणहरु घटेका थिएनन्। सङ्क्रमितहरुको अनुभव र समाचार हेरेको/पढेको आधारमा म कोरोना सङ्क्रमणको निकै नजिक थिएँ। थकान हुँदाहुँदै पनि यति स्वीकार्ने साहस भने बटुलेको थिएँ। म युद्धमा गोली, अस्त्र र ताकत सबै सकिएको सिपाहीसरह कमजोर अनि आत्तिएको थिएँ।

आफ्नै सान्त्वनाको लागि भएपनि पनि म लतारिएरै अर्को दिन कोरोना परीक्षण केन्द्र पुगेँ। यसपाली परीक्षण अगावै भर्नु पर्ने फारममा त्यहाँ भएका आधा बढी लक्षणको सूचीमा चिनो लगाएँ। एक हप्ताको अन्तरमा देखिएको यस्तो बदलाव निकै दु:खद् थियो। नतिजा भोलि पक्कै सुखद् आउँदैन भन्ने कुरामा म मानसिक रुपमा तयार थिएँ। अर्को दिन ठ्याक्कै २४ घण्टा पुग्दा क्यु-आर कोड स्क्यान गरेँ। नतिजा तयार छैन भन्ने जानकारी आयो। थोरै बेचैनी बढ्यो। टेबुलमाथिको मन तातो एक कप पानी एकै सासमा घुट्क्याएँ।

करिब एक घण्टापछी फोनमा कोरोना एपको नोटिफिकेसन बज्यो – “योर टेस्ट रिजल्ट इज रेडी, ट्याप टु भ्यू!”। यसपाली सास र मुटु आफ्नै गतिमा थिए। रातो अक्षरमा नतिजा देखेँ – पोजेटिभ। नतिजा एकै हप्ता जतिको अन्तरमा मैले हरियो र रातो अक्षरमा देखेँ। तर यसपाली नतिजा र मेरो मनस्थिति दुवै पोजेटिभ थिए।

कोरोना भाइरसको नालीबेलीमा धेरै अनुमानमा छन्। मैले पनि आफू सङ्क्रमित हुनुको दुई कारण अनुमान लगाएँ – पहिलो, म सुरुमै सङ्क्रमित थिएँ, लक्षणहरु ढिलो देखा परे। दोस्रो, म सङ्क्रमित साथीहरुको स्याहार गर्दा सङ्क्रमित भएँ। कारण जुन भए पनि, यसले म सङ्क्रमित हुनुको यथार्थ बदल्दैन थियो। यसपाली लाग्यो – ‘सोचेझैँ जिन्दगी र कोरोना दुवै रैनछ’।

+++

मेरो नतिजा आएकै दिन सुरुमै सङ्क्रमित साथी क्वारेन्टाइनमुक्त भएको थियो। अबको मोर्चा उसले सम्हाल्ने कुरा आयो। ऊ र म सङ्क्रमित हुने अन्तर दश दिनको मात्र थियो। ऊ कोरोनामुक्त थियो, म कोरोनायुक्त। म कोठाभित्र बन्दी थिएँ, ऊ कोठाबाहिर स्वतन्त्र। मैले बास्ना थाहा नपाएको बाहेक कोरोना भएको वा नभएको खास भिन्नता महसुस गरेकै थिइनँ। थकान, रुघा, घाँटी दुखाई अरुबेला पनि हुन्थे। अरु कोभिड-१९ का विरामीमा जस्तो लक्षणहरुले गाह्रो भने बनाएनन्।

अबको मेरो एकमात्र ध्याउन्न कसरी छिटो निको हुने भन्नेमा थियो। मेरो अवस्था थेसिस ‘सुपरभाइजर’ र अफिसको हाकिमलाई ईमेलबाट जानकारी दिएँ। उनीहरु दुवैले स्वास्थ्यको ख्याल राख्नु, अहिलेको आवश्कता त्यही हो भने। म हौसिएँ। लाग्यो अफिसको काम र थेसिसको धपेडी हट्दा मेरो आधा कोरोना निको भइसक्यो।

दोस्रो परीक्षण नगर्दै मैले कोभिड-१९ को सम्भावना दुई चार दिन पहिले नै आँकलन गरिसकेको थिएँ। क्वारेन्टाइन बस्दा चाहिने सरजाम पहिल्यै अनलाइन किनमेल गरेर जोहो गरेको थिएँ। यसले म कोठाभित्रै हुँदा निकै सहज भएको थियो।

भान्साको भार पूर्ण घटको थियो। मेरो काम पानी तताउने, बाफ लिने, बेलाबेला जडिबुटी चिया/सुप पिउनेमा झरेको थियो। दैनिकी फेरी सिलसिलाबद्ध भएको थियो। बिहान साँझ साथीले ल्याइदिएको खाना खाने, दिउँसो उपरखुट्टी लगाएर किताब पढ्ने वा सिनेमा हेर्ने, कहिले सुत्ने, अनि कहिले थोरै शारीरिक अभ्यास र योग। मेरो गुमेको आराम भरपाई हुँदै थियो।

आराम मिल्दै जाँदा शरीरमा पनि दैनिक स्फूर्ति बढेको थियो। दुईदिनमै मेरा धेरै लक्षण वशमा आउँदै थिए। घाँटीको दुखाई, शरीरको थकान निकै कम भएका थिए। तर रुघा र बास्ना चाल नपाउने समस्या भने यथावत् थिए। अरु लक्षण पहिले पनि भोगेकाले यिनको अवसानबारे मलाई जानकारी थियो। तर बास्ना गुमेको लक्षणले बिस्तारै मानसिक आघात दिँदै थियो। मलाई यो लक्षण बिस्तारै अरु लक्षण भन्दा अप्रिय र भयावह लाग्दै गएको थियो।

साँझ मेसेन्जरमा ममीसँग गफिँदै थिए। “पीर मानेछस् क्याओ?”, सायद यो बास्ना थाहा नपाउँदाको पीडा ममीले मेरो अनुहारमा पढ्नु भयो।

“छैन छैन”, म सक्दो आत्मविश्वासी देखिएँ। “पीर नगर, टन्न खा! बाफ लिँदै गर, अनि मन तातो पानी खाइराख्। दुईचार दिनमा ठीक हुन्च!”। यस्ता सकारात्मक उर्जा मलाई निकै प्रीय लाग्थे।

भोलिपल्ट पनि बास्नामा कुनै सुधार थिएन। बास्ना खुट्याउन नसक्दा मात्रै पनि दैनिकी निस्सासिँदो गरी उकुसमुकुस लाग्दो रहेछ। मसँग यस्तो अनुभव पहिले थिएन। त्यसैले पनि बेचैनी निरन्तर बढिरहेको थियो। चल्तीको लवजमा भन्नुपर्दा म ‘साइको’ महसुस गर्दै थिएँ। बास्ना चाल पाउनुले खुद्रा रुपमा जिन्दगी कति खुशी बनाउँदो रहेछ मैले बल्ल यतिबेला मेसो पाएँ। अरु बेला सहजै नजरअन्दाज गरिने यो कुराको महत्व गुम्दा थप टड्कारो भएको थियो।

मेरो दैनिकी उठ्ने बित्तिकै छेउमा राखिएको भिक्सको बट्टा सुँघ्ने हुन्थ्यो। रातभरमा केही कायापलट पो भइहाल्यो कि भन्ने फुरफुर हरेक बिहान हुन्थ्यो। पाँचौ दिन बिहान पनि म अघिल्लो दिनजस्तै निराश भएको थिएँ। भिक्सको बट्टाबाट हावा मात्र भित्र गयो। बास्नालाई के भयो मैले पत्तो पाइनँ। बाथरुम, भान्सा अनि मेरो कोठा सबै बास्नारहित थिए। मेरा नाकले सबै बास्नाप्रति समभाव राख्यो। खाद्य अखाद्य, प्रीय अप्रीय केही भनेर भेद गरेन।

मैले स्वादको नाममा कोरा गुलियो, नुनिलो, अमिलो, तीतो र पीरो मात्र थाहा पाएको थिएँ। बास्ना गुमेसँगै स्वाद पनि बेस्वाद लाग्दा रहेछन्। खानेकुराको असली स्वाद त पहिला बास्नामा रहेछ अनि बल्ल जिब्रोमा। खाना अब आँखालाई मात्र स्वादिला देखिएका थिए। मुखलाई निकै अलिनो लागेका थिए।

बेलाबेलामा साथीहरुले तरकारीमा मासु पनि बनाउँथे। अक्सर चिकेन अथवा पोर्क। अरुबेला एक चोक्टा मासुले पनि दुई गास थप खाना खान जोश्याउँथ्यो। यसबेला कचौराको मासु पनि सक्न हम्मेहम्मे परेको थियो। स्वाद नपाएपछि खानाको रुचि पनि निरन्तर घट्दो थियो। तैपनि “खाएरै पेल्न पर्छ” भन्ने सबैको आग्रह थियो। कोखो चस्किने गरी खाइरहेँ।

बास्नासँगै स्वाद गुम्दा खानाबिचको वर्ग सङ्घर्ष भने टुङ्गिएको थियो। खाना देख्दा मात्र फरक स्वादका थिए। तर खाँदा सबैको स्वाद एकै थियो, बेस्वादिलो। यतिबेला घिरौँलाको तरकारीले पनि परपर भुटेको मसालेदार मासुसँग कुममा कुम मिलाएर टक्कर दिने हैसियत राख्थ्यो। जुन तरकारी पनि नुनिलो, पीरो वा अमिलो मात्र थिए। थिए त बस् अनि सबै अलिनो। आलु र पोर्क चपाउनुमा मात्र भिन्न थिए, स्वादमा भने समान – केवल नुनिलो।

आजकल मलाई खाना खानमा भन्दा सुँघ्नुमा धेरै रुचि थियो। मलाई पुन: कुन खाना कस्तो बास्नाका हुन्छन् जान्ने हुटहुटी थियो। मैले भिन्न भिन्न खाना यस्तो बासनाका हुन्छन् भनेर सम्झिन धेरै कोशिस गरेँ। टिमुरको छोप कस्तो बसाउँछ होला? अदुवा र मसाला हालेको चियाको? झानेको दालको? सुन्तला छोडाउँदाको? मलाई बास्ना सम्झिन पनि निकै सकस भएको थियो। साथीहरुले दिएको खानाको बास्ना र स्वाद पनि खुट्याउन नसक्ने भएको थिएँ। मानसिक रनाहाका बावजुद मैले साथीहरुलाई हौसला र आदरभाव प्रकट गर्न व्हाट्सएपमा निरन्तर भनिरहेँ – “मीठो खानाको लागि धन्यवाद!”

एकदिन मैले हलिवुड चलचित्र “पर्फ्युम: द स्टोरी अफ अ मर्डरर” को मुख्य पात्र सम्झिएँ। उनको सुँघ्ने शक्ति यति तेज हुन्छ कि उनले किशोरीहरुको शरीरबाट बास्ना निकालेर अत्तर बनाउँछन् र ठूलो सभामा सबै पुरुषलाई मोहित पार्छन्। म बास्ना खुट्याउन सक्ने सामान्य मान्छे पनि बास्ना गुमेर ‘मसाने बैराग’ भएको थिएँ। ती पात्रलाई झन् कोरोना लागेर बास्ना मेसो नपाउने भए त कायल हुने रहेछन्। फिस्स हाँसे।

बास्ना खास नाकबाट भन्दा पनि दिमागबाट हराउँदो रहेछ। नाकले टिपेको बास्ना दिमागले पहिल्याउने रहेछ। मेरो एकजना साथी छ – रञ्जित भट्ट। उसले आफ्नो दिमागी पौरख देखाउनु पर्दा दाहिने हातको चोर औँलाले कञ्चटमा दुई चार पटक ट्वाकट्वाक गरेर भन्थ्यो – “सब दिमागको खेल हो साथी!”। हाँसोमै भए पनि भट्टेले दिव्यज्ञान दिएको रहेछ। म आज छर्लङ्ग्ग भएँ।

इन्टरनेटमा बास्ना गुम्नेहरुको उस्तै अनुभव पढेर, देखेर म मात्र एक्लो छैन भन्ने आभास हुन्थ्यो। म केही थप आत्मविश्वासी भएँ। आत्मविश्वास ढिलो आयो तर आयो। मैले आफूलाई घाटा नहुने कुराहरु अझै बढाएँ – बाफ, तातोपानी, कसरत अनि प्राणायम।

बास्ना पहिल्याउन सङ्घर्ष गरिहँदा दिव्यज्ञान मिल्यो – बास्ना को चेत आन्ददायी र भयावह दुवै रहेछ। खुसी जीवन तमाम सुगन्धहरुको मात्रै पनि होइन रहेछ। अप्रीय गन्ध अनि दुर्गन्धहरुको उत्तिकै पनि रहेछ। नुहाएपश्चात् साबुन र स्याम्पुको मात्र होइन, शौच बस्दाको दुर्गन्ध पनि रहेछ। भान्सामा पाकेको मीठो परिकारको मात्र होइन, डढेको खानेकुरा र पकाउने ग्याँस चुहिएको पनि रहेछ। मगमग बसाउने अत्तर मात्र होइन, आफ्नै शरीर अमिलिएको गन्ध पनि रहेछ। बास्नादार फूलको मात्र होइन, सडेगलेका चीजबीजको पनि रहेछ। रुम फ्रेश्नरको मात्र होइन, आगलागी र डढेलोको पनि रहेछ। दुर्गन्ध भएर नै सुगन्ध पनि उँचो देखिएको रहेछ।

बास्नाको चेत गुम्दा सरसफाईप्रति उदासिनता भने बढ्दो रहेछ। साविकमा सरसफाईका मामिलामा म फुर्तिलो नै हो। तर यतिबेला मैले न शरीरको पसिनाको गन्ध मेसो पाउँथे, न कोठा गुम्सिएको, न त शौच बस्दाको, न त नुहाएपछिको ताजगीको। सफा अनुभव हुनु र नहुनुमा बास्ना थाहा पाउनुले निकै अन्तर राख्दो रहेछ। मैले दिनको गन्ती सम्झेर वा आँखाले देखेको भरमा सफाई गर्थेँ। आसपास सफा हुनु र नहुनुको बास्ना एकै थियो – बास्नारहित बास्ना!

छैठौँ दिनको बिहान अलिक भिन्न थियो। भिक्सको बट्टा सुँघ्दा बासना केही परिचित लाग्यो। बास्ना मन्द थियो तर मलाई खुशी दिन काफी थियो। म निकै गदगद भएँ। भिक्स भनेर अड्कल पाउन छ दिन कुर्नु पर्‍यो। मैले पालैसँग कोठामा भएका सबै खाद्य अखाद्य वस्तुहरु सुँघे। कडा बास्नादार चीजको मात्र मन्द बास्ना आएको थियो। धेरै पछि म उत्साही थिएँ। मैले एउटा आधा भएको अत्तर त त्यसपछिका दिनमा छर्केर अनि सुँघेर नै सकेँ।

सानो भएपनि दिनानुदिन बास्नामा सुधार हुँदै थियो। मैले हात धुँदा साबुनको, खानाको, कपालमा लगाउने क्रिम, आदिको बास्ना थाहा पाउँदै गएको थिएँ। मैले बिर्सिँदै गएका खानाको स्वाद फेरि फर्किँदै थिए। मैले सबै कुरा धित मर्ने गरी सुँघे। कैयन पटक पिँधमा थोरै टाँस्सिएर रित्तिएको कफीको सिसी सुँघिरहेँ। आखिर कहिले आउला भन्ने व्यग्र प्रतीक्षापश्चात् फर्किएको बास्ना जो थियो।

बास्ना सँगै फिर्ता आएको थियो मानसिक खुशी। मैले कहिल्यै पनि चिताएको थिइनँ बास्नाको हराउँदा यो हदको कहर काटनु पर्छ होला भनेर। पहिलेको जस्तो हुन अझै केही समय अवश्य लाग्ला। बास्नाले खुशीलाई पनि साथै लिएर आएको छ। बास्नाको चेतको हराएपछि मात्र यसको महत्व थप बढेको थियो। अब मलाई अफिसले क्रिसमसमा उपहार दिएको वाइन पिउने व्यग्र प्रतीक्षा छ। वाइनको उम्दा पारखी जस्तो पहिला ग्लासमा वाइन हल्लाएर, सुँघेर, अनि हावासहित सुर्र तानेर पिई आनन्दित हुन मन छ। अनि भन्न मन छ – “वाह! कति बास्नादार र मीठो वाइन!”

दुर्भाग्य नै भनौँ कोरोनाबिरुद्ध खोप लगाउने बेला नजिकिदा म सङ्क्रमित भएँ। आफू सङ्क्रमित हुँदा मात्र अरुका अनुभव नजिकसँग बाँचिदो रहेछ। यो लेख्दै गर्दा म कोरोना सङ्क्रमणमुक्त भएको छु।

खोपको चर्चाबिच कोरोनाको कहर घट्दो छैन, बरु बढ्दो नै छ। टिभी हेर्दा र पत्रपत्रिका पढ्दा हुलमुल गर्ने, मास्क, सामाजिक दूरी र अन्य सावधानी नजरअन्दाज गरेका ‘साहसी’ व्यक्तिहरु बग्रेल्ती देखिन्छन्। सायद कोरोना उनीहरुकै छेउमा ङिच्च हाँसेर अङ्कमाल गर्न तम्तयार छ। असावधानी मुर्खताको उपज हो, साहसको होइन। सायद यस्तै यस्तै ‘साहसी’ देखेर आइन्सटाइनले दिव्यज्ञान दिएको हुनु पर्छ – “ब्रह्माण्ड र मानव मुर्खता असिमित छन्”। ‘साहसी’ र काँतर कसैले पनि कोरोनाको कहर काट्नु नपरोस्। कसैको बास्ना नगुमोस्!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell